केपी ओलीदेशमुख्य खबर

चीनले दियो ९ अर्ब अनुदान, ओलीले दिए भ्रमणको निम्तो

चीनले नेपाललाई ५ सय मिलियन चिनियाँ युआन (आरएमबी) अर्थात् झण्डै ९ अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेको छ। यो घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङले गरेका हुन्।

प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच बेइजिङस्थित देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भएको भेटवार्तामा अनुदानसम्बन्धी सहमति भएको हो। प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपालको राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल भ्रमणको निमन्त्रणा पनि हस्तान्तरण गरेका थिए। राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाएका छन्।

यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गरेका थिए। भेटका क्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री लीलाई नेपाल भ्रमणको निम्तो दिए। जवाफमा चिनियाँ प्रधानमन्त्री लीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले प्रधानमन्त्री ओलीको चीन भ्रमणले दुई देशबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button