यी हुन् दशैँका बेला सर्वाधिक बज्ने ८ गीत (भिडियोसहित )

नेपालीहरूको महान चाड विजयादशमीलाई लक्षित गरेर धेरै गीत तयार भएका छन् । हरेक वर्ष दशैँ अगाडि लक्षित गीतहरू सार्वजनिक हुने गरेका छन् ।



दशैँका धेरैजसो गीतले परदेशमा रहेका र मुग्लान भासिएकाहरूको भावनाको प्रतिनिधित्व गर्छन्। यद्यपि त्यस्ता सबै गीत स्थापित हुन भने सकेका छैनन्। बर्सेनि दशैँलाई नै लक्षित गरी अनेकौं गीत तयार भए पनि पुराना गीतहरूको दबदबा कायमै छ।



कालजयी र मर्मस्पर्शी लाग्ने ती गीत वर्षौंदेखि बजिरहेका छन्। दशैँका अधिकांश गीतमा जन्म गाउँ छाडेर विदेशीएका वा काम विशेषले टाढा रहेकाहरूको कथा समेटिएको पाइन्छ।



महान पर्व विजयादशमी अर्थात् बडादशैँमा मालाश्री धुनले बेग्लै उत्साह थप्छ। रेडियो तथा टिभीमा घन्किने मालश्री धुनले नै दशैँको रौनक भित्र्याउँछ भन्दा अत्युक्ति हुँदैन। करिब चार सय वर्ष पुरानो मानिएको मालश्री धुनको पनि बेग्लै महत्व छ। यहाँ दशैँ महसुस गराउने केही गीतसंगीतको चर्चा गरिँदैछ ।
विछोडको पीडा
स्वरसम्राट नारायणगोपालको स्वर रहेको ‘विछोडको पीडा’ पनि दशैँमा बज्ने गीतमध्येको एक हो । नारायणगोपालसँगै दिलमाया खातीले स्वर भरेको यस गीतले दशैँमा गाउँ फर्किरहेका युवाहरूको प्रतिनिधित्व गरेको छ।
‘विछोडको पीडा नसकी खप्न दशैँको बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ बोलको यो गीतले परदेशमा रहँदाको पीडा एवं घर फर्कने चाहनालाई उजागर गरेको छ। यो गीत ४० वर्षअघि रत्नशमशेर थापाले लेखेका थिए।
दशैँ आयो
नेपाली फिल्म ‘मुग्लान’मा समावेश ‘दशैँ आयो’ गीतले घर आँगनमै दशैँ भित्रिएको अनुभूत गराउँछ। लोकनाथ सापकोटाको शब्दको यो गीतमा उदितनारायण झा तथा दीपा झाले स्वर दिएका छन् । यसमा संगीत सुरेश अधिकारीको छ ।
रातो टीका, जमरा, पिङ खेल्दाको अनुभूति एवं घर-परिवारको खुसियाली समेटिएको गीतको भिडियो पनि उत्तिकै मार्मिक छ। यो गीत घन्किन थालेपछि दशैँको अनुभूति हुने गरेको छ । आजभन्दा १८ वर्ष अगाडि तयार भएको गीतले डिजिटल पुस्तामाझ पनि यस गीतको उत्तिकै वर्चश्व छ ।
नमुछे आमा दहीमा टीका, नछरे जमरा
बिदेसिएका छोराको मार्मिक बिलौना समेटिएको यो गीतले हरेक वर्ष धेरैलाई रुवाउने गर्छ । अध्ययन र रोजगारीको सिलसिलामा दिन प्रतिदिन नेपाली बिदेसिन बाध्य छन् । त्यो पीडासमेत यो गीतले मार्मिक रूपमा उठाएको छ । गीतमा बिदेसिएका युवाकी बहिनी, श्रीमती, छोराछोरीको कथा छ । भारतीय सेनामा कार्यरत रहँदा पाकिस्तानसँगको युद्धको समय लक्ष्मण रायमाझीले कोरेको गीतमा स्वर तथा संगीत नारायण रायमाझीले दिएका हुन् । भिडियोमा रमा थपलिया, देवेन्द्र बाबुल, अञ्जली अधिकारी, रोशन कार्कीलगायतको अभिनय देख्न सकिन्छ ।
दसैँ तिहार
गायक सुगम पोखरेलको स्वर रहेको यो गीत पनि दसैँमा धेरै सुनिने गीतमा पर्छ । गीतले चाड हर्ष र खुसीको दिन भनेर चर्चा गरेको छ । रवि श्रेष्ठको शब्द र गायक पोखरेलकै सङ्गीत रहेको गीतको भिडियोमा नीरज, सञ्जीव, कुशल, अस्मिता, सुजित लगायतको अभिनय देख्न सकिन्छ । गीतमा दसैँ–तिहार दुवै पर्व समेटिएको छ ।
दशैँ नै हो कि यो मेरो दशा
दशैँको अर्को पाटोलाई कमेडी शैलीमा चित्रण गरिएको गीत हो यो ‘दशैँ नै हो कि’ । योगेश्वर अमात्यले स्वर दिएको यो गीतमा दशैँको उत्साह उमंगसँगै आर्थिक व्ययभार थपिने यथार्थलाई समेटिएको छ । आयस्रोत कमजोर भएका मानिसहरूका लागि दशैँ दशा बनेर आउने यथार्थलाई यो गीतमा उतारिएको छ।
धानकै बाला
हरेक वर्षको दसैँंमा गुञ्जने गीतमा ‘धानकै बाला’ पनि एक हो । सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको यो गीतले राष्ट्रसेवक कर्मचारीको पीडा झल्काउँछ । जयनन्द लामाको शब्द, सङ्गीत र स्वर रहेको यो गीतमा कोरस गायनमा बलराम कार्की, सरिता लामा र बाबा बस्नेतले साथ दिएका छन् । यो गीत राष्ट्रसेवक कर्मचारी र तिनका परिवारमाझ विशेष लोकप्रिय छ ।
- फौजीलाई कुन दसैँ
सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको यो गीत पनि हरेक वर्षको दसैँमा अत्यधिक गुन्जिने गीतको सूचीमा पर्छ । दीपक कोइरालाको शब्द, गैरे सुरेशको सङ्गीत तथा जगदीश समालको स्वर रहेको गीत राष्ट्रसेवक कर्मचारीप्रति समर्पित छ । गीतले दसैँमा घर जान नपाएको एक फौजीको पीडा व्यक्त गरेको छ । यो गीत सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको हो ।
यसपालिको दसैँमा ठुल्दाइ
गायक बादल प्रसाईंको स्वर रहेको यो गीत विशेष गरेर हरेक दसैँमा युवा पुस्ताले रुचाउने गरेका छन् । कामको सिलसिलामा घरबाट टाढा रहेका दाजु घरमा फर्किँदा ल्याउने सामान र उत्साह गीतमा व्यक्त गरिएको छ । कुल पोखरेलको शब्द, सङ्गीत रहेको गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका हुन् ।