
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ। हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि काठमाडौं ल्याइने बताइएको छ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा बचत हिनामिना प्रकरणमा बयान लिने उद्देश्यले उनलाई ल्याउन लागिएको हो। बयानपछि उनलाई पोखरा फिर्ता पठाइनेछ।
प्रहरी स्रोतका अनुसार बिहान साढे ८ बजे बुद्ध एयरको उडानबाट लामिछानेलाई काठमाडौं ल्याउने तयारी गरिएको छ। कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
काठमाडौंमा बयानपछि उनलाई चितवन लगेर सहकार बचत तथा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा समेत बयान लिने योजना छ।



