
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी ली चियाङबीच बेइजिङस्थित ग्रेट हल अफ द पीपलमा भएको वार्तापछि दुई देशका अधिकारीहरूले पारस्परिक सहयोगका लागि नौवटा सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
परराष्ट्र मन्त्रालयद्वारा जारी सूचीअनुसार आर्थिक सहकार्य, व्यापार प्रवर्धन र भौतिक संरचना निर्माणसम्बन्धी सम्झौताहरूमा हस्ताक्षर भए पनि बेल्ट एन्ड रोड इनिशिएटिभ (बीआरआई) अन्तर्गत कुनै पनि सहमति समावेश गरिएको छैन। भ्रमणअघि नै नेपाली अधिकारीहरूले ऋण लिने अवस्था नरहेको स्पष्ट पारिसकेका थिए।
प्रधानमन्त्री ओलीको चारदिने चीन भ्रमणका क्रममा हस्ताक्षर गरिएका सम्झौताहरूमा निम्न विषयहरू परेका छन्:
- आर्थिक तथा प्राविधिक सहकार्यसम्बन्धी सम्झौता
- टोखा-छहरे सुरुङका लागि लेटर अफ एक्सेन्ज
- व्यापार प्रवर्धन सहकार्यसम्बन्धी समझदारीपत्र
- नेपालबाट चीन निर्यातका लागि भैँसीको मासुको ‘थर्मल’ प्रशोधनका लागि आवश्यक तत्त्वसम्बन्धी प्रोटोकल सम्झौता
- विकास योजना (सन् २०२४-२०२९) बारे समझदारीपत्र
- रकम सहयोगसम्बन्धी लेटर अफ एक्सेन्ज
- वसन्तपुरस्थति नौतले दरबारको पुनर्निर्माण सम्पन्न भएको प्रमाणपत्र हस्तान्तरण
- स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
- सार्वजनिक प्रसारक नेपाल टेलिभिजन र चाइनिज मिडिया ग्रूपबीच समझदारीपत्र
चीनसँगको तेस्रो औपचारिक भ्रमण
प्रधानमन्त्रीका रूपमा ओलीको यो तेस्रो चीन भ्रमण हो। यसअघि उनले २०७२ र २०७५ मा चीन भ्रमण गरेका थिए। यस पटकको भ्रमण भारतको निम्तो नआएकाले चीनबाट सुरु गरिएको बताइएको छ।
ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालमा भूकम्पपछिको पुनर्निर्माणको प्रयासका साथै भारतको अघोषित नाकाबन्दीको प्रभाव सामना गरेका थिए। त्यसपछि चीनसँगको पारवहन सन्धिले नेपाललाई तेस्रो देशमा सामान आयात-निर्यातका लागि चिनियाँ बन्दरगाह प्रयोगको अवसर दिएको थियो। यद्यपि यसको प्रभावकारी कार्यान्वयनमा प्रगति भएको छैन।
ओलीको नेतृत्वमा हालसम्म चीनसँगको सम्बन्ध सुदृढ बनाउन विभिन्न प्रयास भए पनि बीआरआईसम्बन्धी ठूला परियोजनामा निर्णय लिन नेपाल अझै तयार देखिएको छैन।



