No Image Headlineअर्थविशेष

वीरगञ्ज सुक्खा बन्दरगाह: कर्मचारी जोगाउन प्रतिबन्धित मालसामान प्रकरणको अनुसन्धानमा अलमल

वीरगञ्ज सुक्खा बन्दरगाहमा प्रतिबन्धित मालसामान भित्र्याएको घटनाको एक वर्ष बितिसक्दा पनि न दोषी कर्मचारी र आयातकर्तालाई कारबाहीको दायरामा ल्याउन सकिएको छ, न सबै कन्टेनरको व्यवस्थापन गर्न सकेको छ। भन्सार विभागले वास्तविकभन्दा फरक वस्तु घोषणा गरी आयात गरिएको मालसामानको व्यवस्थापनलाई अहिले पनि टुंगोमा पुर्‍याउन सकेको छैन।

२०७६ सालमा भएको यो अवैध धन्धाको खुलासा २०८० मंसिरमा भएको थियो। भन्सारका कर्मचारी नै कारबाहीमा तानिन सक्ने भएपछि अनुसन्धान प्रक्रियामा नै ढिलाइ भएको भन्सार अधिकारीहरूको भनाइ छ।

कारबाहीमा उदासीनता

भन्सारले प्रतिबन्धित मालसामानसहितका कन्टेनरको लिलामी प्रक्रिया अगाडि बढाए पनि आयातकर्तामाथि कारबाही गर्न चासो नदेखाएको पाइएको छ। बन्दरगाहमा रोकेका ३०४ कन्टेनरमध्ये १०० ओटामा प्रतिबन्धित तथा घोषणाभन्दा फरक मालसामान भेटिएका थिए। ती कन्टेनर खोल्दा सुपारी, छोकडा, मदिरा, स्कुटरजस्ता प्रतिबन्धित वस्तुहरू भेटिएका थिए, जुन कुखुराको दाना र दाल भनेर भन्सार पास गराउन खोजिएको थियो।

भन्सारले महेश्वरी ट्रेडर्स, पाथीभरा स्टोर्स, सिगोल ट्रेडिङ, बाग भैरव ट्रेडर्स र जय मुखी एग्रो ट्रेडर्सलाई सातदिने सूचना दिए पनि ती कम्पनीहरू सम्पर्कमा आएका छैनन्। प्रहरीमार्फत पत्र पठाउँदा पनि उनीहरू उपस्थित नभएको भन्सारले जनाएको छ।

भन्सार विभागले प्रतिबन्धित मालसामानको प्रकरणमा संलग्न कर्मचारी र आयातकर्तामाथि अनुसन्धान अगाडि बढाएको भए पनि प्रक्रिया अलमलमा परेको छ। आयातकर्ताले उपस्थित भएर बयान दिएमा भन्सारका कर्मचारी पनि अनुसन्धानको दायरामा पर्ने डरले अनुसन्धानमा ढिलाइ भइरहेको भन्सार स्रोतले बताएको छ। यो प्रकरणले भन्सार व्यवस्थापनमा देखिएका कमजोरी र हरियो लेनको दुरुपयोगबारे गम्भीर प्रश्न उठाएको छ।

दुर्गन्ध फैलाउँदै कुहिएको मालसामान

लामो समयसम्म बन्दरगाहमा थन्किएका केही कन्टेनरका मालसामान कुहिएर दुर्गन्ध फैलिएको छ। छोकडा, केराउ, पोस्ता दानालगायत वस्तु बिग्रिएका कारण ती सामग्री कसरी नष्ट गर्ने भन्ने विषयमा भन्सार विभागले अहिलेसम्म निर्णय गर्न सकेको छैन।

सुक्खा बन्दरगाह भन्सारले हालसम्म १०० भन्दा बढी कन्टेनर लिलामी गरिसकेको छ। बुधवार आठौं पटक ४० कन्टेनरको लिलामीका लागि सूचना निकालिएको भन्सार प्रमुख धनबहादुर बरुवालले बताए। यसअघि सात पटकको लिलामी प्रयास असफल भएपछि पुनः मूल्यांकन गरेर लिलामीको सूचना जारी गरिएको हो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button