शपथ ग्रहणकै क्रममा हत्या आरोपमा वडाध्यक्ष पक्राउ

सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई शपथ ग्रहण समारोहकै क्रममा प्रहरीले पक्राउ गरेको छ। उनलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले हिरासतमा लिएको हो।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)का तर्फबाट मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका साहले ६५२ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी भुलियादेवी थरुनीले ५८७ मत ल्याएकी थिइन्।
के थियो घटनाको पृष्ठभूमि?
साहमाथि २०७८ चैत २२ गते सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ माधोपुरमा जवरजस्ती करणी, अपहरण, र हत्या आरोप लागेको छ। उनलाई एक महिलाको जबरजस्ती करणीपछि हत्या गरेको अभियोगमा जाहेरी परेको थियो।
उक्त मुद्दा २०७९ साउन १७ गते जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको थियो। २०८० चैत ४ गते उच्च अदालत जनकपुरको राजविराज इजलासले यस घटनामा परमादेश जारी गरेपछि गत साउन ६ गते इलाका प्रहरी कार्यालयमा उक्त मुद्दा पुग्यो। त्यसपछि साउन १५ गते पक्राउ अनुमति जारी भएको थियो।
चुनाव जितेपछि साह वडाध्यक्षको रूपमा शपथ लिइरहेका बेला बिहीबार अपराह्न प्रहरीले उनलाई पक्राउ गरेको हो। ३८ वर्षीय साहलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले हिरासतमा लिएको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
डाक्नेश्वरी-१ मा साह विजयी भए पनि उनीमाथि लागेको गम्भीर अभियोगले वडाध्यक्ष पदमा विवाद सिर्जना भएको छ। साहको पक्राउसँगै यस घटनाले सप्तरी क्षेत्रको राजनीतिक तथा सामाजिक वृतमा चर्चा पाएको छ। यो घटनाले स्थानीय तहको निर्वाचनमा कानुनी प्रक्रिया र उम्मेदवार छनोटप्रति थप प्रश्न खडा गरेको छ।



