देशमुख्य खबर

साइबर अपराधको आरोपमा दोस्रो पटक पक्राउ परेका दुर्गा प्रसाईँलाई कस्तो कारवाही हुन्छ ?

मंगलवार भक्तपुरस्थित निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि साइबर अपराधको आरोपमा *पटके अपराध*अन्तर्गत अनुसन्धान अगाडि बढाइने भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार प्रसाईँ यसअघि पनि यस्तै प्रकृतिको आरोपमा पक्राउ परिसकेका थिए।

अभियोग
प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीले क्याम्बोडियामा लगानी गरेको भ्रामक समाचार सम्प्रेषण गर्दै सार्वजनिक नैतिकता र शिष्टाचारमाथि असर पुर्‍याउने घृणा र द्वेष फैलाएको आरोप छ। उनले प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर बराबरको सेयर रहेको दाबी गरेका थिए। उनले उक्त दाबी पत्रकार सम्मेलन र आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका थिए।

प्रहरीले प्रसाईँले सामाजिक सञ्जालमा तथ्यहीन पोस्टहरू सार्वजनिक गरेको र प्रधानमन्त्रीविरुद्ध भ्रामक अभिव्यक्ति दिँदै साइबर अपराध गरेको आरोप लगाएको छ।

पहिल्यै पक्राउ
करिब दुई महिनाअघि प्रसाईँ एक महिलाको उजुरीका आधारमा पनि पक्राउ परेका थिए। प्रहरीका अनुसार एउटै प्रकृतिको अपराधमा दोहोरिएको अवस्थामा *पटके अपराध*अन्तर्गत कडा अनुसन्धान र सजायको माग हुने गर्दछ।

सीआईबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार, “पहिला गरेको अपराध प्रमाणित भएमा पटके अपराध अन्तर्गत डेढी सजायको माग गर्न सकिन्छ। यस अवस्थामा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ आकर्षित हुने सम्भावना छ।”

दफा ४७ अनुसार, विद्युतीय सञ्चार माध्यममार्फत भ्रामक, अमर्यादित वा घृणा फैलाउने सामग्री प्रकाशन गर्नेलाई अधिकतम १ लाख रुपैयाँ जरिवाना, ५ वर्षसम्म कैद, वा दुवै सजाय हुन सक्छ।

कसरी चर्चामा आए दुर्गा प्रसाईँ?
दुर्गा प्रसाईँ नेकपा (एमाले) र माओवादी मिलेर बनेको पार्टीका अध्यक्षहरू पुष्पकमल दाहाल र केपी ओलीलाई आफ्नो घरमा भोजन गराएको तस्बिर सार्वजनिक भएपछि चर्चामा आएका थिए। पछि एमालेका केन्द्रीय सदस्य बनेका उनी विवादास्पद गतिविधिका कारण पार्टीबाट निष्कासित भए।

हाल प्रसाईँ राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापना अभियानका नेतृत्व गर्दै आएका छन्। यसै अभियानका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा कार्यक्रममा सहभागी गराएका थिए।

प्रहरीका अनुसार, प्रसाईँले आफ्नो अभिव्यक्तिका कारण साइबर अपराध गरेको देखिएकोले प्रमाण संकलन गरेर कानुनी कारबाही अगाडि बढाइनेछ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button