उडिरहेको विमानमा यात्रीले केबिनको ढोका खोल्ने प्रयास गरेपछि…
अमेरिकाको विस्कन्सिन राज्यको मिलवाकीबाट टेक्सस राज्यको ड्यालस जाँदै गरेको विमानमा यात्रु केबिनको ढोका खोल्ने प्रयास गर्ने एक व्यक्तिलाई अन्य यात्रुहरूले नियन्त्रणमा लिई विमान अवतरण गरेपछि प्रहरीलाई बुझाएका छन्।
घटना मङ्गलबार बिहान अमेरिकन एयरलाइन्सको उडान १९१५ मा भएको हो। अधिकारीहरूका अनुसार, एक क्यानाडाली नागरिकले उडानका क्रममा केबिनको ढोका खोल्न प्रयास गरे। उडान परिचारिकाले उनलाई रोकेपछि उनी झन् आक्रामक बनेका थिए। प्रतिवेदनअनुसार, उनले ढोकातर्फ दौडने प्रयास मात्र गरेनन्, उडान परिचारिकालाई मुक्का समेत हाने।
अन्य यात्रुहरूले परिचारकलाई सहयोग गर्दै उक्त व्यक्तिलाई वशमा पार्न फित्ता (डक्ट टेप) प्रयोग गरेर उनको हात र खुट्टा बाँधे। विमान ड्यालसमा अवतरण भएपछि उनलाई विमानस्थल प्रहरी र एफबीआईले हिरासतमा लिए। उनलाई व्हीलचेयरमा राखेर मानसिक स्वास्थ्य परीक्षणका लागि चिकित्सा केन्द्र लगिएको छ।
घटनामा संलग्न उडान परिचारकलाई घाँटी र नाडीमा चोट लागेको कारण उपचारका लागि अस्पताल लगिएको छ। संघीय उड्डयन प्रशासनले यस घटनाको अनुसन्धान गरिरहेको छ।
एयरलाइन्सले विज्ञप्ति जारी गर्दै ग्राहक र टोलीका सदस्यहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै, कठिन परिस्थितिमा देखाएको साहस र सहयोगको प्रशंसा गरेको छ।