देशमुख्य खबर

भुटानी राजारानी संक्षिप्त नेपाल भ्रमणमा, यस्तो छ भुटानी शरणार्थीसम्बन्धी पृष्ठभूमि

भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक र रानी जेट्सुन पेमा वाङचुक नेपाल आइपुगेका छन् । ड्रुक एयरको विमानबाट उनी भर्खरै १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौँ आइपुगेका हुन्। उनीहरूको यो भ्रमण नितान्त निजी रहेको र तीनदेखि चार घन्टा मात्रै काठमाडौंमा बस्ने जनाइएको छ।

भारतको औपचारिक भ्रमणबाट भुटान फर्किने क्रममा उनीहरू काठमाडौंमा ट्रान्जिट भिजिटका रूपमा अवतरण गर्दैछन्। भ्रमणका क्रममा भुटानी राजदम्पतीले काठमाडौंका बौद्ध तीर्थस्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता सुभाङ्ग पराजुलीले जानकारी दिएका छन्।

भ्रमणलाई धार्मिक र व्यक्तिगत मात्र मानिएको छ। तीन-चार घन्टाको छोटो बसाइँमा कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम नरहेको बताइएको छ। यद्यपि, परराष्ट्रमन्त्री आरजु राणा देउवाले विमानस्थलमा भुटानी राजदम्पतीलाई स्वागत गर्ने सम्भावना रहेको चर्चा भए पनि यसबारे आधिकारिक पुष्टि भएको छैन।

गत असोजमा पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारसहित भुटानको भ्रमण गरेका थिए। भुटानी राजाले नै शाह परिवारलाई निमन्त्रणा गरेको र त्यतिबेला भुटानमा उनीहरूलाई विशेष सम्मानका साथ स्वागत गरिएको थियो।
तर, अहिले पूर्वराजा शाह पश्चिम नेपालको भ्रमणमा रहेका कारण भुटानी राजदम्पतीसँग भेटघाटको सम्भावना नरहेको उनका संवाद सचिव फणिराज पाठकले जनाएका छन्।

सन् १९८० को दशकको अन्त्यतिर भुटानको “एक देश, एक भाषा” नीतिका कारण झन्डै एक लाख नेपालीभाषी भुटानी नेपाल निर्वासनमा आएका थिए। देशफिर्ती प्रयास र नेपाल-भुटान वार्ताहरू असफल भएपछि अधिकांश शरणार्थी तेस्रो देश पुनर्वास कार्यक्रममार्फत अमेरिका, क्यानडा, अष्ट्रेलियालगायतका देशहरूमा गएका छन्।

हाल पनि सानो सङ्ख्यामा शरणार्थीहरू झापाको बेलडाँगी र शनिश्चरेमा बसिरहेका छन्। भुटानी राजदम्पतीको यो छोटो भ्रमणले दुई देशबीचको धार्मिक, सांस्कृतिक सम्बन्धलाई अझै प्रगाढ बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button