देशमुख्य खबर

नेपाल पत्रकार महासंघको महाधिवेशन : आज उम्मेदवार मनोनयन हुँदै

नेपाल पत्रकार महासंघको महाधिवेशनका लागि आज उम्मेदवारहरूको मनोनयन पत्र दर्ता हुँदैछ। महासंघको केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन पत्र दर्ता गर्न समय निर्धारण गरिएको छ।

उम्मेदवारहरूको प्रारम्भिक नामावली शुक्रबार अपराह्न ५ बजे प्रकाशन हुनेछ। मनोनयन पत्र फिर्ता गर्ने समय शनिबार बिहान १० बजेसम्म तोकिएको छ। त्यसपछि शनिबार बिहान ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने छ।

महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने छ। मतदानपछि सोही दिन मतगणना गरिनेछ।

सहकार्यको प्रयास
महासंघको निर्वाचनमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीले साझा उम्मेदवार तय गर्ने प्रयास गरिरहेका छन्। सहकार्य भएमा प्रेस चौतारीकी निर्मला शर्मा अध्यक्ष पदका लागि उम्मेदवार बन्ने सम्भावना रहेको छ। शर्मा यसअघि अध्यक्षको चुनावमा पराजित भएकी थिइन्।

यस्तै, नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले रोशन पुरीलाई अध्यक्षको उम्मेदवार बनाउन विभिन्न संगठनसँग सहकार्यको गृहकार्य गरिरहेको छ। पुरी हाल महासंघका महासचिव रहेका छन्।

सदस्यता विवादका कारण महाधिवेशन प्रभावित
सदस्यता विवादका कारण महासंघको महाधिवेशन पटकपटक स्थगित हुँदै आएको थियो। यही विवादकै कारण अध्यक्ष विपुल पोख्रेलले केही समयअघि पदबाट राजीनामा दिएका थिए।

महाधिवेशनको चुनावी माहोल तातेका बेला उम्मेदवारहरूबीच सहकार्य र प्रतिस्पर्धाको वातावरणले थप चासो बढाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button