काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, पहिलो कुन ?
काठमाडौं उपत्यकामा आज वायु प्रदूषणको अवस्था चिन्ताजनक रहेको छ। स्वीस वायु गुणस्तर मापन गर्ने कम्पनी आइक्यू एयरका अनुसार, आज बिहान ११ः४५ बजेको मापनअनुसार काठमाडौंले विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा तेस्रो स्थान ओगटेको छ।
काठमाडौंको वायु गुणस्तर सूचकांक आइक्यू एयरले सूक्ष्म कणीय पदार्थको मात्रा खतरनाक स्तरमा पुगेको संकेत गरेको छ। हाल काठमाडौंको हावाको गुणस्तर १७५ अर्थात् अस्वास्थ्यकर रहेको छ । पाकिस्तानको लाहोर पहिलो नम्बरमा छ । लाहोरको प्रदूषणको स्तर ६११ छ ।
यसका कारण नागरिकहरूमा श्वासप्रश्वास सम्बन्धी समस्या, आँखा पोल्ने, घाँटी खसखसाउने र दीर्घकालीन स्वास्थ्य समस्याहरूको जोखिम बढ्नेछ। विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई यो प्रदूषणले गम्भीर असर पुर्याउन सक्ने खतरा छ।
यसका साथै, प्रदूषणका कारण सवारी साधनको धुवाँ, निर्माण कार्यहरू, जलवायु परिवर्तनसँग जोडिएका कारकहरू, तथा धुलो र धुँवाको मात्रा उल्लेखनीय रूपमा बढेको छ। विशेषज्ञहरूले अनावश्यक रूपमा घरबाहिर ननिस्कन, मास्क लगाउन, र वायु प्रदूषण नियन्त्रणका लागि दीर्घकालीन उपाय अपनाउन सुझाव दिएका छन्।