नौवटा युट्युब च्यानलमाथि प्रेस काउन्सिलको कारवाही, कुनकुन परे कारवाहीमा ?
प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको आरोपमा मंगलबार नौवटा युट्युब च्यानलमाथि कारबाही गरेको छ।
तीमध्ये तीनवटा युट्युब च्यानल दर्ता र सूचीकरणबिनै सञ्चालनमा रहेको पाइएको छ। काउन्सिलले ती च्यानललाई नेपाल प्रहरीको साइबर ब्यूरोमा अनुसन्धान गरी कारबाही गर्न पत्राचार गरेको छ। सूचीकरण भएका अन्य च्यानलहरूलाई अप्रमाणित र एकपक्षीय सामग्री हटाउन वा स्थगन गर्न निर्देशन दिइएको छ।
सामाजिक सञ्जालमाथि कडा निगरानी
काउन्सिलले हालै कार्यविधि बनाई मिडियासँग सम्बद्ध रहेका र नरहेका सामाजिक सञ्जाल—विशेषगरी युट्युब च्यानल र फेसबुक पेज—बाट प्रसारित सामग्रीको विशेष अनुगमन गर्दै आएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका सम्बन्धमा अपुष्ट, एकपक्षीय आरोप र गालीगलौजयुक्त सामग्री प्रसारण भएपछि यस्ता च्यानलमाथि कारबाही गरिएको काउन्सिलले जनाएको छ।
काउन्सिलका सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आधिकारिक र विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुन्छ।” भ्रम फैलाउने सामग्री नफैलाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।
अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाको परिचय दिएर सूचना सम्प्रेषण गर्ने कुनै पनि माध्यम कानुन र पत्रकार आचारसंहिताभित्र रहेर सञ्चालन हुनुपर्ने स्पष्ट पारे। उनले भने, “कानुनभन्दा माथि कोही छैन। प्रेस स्वतन्त्रताको अर्थ स्वच्छन्दता होइन।”
काउन्सिलले यसअघि पनि विभिन्न सामाजिक सञ्जाललाई तथ्यपूर्ण र सन्तुलित सामग्री सम्प्रेषण गर्न आग्रह गर्दै अटेर गर्नेमाथि कारबाही गरिसकेको छ।
काउन्सिलले सामाजिक सञ्जालमार्फत भइरहेका अराजक गतिविधि रोक्न विशेष सक्रियता देखाउँदै यस्ता च्यानललाई निगरानीमा राखेको जनाएको छ। विज्ञप्तिमा कारबाहीमा परेका माध्यमहरूको विवरणसमेत सार्वजनिक गरिएको छ।
कारबाहीमा परेका युट्युब च्यानल
लेकाली खबर
खबर बुलेटिन टीभी
न्युज इन नेपाल
रातोपर्दा टीभी
योहो टेलिभिजन एचडी
पूर्वी गर्जन मिडिया
गुन्द्रुक न्युज
सगरमाथा पाना
नेपाल लाइभ एचडी



