खुर्सानीका स्वास्थ्य फाइदा र हानिका अध्ययनहरू: के भन्छन् वैज्ञानिकहरू?
खुर्सानी संसारभर प्रचलित मसला हो, जसले स्वास्थ्यमा पनि विभिन्न प्रभाव पार्न सक्छ। धेरै अध्ययनहरूले खुर्सानीमा पाइने सक्रिय तत्त्व क्याप्सेइसिनको फाइदा र सम्भावित हानि दुवै देखाएका छन्।
क्याप्सेइसिनले हाम्रो शरीरको तापमान ‘सेन्सर’हरूसँग अन्तरक्रिया गर्ने भएकाले खुर्सानी खाँदा तातोपनको अनुभूति हुन्छ। इटलीमा गरिएको एक अध्ययनले हप्तामा चार पटक खुर्सानीयुक्त खाना खाने मानिसहरूमा मृत्युको जोखिम कम देखिएको पाएको थियो। सन् २०१५ मा चीनमा गरिएको अर्को अध्ययनले हरेक दिन खुर्सानी खानेहरूमा मृत्युको जोखिम १४ प्रतिशतले कम हुने देखायो। विशेष गरी क्यान्सर, मुटु रोग र श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्युको जोखिम घटेको अध्ययनले जनाएको छ।
हार्वर्ड विश्वविद्यालयका पोषणविद् लु कीका अनुसार, खुर्सानी खाँदाले स्वास्थ्यमा फाइदा पुग्न सक्छ तर यो भन्दैमा अत्यधिक सेवन गर्नु लाभदायक हुन्छ भन्ने छैन। कतिपय अनुसन्धानहरूले क्याप्सेइसिनले शरीरको ऊर्जा खपत र भोक नियन्त्रणमा सघाउने देखाएका छन्। कतार विश्वविद्यालयका असोसिएट प्रोफेसर जुमिन शीका अनुसार खुर्सानी खाँदा मोटोपन र उच्च रक्तचाप घटाउन सघाउ पुग्न सक्छ।
तर, केही अनुसन्धानले बढी खुर्सानी खानेहरूको बोधात्मक क्षमतामा गिरावट देखाएको छ। चीनमा गरिएको अध्ययनमा दिनहुँ ५० ग्राम खुर्सानी खानेहरूमा स्मरणशक्ति कमजोर हुने जोखिम लगभग दोबर देखिएको थियो। यद्यपि स्वयं रिपोर्ट गरिएका तथ्यांकलाई सतर्कताका साथ हेर्नुपर्ने वैज्ञानिकहरू बताउँछन्।
वैज्ञानिकहरू खुर्सानीले पोल्ने अनुभूति दिने कारणलाई लिएर पनि उत्सुक छन्। बिरुवाहरूले कीराफट्याङ्ग्राबाट जोगिन पिरो वा तितो स्वादमा विकास गरेका हुन्छन्, जसलाई मानिसले विषाक्तताको रुपमा अनुभव गर्दैनन्। यूकेको न्यूकाशल विश्वविद्यालयकी वैज्ञानिक कर्स्टन ब्रान्टका अनुसार बिरुवामा हुने रङ्ग र स्वाद कीराफट्याङ्ग्रालाई रोक्नका लागि हुन्छन्।
अर्कोतर्फ, केही यौगिकहरूले हाम्रो स्वास्थ्यलाई सघाउन सक्ने सम्भावना पनि छ तर त्यस्तो प्रभावको लागि ठूलो मात्रामा सेवन गर्नुपर्ने हुन्छ, जुन सम्भव नहुन सक्छ। एजेन्सीहरुको सहयोगमा