आज छठ पर्वको दोस्रो दिन, भक्तिभावपूर्वक खरना मनाइँदै
छठ पर्वअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । पञ्चमी तिथिमा पर्ने खरनाको अर्थ संरक्षण अर्थात् पापको क्षय हो ।
खरनाको दिन व्रतालु दिनभरि निर्जला बस्छन् अनि साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा जान्छन् । त्यहाँ नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गर्छन् । प्रसादका रुपमा विशेषगरी पाकेको केरा र पायस खिर लिने चलन रहेको छ ।
यो दिन व्रतालुले आँगनमा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गर्ने गर्छन् । अनि राति चन्द्रोदयपछि चन्द्रमालाई पायस चढाइ सोही प्रसाद ग्रहण गर्छन् । यसदिनपछि व्रतालुले पूर्ण व्रत लिनुपर्दछ ।
छठको तेस्रो दिन अर्थात षष्ठीमा गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री तयार गरिन्छ ।
छठको चौथो तथा अन्तिम दिनलाई पारन पार्वण भनिन्छ । यसदिन बिहान उषाकालमा व्रत लिनेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याउँछन् । प्रातःकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ ।
यस पर्वमा यथासम्भव टुप्पोमा पात भएका चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि छ । छठ पूजाका लागि छठघाटहरु झकिझकाउ हुने गरी सिंगारिएको छ ।
दिपावली तिहारको रौनक नसक्दै यहाँ छठ पर्वको तयारी सुरु हुन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । छठ पर्व सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने चाड मानिएको छ ।
चारदिने छठ पर्वको पहिलो दिन मंगलबार व्रतालुले नहाखाय मनाए । यो दिन उनीहरूले नुहाएर चोखो बस्त्र धारण गरी प्याज र लसुन बिनाको अरबा चामल सेवन गरेका थिए । पहिलो दिन चतुर्थीलाई अरबा–अरबाइन पनि भनिन्छ । यो दिनमा व्रतालुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाएका थिए ।



