उपचुनावदेशमुख्य खबर

उपचुनावबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल साढे दुई वर्ष मात्र

आगामी २०८४ साल वैशाखमा नियमित निर्वाचन

आइतवार साँझ सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना सोमवार बेलुकासम्म सम्पन्न हुने निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले बताएकी छिन्। आयोगका अनुसार एक जना नगरपालिका प्रमुख, एक जना उपप्रमुख, दुई जना गाउँपालिका अध्यक्ष र चार जना उपाध्यक्षसहित ३३ जना वडा अध्यक्ष चयनका लागि आइतवार भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। प्रारम्भिक विवरणअनुसार, उपनिर्वाचनमा ६२ प्रतिशत मतदान भएको छ, जुन २०७९ साल वैशाखमा भएको स्थानीय तह निर्वाचनको ७१ प्रतिशतभन्दा कम हो।

कुल ४४ पदका लागि भएको उपनिर्वाचनमा तीन पदमा निर्विरोध रूपमा जनप्रतिनिधि चयन भएका छन्। बाँकी ४१ पदका लागि ३७६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमा १०२ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। मतदानका लागि निर्वाचन आयोगले १६२ मतदान स्थल र २९३ मतदान केन्द्र स्थापना गरेको थियो।

मतदान सम्पन्न भएपछि मतपेटिकाहरू सङ्कलन गरी निर्वाचन अधिकृतको कार्यालयमा लगिएको छ। मतपेटिका सङ्कलन भएपछि सर्वदलीय बैठकमार्फत सदर र बदर मतको मापदण्ड तोकिएपछि मात्र मतगणना सुरू हुनेछ। सानो भूगोल र थोरै मतदाता भएका वडाहरूको मतपरिणाम आइतवार नै आउने अपेक्षा गरिएको छ भने धेरै मतदाता भएका स्थानहरूको परिणाम सोमवारसम्म आउने सम्भावना रहेको छ।

निर्वाचन आयोगका अनुसार यस उपनिर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरूको कार्यकाल २०८४ साल वैशाखसम्म मात्र हुनेछ। पाँच वर्षको कार्यकालका लागि निर्वाचित स्थानीय सरकार प्रमुख वा अन्य जनप्रतिनिधिको मृत्यु वा अन्य कारणले पद रिक्त भएपछि यो उपनिर्वाचन गरिएको हो। अबको वैशाखमा ७५३ स्थानीय तहका ३५,२२१ पद रिक्त हुनेछन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button