No Image Headlineदेशराजनीति

चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीलाई नेताहरुले के दिए सुझाव ?

प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ गतेदेखि सुरु हुने चीन भ्रमणका एजेन्डाबारे सोमबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्रीहरूसँग संयुक्त छलफल गरेका छन्।

छलफलमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्डसहित केही पूर्वपरराष्ट्र मन्त्रीहरूको उपस्थिति थियो। परराष्ट्रमन्त्री डा. आरजु राणा पनि बैठकमा सहभागी थिइन्।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) नेपालका लागि फाइदाजनक हुन सक्ने तर्क गर्दै यसको उचित उपयोग गर्नुपर्ने बताए। छलफलमा सहभागी नेताहरूले नेपाल स्वतन्त्र मुलुक भएकाले कुनै भ्रमणलाई अनिवार्य प्राथमिकता दिनु नपर्ने र राष्ट्रिय हितका लागि चीन भ्रमण उपयोगी हुन सक्ने सुझाव दिए।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय हितका लागि जहाँसुकै भ्रमण गर्न सकिने बताए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने कांग्रेस र एमालेले राष्ट्रविपरीतका सम्झौता नगर्न र देशको हितका पक्षमा काम गर्न आग्रह गरे।

नेताहरूले चीनसँग भएका पुराना सम्झौता कार्यान्वयनमा ढिलाइ भएको, खासगरी पारवहन सम्झौताको प्रोटोकल र अन्य परियोजनाहरूमा गति नआएको भन्दै प्रधानमन्त्रीलाई चीनसँग यी विषयमा छलफल गर्न सुझाव दिए।

साथै, चीनले अनुदानमा उपलब्ध गराएका पुराना उद्योगहरू (जस्तै, हेटौँडा कपडा कारखाना, हरिसिद्धि इँटा कारखाना) मासिएका प्रसंग उठाउँदै भविष्यमा अनुदान स्वीकार्दा विशेष सोचविचार गर्नुपर्ने पनि बताए।

नेताहरूले बीआरआई अन्तर्गतका परियोजनाहरूलाई नेपालले अवसरका रूपमा लिनुपर्ने सुझाव दिए। कांग्रेसले बीआरआई अन्तर्गत ऋण लिने विषयलाई अस्वीकार गरे पनि छलफलमा सहभागी नेताहरूले यसलाई नेपालका लागि अवसरको रूपमा हेर्नुपर्ने धारणा राखे।

प्रधानमन्त्री ओलीले भने चीन भ्रमणका क्रममा ऋण सम्बन्धी कुनै सम्झौता नहुने स्पष्ट पारे। उनले बीआरआई परियोजनाहरू ऋणमुखी नभएको बताउँदै राष्ट्रिय हितका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

ओलीलाई नेताहरूको सुझाव

१. प्रधानमन्त्रीले विदेश भ्रमणमा जानुअगाडि सुझाव लिने गरेका छन् । तर ती सुझावलाई औपचारिकता मात्र सीमित गर्ने काम भइरहेकाले यो संस्कार ओलीले फेर्न सक्नुपर्छ । ओलीले अरूको कुरा सुन्ने तर निर्णय आफूखुसी गर्ने बताउँदै नेताहरूले बैठकमा यसबारे पनि चर्चा गरेका थिए । नेताहरूको निष्कर्ष थियो : सुझावलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्नुपर्छ ।

२. उत्तरी छिमेकी चीन अहिले विश्वको ठूलो शक्ति हो । त्यस्तो शक्तिशाली छिमेकमा रहनु महत्त्वपूर्ण भएको बताउँदै नेताहरूले जति सकिन्छ देशको हित हेरे फाइदा लिनसक्नुपर्ने सुझाव नेताहरूको थियो । त्यसका लागि आवश्यक भिजन र योजना बनाएर नेपालले फाइदा उठाउन नसकेको भन्दै यसमा सबै दल र शक्तिबीच छलफल हुनुपर्ने सुझाव नेताहरूले दिए ।

३. पहिलेबाटै चीनसँग भएका सम्झौता र सहमति लागु नहुने समस्याबारे पनि नेताहरू बोलेका छन् । उनीहरूले यसलाई पनि महत्त्वपूर्ण रूपमा लिएर कार्यान्वयनतर्फ लानुपर्ने बताएका थिए । सम्झौता गर्ने तर कार्यनयनमा चुक्ने नेपालको समस्या भएकाले त्यसबारे पनि सोच्न नेताहरूले ओलीलाई सुझाव दिएका छन् ।

४. तत्कालीन अवस्थामा ओली प्रधानमन्त्री भएकै बेला चीनसँग भएको पारवहन सम्झौताबारे नेताहरूले कुरा उठाएका छन् । पहिले पनि एउटा प्रोटोकल तयार गरेर अहिलेसम्म पनि आवश्यक पूर्वाधार निमार्ण नभएकाले त्यसबारे पनि चीनसँग कुरा राख्नुपर्ने सुझाव नेताहरूले दिएका छन् ।

५. दुई देशको सम्बन्ध राम्रो रहनुपर्ने तर्क गर्दै नेताहरूले चीनले अगाडि बढाउने भनिएका कतिपय परियोजनाका शर्तबारे सजग हुनुपर्ने राय दिए । त्यसैगरि उनीहरूले चीनले अघि सारेका परियोजनाले गति नलिएको विषय पनि नेताहरूले ओलीसमक्ष उठाएका छन् ।

६. नेपाललाई चीनले अनुदानमा दिएका हेटौँडा कपडा कारखाना, हरिसिद्धि इँटा कारखाना, बाँसबारी छालाजुत्ता लगायत कारखाना बेचिएको कुरा पनि नेताहरूले उठाए । उनीहरूले चीनले यसअघि दिएका कलकारखाना सबै मासिएको बताउँदै फेरि अनुदान लिनुपर्छ लाग्दा सोच्नुपर्ने पनि ओलीलाई सुझाए ।

७. बैठकमा नेताहरूले सत्ता गठबन्धनमा शीर्ष नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पनि खोजी गरेका थिए । छलफलमा नेताहरूले एमाले-कांग्रेस गठबन्धनलाई देश हितविपरीतका काममा नलाग्न पनि सचेत गराए ।

८. चीनसँग ऋण या अनुदान लिने विष गम्भीर भएको पनि बताए । उनीहरूले चीनसँग ऋण या अनुदानको कुरा गम्भीर भएकाले यसबारे विज्ञ र जानकार राखेर दलहरूबीचमा पनि राष्ट्रिय सहमति जुटाउन ओलीलाई सुझाव दिए ।

९. नेताहरूले बीआरआईअन्तर्गत एक सय ५३ देशले तीन हजार भन्दा प्रोजेक्ट बनाएर १.४ मिलियन डलरको लगानी भइसकेको कुरा पनि त्यहाँ उठाए । संसारका दुईतिहाइ देशले बीआरआईलाई लाभकारी भनिरहँदा नेपालका केही नेताहरूले ऋण पासो भनेर अपब्याख्या गरिरहेको सवालमा गम्भीर हुन ओलीलाई सुझाए ।

१० कांग्रेसले बीआरआई अन्तर्गत चीसँग ऋण लिनु हुँदैन भनिरहेको छ। चीनबाट ऋण लियो भने नेपालमा प्रभाव बढ्छ भन्ने मत कांग्रेसले बोकिरहेको भन्दै विपक्षी नेताहरूले यसबारे पनि कुरा उठाए । बीआरआईलाई लिएर वर्तमान सत्ता गठबन्धन फुट्छ भन्ने डरले ऋण नलिने भन्नु गलत हुने उनीहरूले बताएका थिए ।

नेताहरूले चीनसँग ठूला सम्झौता सम्भव नदेखिएको बताए पनि प्रधानमन्त्री ओलीले भ्रमणलाई उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन्। ओलीले दुई दिने औपचारिक भ्रमणका क्रममा पारस्परिक सहकार्यका विषयमा छलफल हुने र नेपालको हितका पक्षमा काम गरिने बताए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button