साइबर आक्रमणले अवरुद्ध राहदानी सेवा आंशिक सुचारु, कसरी हुन्छ यस्तो आक्रमण ?
गत सातादेखि साइबर आक्रमणका कारण अवरुद्ध भएको राहदानी सेवा पुनः सञ्चालनमा आएको छ। राहदानी विभागका सूचना अधिकारी किरणकुमार गुरुङका अनुसार विभागबाट सेवा सुरु भइसकेको छ भने अन्य स्थानमा पनि क्रमशः साइबर सुरक्षाको स्थिति जाँच गरेर सेवा सुचारु गरिनेछ।
दैनिक तीन हजार सेवाग्राही प्रभावित
राहदानी विभाग र विभिन्न जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट दैनिक झन्डै तीन हजार जनाले राहदानीका लागि आवेदन दिने गरेका छन्। साइबर आक्रमणपछि दुई सयभन्दा बढी स्टेशनहरूको सेवा अवरुद्ध हुँदा हजारौं सेवाग्राहीहरू प्रभावित भएका थिए।
विभागले राहदानी प्रणालीमा र्यान्समवेअर आक्रमण भएको पुष्टि गरेको छ। यो खालको आक्रमणले प्रणालीका डेटा कब्जा गरेर फिरौती माग्ने गर्छ। साउदी अरेबियाको रियादस्थित दूतावास लगायत जापान, जर्मनी र बेलायतका नेपाली नियोगहरूमा पनि आक्रमण भएको पाइएको छ।
रियादस्थित दूतावासमा आक्रमणकारीले डेटा फिर्ता गर्न ४८ घण्टाको समयभित्र एक हजार डलर फिरौती मागेका थिए। समयसीमाभित्र रकम नतिरेमा हरेक घण्टा थप एक हजार डलरको दरले रकम बढ्ने धम्की दिएको विभागले जनाएको छ।
कसरी गरियो जाँच?
आक्रमणको पहिचानपछि विभागले देशभरका कम्प्युटर प्रणालीलाई इन्टरनेटबाट विच्छेद गरेर जाँच गर्न थालेको थियो। बायोमेट्रिक उपकरणहरू समेत स्क्यान गरी कुनै पनि मालवेयर नभएको सुनिश्चित गरेपछि मात्र प्रणालीलाई पुनः जडान गरिएको गुरुङले बताए।
सूचना अधिकारी गुरुङले राहदानी प्रणालीको डेटा सुरक्षित रहेको पुष्टि गरेका छन्। साइबर सुरक्षाका उपायहरू अवलम्बन गरेपछि मात्र सेवा पुनः सञ्चालनमा ल्याइएको र आक्रमणकारीको पहुँच डेटासम्म पुग्न नसकेको उनले जानकारी दिए।
र्यान्समवेअरबाट कसरी जोगिने?
साइबर सुरक्षा विज्ञ विजय लिम्बुका अनुसार नेपालमा पाइरेटेड सफ्टवेयरको प्रयोग, अवाञ्छित इमेल लिङ्कमा क्लिक गर्नु, कमजोर अनलाइन प्रणाली तथा सामाजिक सञ्जालका फर्जी सन्देशहरूमा विश्वास गर्नु प्रमुख जोखिमका कारण हुन्।
लिम्बुले जेन्यून सफ्टवेयरको प्रयोग, सुरक्षा प्रणालीको नियमित अडिट, २४ घण्टा निगरानी तथा साइबर आक्रमणको जोखिम विश्लेषण गर्न सुझाव दिएका छन्।
सरकारले यस्ता आक्रमणबाट बच्न डिजिटल प्रणालीहरूमा थप सुरक्षा उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता देखिएको छ।