देशमुख्य खबरयस्तो पनि

आज तिहारको औंसी, तर कुनै विशेष पर्व छैन !

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यमपञ्चक अर्थात् तिहारको औँसी परे पनि आज कुनै तिहारको विशेष पर्व परेको छैन। यस वर्ष औँसीको बेलुका भएकोले लक्ष्मीपूजा बिहीबार नै सम्पन्न गरिएको थियो। साथै, गाई पूजा, जुन सामान्यतः औँसीसहितको कार्तिक शुक्ल प्रतिपदामा गरिन्छ, यसपटक शनिबार परेको छ,समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यद्यपि, आज कुनै तिहार पर्व नभए पनि औँसीलाई विशेष महत्वका साथ मनाइन्छ, र यो पर्वका रूपमा पितृकर्मको लागि विशेष मानिन्छ। समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार तिथिहरूको गणना परिवर्तन हुँदा यस वर्ष औँसीको दिन सूर्योदयमा कुनै पर्व नपरेको हो।

यस्तो स्थिति केही वर्षको अन्तरालमा दोहोरिन्छ, जसका कारण पाँच दिनमा सकिने तिहार यसपालि छ दिनसम्म लम्बिएको छ। यस वर्ष कात्तिक १३ गते मङ्गलबार सुरु भएको तिहार पर्व कात्तिक शुक्ल द्वितीयाका दिन आइतबार, कात्तिक १८ गते, दाजुभाइ र दिदीबहिनीले पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर सम्पन्न हुनेछ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार नेपालका केही भाग र समुदायमा औँसीकै दिन गाई पूजाको परम्परा भए पनि शास्त्रअनुसार औँसीको अन्त्य र प्रतिपदाको शुरुवातमा गाई पूजा गरिनुपर्ने मान्यता छ। गाईलाई गौमाताका रूपमा सम्मान गरिने भएकाले वर्षभरि गाई पूजाको अवसर छ, तर तिहारको विशेष गाई पूजा शनिबार नै गरिनुपर्ने उनको भनाइ छ। यसै कारण, गाईतिहार शनिबार मनाइनेछ।

शनिबार कात्तिक १७ गतेको दिन गाईगोरु पूजा, गोवद्र्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ को प्रारम्भ गरी विभिन्न पर्वहरू एकसाथ मनाइने उल्लेख छ। यसबारे प्रस्ट जानकारी समितिले जारी गरेका पात्रो र विज्ञप्तिमा दिइएको छ। तथापि, शुक्रबार नै गाई पूजा गर्ने भनाइमा उठेका भ्रमहरूलाई चिर्न र सही जानकारीका लागि समितिले सचेत रहन अपिल गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button