No Image Headlineखबर फटाफटदेश

गढीमाई मेलाको तयारी तीव्र, ५० लाखभन्दा बढी भक्तजन सहभागी हुने

बारा जिल्लाको महागढीमाई नगरपालिका–१ मा रहेको ऐतिहासिक गढीमाई मन्दिरमा यस वर्षको मेला आयोजनाको तयारी तीव्र रूपमा भइरहेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र यादवले मेला व्यवस्थापनका लागि व्यापक तयारी भइरहेको जानकारी दिए।

मेला क्षेत्रमा करिब एक हजार बिघा क्षेत्रफल ओगट्ने व्यवस्थापन गरिनेछ, जसमा ४० वटा घुम्ती शौचालय, एक हजार अस्थायी शौचालय, एक हजारभन्दा बढी चापाकल, दर्जनौँ बोरिङ, २७०० पसल, तीन वटा हेलिकप्टर, १० वटा भेन्टिलेटरसहितको अस्थायी अस्पताल र २५०० सुरक्षाकर्मीको व्यवस्था गरिने यादवले बताए। आकस्मिक विपद् व्यवस्थापनका लागि पनि पर्याप्त तयारी गरिएको उनले जानकारी दिए।

मेला क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा अस्थायी अस्पताल र अन्य आवश्यक संरचना बनाइनेछ। स्वच्छ खानेपानीको आपूर्ति संघीय र प्रदेश सरकारले प्राविधिक टोली खटाएर तीव्र रूपमा गरिरहेको पनि उनले जनाए।

भारतबाट आउने भक्तजनलाई सहज बनाउन रक्सौल, मटियर्वा सिम्रौनगढ र गौर नाकाबाट हलुका सवारीसाधनलाई निःशुल्क प्रवेश दिने व्यवस्था मिलाइएको छ। ठूला सवारीसाधनको हकमा भन्सार प्रक्रिया पूर्ण गराइनेछ। भारतीय भक्तजनका लागि रेल भाडामा ५० प्रतिशत छुटको प्रयास भइरहेको छ भने मङ्सिर १० गतेदेखि काठमाडौँ-सिमरा मार्गमा दैनिक ४० देखि ५० उडानका लागि तयारी गरिएको छ।

मेलामा पचास लाखभन्दा बढी भक्तजनलाई निःशुल्क वाइफाइ सुविधा उपलब्ध गराइने छ, जुन नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट मेलाको सम्पूर्ण क्षेत्रमा उपलब्ध हुनेछ। साथै, भक्तजनका लागि महागढीमाई नगरपालिका र बाराका नागरिकले निःशुल्क खानपिन र बस्नका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

अध्यक्ष यादवले मेला व्यवस्थापन समितिको तर्फबाट बलीप्रथा नप्रोत्साहन गरिने स्पष्ट पार्दै, भक्तजनले स्वतः स्फूर्त रूपमा चढाउने बलीको व्यवस्थापन गरिने बताए। उनले मेला भाँड्न लाग्ने कुनै पनि प्रयास सफल नहुनेमा विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button