अर्थदृष्टि/संवादमुख्य खबर

डोनल्ड ट्रम्पको पुनरागमनसँगै किन बढ्यो डलरको भाउ, नेपाललाई कस्तो असर ?

अमेरिकी राष्ट्रपतीय चुनावमा डोनल्ड ट्रम्पको विजयसँगै अमेरिकी डलरको मूल्य सूचक (डीएक्सवाई) बुधबार १.९ प्रतिशतले बढेर १०५.३० मा पुगेको छ, जुन चार महिनायताकै उच्च स्तर हो।

नेपाल राष्ट्र बैंकका अनुसार, शुक्रवारको लागि १ अमेरिकी डलरको विनिमय दर १३५.३० रुपैयाँमा तोकिएको छ। यो वृद्धिले अमेरिकी डलरलाई अन्य प्रमुख मुद्राहरू जस्तै युरो, पाउन्ड, येन लगायतका मुद्रासँग तुलनामा बलियो बनाएको छ।

डीएक्सवाईमा भएको यस्तो वृद्धिले विश्वव्यापी रूपमा अमेरिकी डलर खरिद महँगो पर्ने सन्देश दिन्छ, जसले धेरै देशका अर्थतन्त्रमा सिधा असर गर्नसक्छ।

नेपालमा डलरको भाउमा हुने वृद्धिको प्रभाव केवल मुद्रा विनिमयको मामिलामा सीमित नरहेर दैनिक जनजीवनमा प्रत्यक्ष रूपमा देखिन्छ। नेपालका लागि डलरको मूल्य महँगो हुँदा दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, खाद्यान्न, मेसिनहरू जस्ता आयातित वस्तुहरूको लागतमा वृद्धि हुन्छ। नेपालको आयातमा अत्यधिक निर्भर अर्थतन्त्रमा यस्तो वृद्धि महत्त्वपूर्ण छ, किनकि देशको वार्षिक आयात खर्च करिब १९.२० अर्ब डलरमा पुगेको छ।

डलरको मूल्यवृद्धि र नेपालमा सुनको मूल्य घटबढ
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्यमा भएको वृद्धिले सुनजस्ता बहुमूल्य धातुहरूको मागलाई घटाउने प्रभाव पारेको छ। बुधबारको व्यापारमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कमी आउँदा नेपाली बजारमा पनि बिहीवार प्रति तोला सुनको मूल्य करिब चार हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपालमा पछिल्ला केही महिनादेखि सुन र चाँदीजस्ता धातुहरूको मूल्यमा तीव्र उतारचढाव भइरहेको छ, जसले गर्दा लगानीकर्ताहरूमा अन्योलको स्थिति देखिएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सुनको मूल्य घटबढले नेपाली अर्थतन्त्रमा तत्काल ठुलो असर नगर्ने भए पनि अमेरिकी डलरको मूल्यवृद्धि जनजीवनमा स्पष्ट रूपमा प्रभाव पार्ने बताउँछन्।

मिश्रका अनुसार, “सुन हाम्रो अत्यावश्यक वस्तु होइन र यसको आयात पनि कम छ। त्यसैले यसले अर्थतन्त्रमा ठूलो हलचल ल्याउँदैन। तर डलरको मूल्य वृद्धि हुँदा आयातित वस्तुहरूको लागत बढ्ने भएकाले यसले जनजीवनमा दबाब सिर्जना गर्छ।”

भारतीय रुपैयाँसँग स्थिर विनिमय दर र त्यसको प्रभाव
नेपालको मुद्रा भारतीय रुपैयाँसँग स्थिर विनिमय दरमा कायम रहेकोले नेपाल र भारतबीचको द्विपक्षीय व्यापारमा डलरको प्रत्यक्ष असर अलिकति कम देखिन्छ। नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरका अनुसार, “नेपालको दुई-तिहाइ व्यापार भारतसँग हुन्छ, जसले गर्दा डलरको उतारचढावले हाम्रो अर्थतन्त्रमा सिधा ठूलो असर गर्दैन।

” तथापि, बाँकी एक-तिहाइ व्यापारमा भने डलरको मूल्यवृद्धिको असर प्रत्यक्ष रूपमा देखिन्छ। यसमा मुख्यतः मध्यपूर्व, चीन, जापानजस्ता मुलुकहरूबाट आयात गरिने पेट्रोलियम पदार्थ, खाद्यान्न, इलेक्ट्रोनिक्स जस्ता सामग्रीहरू समावेश छन्, जसको लागि डलरमा भुक्तानी गर्नुपर्ने हुन्छ।

भारतले पेट्रोलियम पदार्थको ठुलो हिस्सा आयात गर्ने हुँदा, डलरको मूल्यवृद्धिले अप्रत्यक्ष रूपमा भारतको अर्थतन्त्रलाई प्रभावित गर्छ। नेपालले भारतबाट आयात गर्ने पेट्रोलियम पदार्थको मूल्यमा पनि त्यसको असर पर्ने देखिन्छ।

अमेरिकी पूँजीबजारमा लगानी र त्यसको कारण
अमेरिकी राष्ट्रपतीय चुनावमा ट्रम्पको विजयसँगै उनले ब्याजदर र कर घटाउने घोषणा गरेका छन्, जसले व्यापारिक क्षेत्रलाई निकै उत्साहित बनाएको छ। अमेरिकी पूँजीबजारमा यसको सकारात्मक प्रभाव देखिएको छ र लगानीकर्ताहरूले डलरमा लगानी बढाएका छन्।

पूर्व डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरका अनुसार, “ट्रम्पले कर र ब्याजदर घटाउने बाचा गरेकाले विश्वभरका लगानीकर्ताहरू अमेरिकी पूँजीबजारमा आकर्षित भएका छन्, जसले डलरलाई अझ बलियो बनाएको छ।”

ट्रम्पले गरेका वित्तीय सुधारका बाचाहरूले अमेरिकी वित्तीय घाटा बढ्न सक्ने अनुमान गरिएको छ, जसले महँगी बढाउनेछ। यसको परिणामस्वरूप अमेरिकी केन्द्रीय बैंकले बाध्य भएर ब्याजदर बढाउने सम्भावना बढ्छ। यो स्थिति डलरको लागि सकारात्मक मानिन्छ, किनकि यसले डलरलाई थप आकर्षक बनाउँछ र अन्य देशहरूमा अमेरिकी डलरको माग बढाउँछ।

डलरको मूल्यवृद्धिले नेपाललाई हुने असर
नेपालका लागि डलरको मूल्यवृद्धि लामो अवधिको लागि नकारात्मक रहन सक्छ। रेमिट्यान्स र पर्यटनबाट नेपालले डलर आम्दानी गर्ने भए पनि नेपालको ठूलो व्यापार घाटाले यी स्रोतहरूले कभर गर्न गाह्रो पर्छ।

डेपुटी गभर्नर मिश्रका अनुसार, “नेपालले धेरै विदेशी मुद्रा खर्चेर निर्माण सामग्री, मेसिनजस्ता महत्वपूर्ण वस्तुहरू आयात गर्नुपर्ने हुन्छ। डलरको भाउ बढ्दा यी वस्तुहरूको लागत थप महँगो हुन्छ, जसले नेपालको विकास र निर्माण परियोजनाहरूमा थप दबाब ल्याउँछ।”

नेपालको अर्थतन्त्रमा निर्यातको हिस्सा अत्यन्त कम रहेकोले विदेशी मुद्रा आम्दानीको अवसर सीमित छ। डलरमा निर्यात गर्दा फाइदा हुने भए पनि नेपालको निर्यात संरचना न्यून रहेकोले त्यसबाट धेरै लाभ उठाउन सकिँदैन। अर्कोतर्फ, पछिल्ला वर्षहरूमा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरू र पर्यटकहरूको संख्यामा वृद्धि भएकोले ठूलो मात्रामा डलर बाहिरिने गरेको छ। एक रिपोर्ट अनुसार, यस क्षेत्रको वार्षिक खर्च करिब एक खर्ब रुपैयाँभन्दा बढी रहेको छ।

भारतसँगको स्थिर विनिमय दरको फाइदा
नेपालमा डलरको भाउको सीधा असर नदेखिनुमा भारतीय मुद्रासँगको स्थिर विनिमय दर मुख्य कारण रहेको छ। पूर्व डेपुटी गभर्नर मिश्रका अनुसार, “नेपालको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर भएकाले भारतीय अर्थतन्त्रले डलरको झट्का थेगिदिएर हाम्रो अर्थतन्त्रलाई केही हदसम्म सुरक्षित राखेको छ।” यसले नेपालमा डलरको प्रभाव सिधा नपरेर अप्रत्यक्ष असर पर्ने भएकोले नेपालका लागि यो अवस्था लाभदायक मानिन्छ।

भविष्यका सम्भावित असरहरू
डेपुटी गभर्नर मिश्रका अनुसार, डलरको भाउ आउँदा केही महिना उच्च नै रहने देखिन्छ। ट्रम्पले पद नसम्हाल्दासम्म उच्च अपेक्षाहरू रहने भएकाले जनवरीसम्म यो माहोल जारी रहन सक्ने अनुमान गरिएको छ। ट्रम्पले कार्यभार सम्हालेर नीति सार्वजनिक गर्न थालेपछि मात्र अन्तर्राष्ट्रिय बजारमा स्थिरता आउने सम्भावना रहन्छ।

डोनल्ड ट्रम्पको विजयीले अमेरिकामा वित्तीय घाटा र ब्याजदरमा असर ल्याउनसक्छ, जसले दीर्घकालमा नेपालजस्ता देशमा मुद्रा अस्थिरता, मूल्यवृद्धि र लागत बढाउने स्थिति ल्याउन सक्छ। अमेरिकाको वित्तीय नीतिमा हुने सम्भावित परिवर्तन र डलरको मागले नेपालजस्ता विकासशील देशमा दुरगामी असर पार्न सक्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button