भारतसँगको दूरीपछि चीनसँगको निकटता: ओलीको रणनीति के?
कांग्रेस समर्थन र कूटनीतिक सन्तुलन, ओलीको चीन भ्रमणमा मुख्य चुनौतीहरू

प्रधानमन्त्री केपी शर्मा ओली १७ मंसिरमा पाँचदिने औपचारिक भ्रमणका लागि चीन जाँदैछन्। प्रधानमन्त्रीको रूपमा चौथो कार्यकाल सम्हालेपछि यो उनको पहिलो विदेश भ्रमण हो। भ्रमणको तयारीका क्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले हालै चीन भ्रमण गरी चिनियाँ समकक्षी वाङ यीसँग वार्ता गरिसकेकी छन्।
ओलीको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ, विशेषगरी बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजनाको कार्यान्वयनको सन्दर्भमा। नेपाल र चीनबीच सात वर्षअघि बीआरआईको लागि समझदारी पत्रमा हस्ताक्षर भए पनि कुनै ठोस परियोजना कार्यान्वयन भएको छैन। यसपटक चीनले परियोजनाहरूमा हस्ताक्षरका लागि दबाब दिने अनुमान छ, जसलाई भारत र अमेरिकाले पनि नजिकबाट नियालिरहेका छन्।
परम्परागत रूपमा नेपाली प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाट गर्ने चलन थियो। तर, ओलीले यसपटक चीनलाई प्राथमिकता दिएका छन्। भारतसँगको कूटनीतिक चिसोपनका कारण चीन भ्रमण प्राथमिकतामा परेको विश्लेषण गरिएको छ। परराष्ट्रमन्त्री आरजु राणाको भारत भ्रमण र संयुक्त राष्ट्र संघको बैठकमा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भए पनि नेपाल-भारत सम्बन्धमा अपेक्षित सुधार नदेखिएको अवस्थामा ओलीको चीन यात्रा थप महत्त्वपूर्ण भएको छ।
कूटनीतिक वृत्तमा ओलीका अप्रत्यासित निर्णयहरू चर्चित छन्। यसपटक भने उनी संयमित देखिएका छन्। कांग्रेसको समर्थनमा बनेको सरकार भएकाले ओलीले सन्तुलित भाषा र संवेदनशील कूटनीतिक व्यवहार देखाइरहेको अनुमान छ। चीनसँग बीआरआई ऋणलाई लिएर नेपालमा भएका टिप्पणीहरूका कारण चीनले ओलीलाई यसपटक धेरै उत्साहका साथ स्वागत नगर्न सक्ने विश्लेषण गरिएको छ।
ओलीको भ्रमणमा आरजु राणाको उपस्थिति पनि विशेष चासोको विषय बनेको छ। कांग्रेससँग सम्बन्ध सुधार गर्न खोजिरहेको चीनका लागि आरजुसँग सम्बन्ध विस्तार गर्ने अवसरको रूपमा यो भ्रमण हेरिएको छ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपालको विदेश नीति र कूटनीतिक सम्बन्धमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयले अहिले सबैको ध्यान खिचेको छ।



