No Image Headlineकला/साहित्यदेश

सांस्कृतिक परिवर्तनको बढ्दो प्रभाव, किन बदलिँदै छ तिहारको मौलिक परम्परा ?

नेपालमा मनाइने दोस्रो ठूलो चाड तिहारको परम्परा र मौलिकता बिस्तारै फेरिँदै गएको र यसको सांस्कृतिक पक्षमा कमजोरी देखिन थालेको संस्कृतिविद्हरूको ठहर छ। यो पर्वमा लक्ष्मीपूजा, देउसी-भैलो, काग, कुकुर र गाई तिहारजस्ता नेपाली मौलिक परम्परा रहेको भए पनि हाल यी परम्पराहरूमा वैदेशिक प्रभाव, मुख्यतः भारतीय र व्यापारिक प्रभावको मिश्रण देखा परेको उनीहरूको भनाइ छ।

Patanjali Nepal
SweetMart Nepal

धनतेरसको प्रभाव र भारतीय शैली
संस्कृतिविद्‌हरूका अनुसार, त्रयोदशीका दिन धनतेरसको अवधारणाले नेपाली तिहारमा प्रभाव पारेको छ। नेपालमा त्रयोदशीलाई आयुर्वेदका महर्षि धन्वन्तरिको जयन्तीका रूपमा मनाउने परम्परा थियो। पौराणिक कथामा धन्वन्तरिले समुद्र मन्थनका क्रममा अमृत कलश लिएर प्रकट भएको वर्णन पाइन्छ, जसलाई शुभ मानेर नयाँ भाँडा, गरगहना, सुन तथा चाँदी किनेर लक्ष्मीपूजाको तयारी गरिन्थ्यो। तर अहिले यसलाई भारतीय शैलीमा ‘धनतेरस’ को रूपमा व्यापक रूपमा प्रचार गरिएको छ। नेपाल राष्ट्र बैंकले पनि यो दिनलाई विशेष मानेर सुनचाँदीका सिक्का बिक्री गर्ने र यसलाई थप व्यापारिक आकर्षण बनाउने चलन सुरु गरेको छ।

संस्कृतिविद् पद्मा पौड्यालका अनुसार, “धनतेरसले गर्दा नेपाली परम्परामा विदेशी प्रभाव परेको छ। पहिले नेपालमा यसबारे त्यति प्रचार हुन्थेन, तर अहिले व्यापारिक कारणले यसलाई धेरै प्रचार गरिएको देखिन्छ।’’ यो प्रवृत्ति नेपालमा भारतीय सञ्चारमाध्यम र चलचित्रको प्रभावका कारण प्रवेश गरेको ठानिन्छ। यसले गर्दा परम्परागत रूपले धन्वन्तरि जयन्तीको रूपले मनाइँदै आएको दिनलाई भारतीय नाम र शैलीमा बदल्न खोजिएको देखिन्छ। संस्कृतिविद् भट्टराईका अनुसार, “धनतेरसलाई नेपाली परम्परामा कहिल्यै यसरी महत्त्व दिइएको थिएन, तर अहिले यो व्यापारिक दृष्टिकोणबाट बढी प्रचारित भएको छ।”

देउसी-भैलोको हराउँदै गएको परम्परा
तिहारको अर्को विशेषता देउसी-भैलो खेल्ने परम्परा हो। गाउँ-गाउँमा युवा, बालबालिका र वृद्धहरू समूहमा घरदैलोमा गएर देउसी-भैलो खेल्ने र मिष्ठान्न खाने चलन थियो। तर अहिले यस परम्परामा पनि कमी आएको संस्कृतिविद्हरूले बताएका छन्। देउसी-भैलो खेल्ने पुरानो संस्कृति हराउँदै गएको र सहरमा यसलाई कम मात्रामा निभाइने गरिएको छ।

संस्कृतिविद् पौड्याल भन्छिन्, “पहिले जस्तो मौलिकतासँग देउसीभैलो खेल्ने चलन कम भएको छ। गाउँ-गाउँमा नै देउसी-भैलो समूहको परम्परा अहिले देखिँदैन। अहिलेको देउसी-भैलो व्यापारिक रूपमा एक कार्यक्रम बनाइएको जस्तो लाग्छ।”

मौलिकता हराउँदै जाने खतरा
संस्कृतिविद् श्रीकृष्ण अधिकारीका अनुसार, अन्य परम्परामा मात्र होइन, तिहारमा पनि व्यवसायिकता हावी भएको छ। पहिलाको तुलनामा बजारमा तिहारका लागि विशेष गरेर गरगहना, आभूषण, भाँडा, र सजावटका सामग्रीहरूको प्रचार प्रसार अधिक मात्रामा हुने गरेको छ। “तिहारमा पहिले श्रद्धा, भक्तिभाव र सांस्कृतिक पक्षमा जोड दिइन्थ्यो, तर अहिले आर्थिक पक्ष र व्यापारिक गतिविधिहरूमा बढी महत्व दिइन थालेको छ। यसले हाम्रो मौलिकता कमजोर बनाउन सक्छ,” अधिकारीले भने।

डिजिटल विस्तार र वैदेशिक प्रभावको मिश्रण
प्रविधिको प्रयोग बढेसँगै नेपाली मौलिक चाडपर्वहरू अब डिजिटल माध्यमबाट पनि अन्य देशमा फैलिन थालेको छ। यसमा समाजिक सञ्जाल, नेपाली समुदायहरूको अन्तर्राष्ट्रिय संलग्नता, चलचित्र, र सञ्चार माध्यमको ठूलो भूमिका रहेको छ। पौड्याल भन्छिन्, “अहिले प्रविधिका माध्यमबाट नेपाली परम्परा र संस्कृतिको प्रचार धेरै भइरहेको छ, जसले कतिपय परम्पराहरूलाई अन्य देशमा पनि पुर्‍याएको छ। तर यसको उल्टो असर पनि छ, जसमा अन्य देशका परम्पराहरू हामीकहाँ पनि मिसिएर आइरहेका छन्।”

मौलिकता बचाउन आग्रह
संस्कृतिविद्‌हरूका अनुसार, तिहारको मौलिकता र परम्परालाई बचाउन आवश्यक छ। यदि यो व्यवसायिकता र वैदेशिक प्रभावले नै अतिक्रमण गर्ने हो भने, नेपालको सांस्कृतिक धरोहर र विशेषता बिस्तारै हराउँदै जाने खतरा बढ्दो छ। नेपाली संस्कृति र पर्वहरूको मौलिकता जोगाउनका लागि यो पर्वलाई मौलिकतासँगै जोडेर मनाउन सबैलाई आग्रह गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button