
नेपाली काङ्ग्रेस पर्साका एक नेता चन्द्रकिशोर चौधरीकी छोरीको जन्मदिन विद्यालयको पठनपाठन प्रभावित हुने गरी मनाएको भन्दै आलोचना भएको छ ।
उनीकी छोरी डा प्रीति चौधरीको जन्मदिनको अवसरमा आइतवार पटेर्वासुगौली गाउँपालिकास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा वृक्षारोपण गरिएको थियो । चौधरी २०७४ को चुनावमा पर्सा ३ क बाट प्रदेशसभा निर्वाचनमा पराजित नेता हुन् ।
विद्यालय सञ्चालनमा रहेको बखत बिहान ८ बजे राजनीतिक दलका नेताहरू, स्थानीय सुरक्षाकर्मीहरूलगायत स्थानीयहरू वृक्षारोपण गर्न गरिएको र एक घण्टाभन्दा बढी समय विद्यालयको पठनपाठन ठप्प बनाएको आरोप एक पक्षले लगाएको छ ।
वृक्षारोपणपछि विद्यालयमा कार्यक्रम आयोजना गरिएको र विद्यार्थी, शिक्षकहरूले पुष्पवर्षा गरेर जन्मदिनको बधाई दिएको वडाध्यक्ष विजय गैरेले बताए ।
त्यसक्रममा विद्यालयको पठनपाठन प्रभावित भएको उनको भनाइ छ । वृक्षारोपणपछि विद्यार्थी र शिक्षकहरूललाई पुष्पवर्षा गरी जन्मदिनको शुभकामना दिन लगाइएको थियो । त्यो बेला विद्यालयमै भाषणबाजीसमेत भएको बताइएको छ ।
तर,आयोजकले विद्यालयमा वृक्षारोपण मात्र गरिएको र अरु कार्यक्रम चौधरीको घरमा गरिएको दाबी गरेका छन् । गापाध्यक्ष दिनेश चौधरीले आफू कार्यक्रममा नरहेको र फेसबूकमा हेरेको बताए ।


