अन्तराष्ट्रिययस्तो पनि

इलोन मस्कको विवादास्पद अभियान: अमेरिकी मतदातालाई प्रत्येक दिन १० लाख डलर !

संयुक्त राज्य अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचनमा निर्णायक मानिएका राज्यका मतदातालाई १० लाख अमेरिकी डलर दिने घोषणा गर्दै, इलोन मस्कले ठूलो विवाद सिर्जना गरेका छन्। निर्वाचनको समयमा मतदातालाई नगद पुरस्कार दिने यो योजना कानुनी हो कि गैरकानुनी?

अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपतीय निर्वाचनको तयारीले तीव्रता पाउँदै गर्दा, चर्चित अर्बपति व्यापारी इलोन मस्कले एउटा विवादास्पद अभियान घोषणा गरेका छन्। मस्कले आफ्नो ‘अमेरिका पीएसी’ नामक राजनीतिक अभियानमार्फत राष्ट्रपतीय उम्मेदवार डोनल्ड ट्रम्पको पक्षमा समर्थन जुटाउनको लागि स्विङ राज्यका मतदाताहरूलाई प्रत्येक दिन नगद पुरस्कार दिन थालेका छन्। यो अभियानको उद्देश्य निर्वाचनमा निर्णायक ठानिएका राज्यहरूमा ट्रम्पको समर्थन बढाउनु हो, तर यो योजना कानुनी रूपमा वैध छ कि छैन भनेर ठूलो बहस भइरहेको छ।

मस्कको योजना: १० लाख डलर दिने घोषणा
मस्कले आफ्नो अभियानका लागि स्विङ राज्यका सात प्रमुख राज्यहरूमा (जोर्जा, नभाडा, एरिजोना, मिशिगन, नोर्थ क्यारोलाइना, पेन्सिल्भेनिया, र विस्कन्सिन) रहेका मतदाताहरूलाई हस्ताक्षर संकलन अभियानमा सहभागी हुन आह्वान गरेका छन्। जसले ‘अभिव्यक्ति स्वतन्त्रता र हातहतियार बोक्न पाउने अधिकार’लाई समर्थन गर्ने एउटा प्रस्तावमा हस्ताक्षर गर्छन्, उनीहरूलाई पुरस्कार स्वरूप नगद दिन मस्कले घोषणा गरेका छन्।

यो योजनाअन्तर्गत, हस्ताक्षर गर्ने हरेक दिनका एक जना भाग्यशाली मतदाताले १० लाख डलर प्राप्त गर्नेछन्, जुन मतदान हुने दिनसम्म जारी रहनेछ। यो अभियान अक्टोबर १९ बाट सुरु भएको थियो, जसमा पहिलो विजेता पेन्सिल्भेनियाकी एक महिला थिइन्। यो पुरस्कार वितरणको कुल रकम १३ करोड रुपैयाँभन्दा बढी हुनेछ।

सिफारिस गर्नेले पनि पाउनेछन् नगद
मात्र हस्ताक्षर गर्नेले मात्र होइन, हस्ताक्षर गराउन सिफारिस गर्ने मतदातालाई पनि नगद दिने योजना छ। अर्का मतदातालाई हस्ताक्षर गराउन सिफारिस गर्ने व्यक्तिले ४७ अमेरिकी डलर (६,००० नेपाली रुपैयाँभन्दा बढी) पाउनेछन्। पेन्सिल्भेनियामा भने, यो रकम १०० डलरसम्म हुन सक्छ। यो राज्य राष्ट्रपति निर्वाचनका लागि निर्णायक मानिएको छ, जसमा अहिले कमला ह्यारिस र डोनल्ड ट्रम्प दुवैले आफ्नो ध्यान केन्द्रित गरेका छन्।

यो कदम वैध कि अवैध?
मस्कको यो अभियानले कानुनी रूपमा ठूलो विवाद जन्माएको छ। केही कानुनविद्हरूले यसलाई अवैध मानिरहेका छन् भने अन्यले यो कानुनी छिद्रको फाइदा उठाउँदै गरिएको तर्क गरेका छन्।

जर्ज वाशिङ्टन यूनिभर्सिटीका कानुन प्राध्यापक पोल शिफ बर्मनले मस्कको यो योजना अमेरिकी निर्वाचन कानुनको उल्लङ्घन गर्ने बताउँछन्। उनका अनुसार अमेरिकामा मतदातालाई पैसा दिने, चाहे दर्ता हुन वा मतदान गर्न, गैरकानुनी मानिन्छ। त्यस्तो अवस्थामा १०,००० अमेरिकी डलरसम्म जरिवाना वा पाँच वर्षसम्म कैद सजाय हुनसक्छ। बर्मनले मस्कको योजना पनि यसै कानुनको उल्लङ्घनमा पर्ने बताउँछन्, किनकि मस्कले पैसा दिने घोषणा मतदाताको रूपमा दर्ता भएका व्यक्तिहरूलाई मात्र लक्षित गरेर गरेका छन्।

तर सङ्घीय निर्वाचन आयोगका पूर्व प्रमुख ब्र्याड स्मिथ भने यो विषयलाई कानुनी अस्पष्टता रहेको बताउँछन्। स्मिथका अनुसार मस्कले कसैलाई प्रत्यक्ष रूपमा मतदान गर्न पैसा दिएका छैनन्, बरु हस्ताक्षरको लागि नगद दिने घोषणा गरेका छन्। तसर्थ, यसलाई कानुनी रूपमा ठिकै मान्न सकिने ठाउँ छ।

नोर्थवेस्टर्न यूनिभर्सिटीका निर्वाचन कानुन विशेषज्ञ माइकल काङले भने यस विषयलाई गम्भीरता साथ हेर्नुपर्ने बताउँछन्। उनका अनुसार मस्कको यो अभियानले मतदातालाई मतदान गर्न उत्प्रेरित गर्नका लागि प्रलोभन देखाउने सम्भावना प्रस्टै छ, जसले कानुनी चुनौती उत्पन्न गर्न सक्छ।

 राजनीतिक प्रतिक्रिया र मस्कको बचाउ
डेमोक्र्याटिक पार्टीका नेताहरूले मस्कको कदमको आलोचना गरेका छन्। पेन्सिल्भेनियाका गभर्नर जोश शपीरोले यो कदमलाई “निकै चिन्ताजनक” मानेका छन् र यसबारे छानबिन हुनुपर्ने माग गरेका छन्। शपीरोको भनाइमा मस्कले पैसा वितरण गरेर निर्वाचनलाई प्रभाव पार्ने प्रयास गरेका छन्।

मस्कले भने यसलाई प्रतिक्रिया दिँदै शपीरोको टिप्पणी नै “चिन्ताजनक” भएको बताएका छन्। साथै उनले यो कुनै नयाँ कदम नभएको र यसअघि सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका दाताहरूले पनि यस्तै कदम चालेको आरोप लगाएका छन्। मस्कले सन् २०२० मा मेटा (फेसबुक) का मालिक मार्क जकरबर्गले ४० करोड डलर खर्च गरेको कुरा उल्लेख गरेका छन्।

मस्कको ट्रम्पसँग सम्बन्ध
मस्क पहिला डेमोक्र्याटिक पार्टीका समर्थक थिए। तर सन् २०२२ को मध्यावधि निर्वाचनअघिदेखि उनले डेमोक्र्याटिक पार्टीलाई परित्याग गर्दै रिपब्लिकन पार्टीलाई समर्थन गर्न थालेका हुन्। अहिले उनी ट्रम्पको पक्षमा मात्र होइन, सामाजिक सञ्जालमार्फत् रिपब्लिकन उम्मेदवारहरूको पक्षमा प्रचार पनि गर्दै आएका छन्।

इलोन मस्कको यो कदमले अमेरिकी निर्वाचन प्रणालीमा ठूलो विवाद र कानुनी बहसको विषय उत्पन्न गरेको छ। मतदातालाई नगद पुरस्कार दिने यो योजना अमेरिकी कानुनसँग मेल खाने कि नखाने अझै स्पष्ट छैन। तर यो कदमले मस्कलाई अमेरिकी राजनीतिमा थप केन्द्रबिन्दु बनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button