ट्राफिक नियम उल्लङ्घनमा नयाँ युग: अब लाइसन्स जफत हुँदैन, डिजिटल चिट लागू
ट्राफिक नियम उल्लङ्घन गर्दा अब सवारीचालकहरूले झन्झटिलो प्रक्रिया बेहोर्नु पर्ने छैन। ट्राफिक प्रहरीले अब लाइसन्स जफत नगरी डिजिटल चिट जारी गर्ने र जरिबाना पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरेको छ।
नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन अभिलेख प्रणाली थपिएपछि अब ट्राफिक प्रहरीले चालकको अनुमतिपत्र क्यूआर कोड स्क्यान गरी हेर्ने र कारबाही प्रक्रिया अद्यावधिक गर्ने प्रणाली सुरु भएको छ। सवारीचालकहरूले अब एपमा जरिबानाको सूचना पाउने र डिजिटल वालेटबाटै जरिबाना तिर्न सक्ने छन्।
कागजपत्रको झन्झट अन्त्य
अब सवारीचालकहरूले कागजपत्र बोक्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। ट्राफिक प्रहरीले कागजी चिट काट्ने पुरानो पद्धति हटाएर डिजिटल चिट जारी गर्न थालेको छ। यसरी काटिएको चिटको जरिबाना एपमार्फत भुक्तानी गर्न सकिनेछ।
ट्राफिक नियम उल्लङ्घन गर्ने र जरिबाना नतिर्ने सवारीचालकहरूको लाइसन्स नवीकरण अब सम्भव हुनेछैन। जरिबाना चुक्ता नगरेसम्म एपमार्फत निरन्तर सूचना आउनुका साथै लाइसन्स नवीकरण रोक्ने नियम लागू भएको छ।
ट्राफिक सचेतना कक्षा अनलाइनमै
ट्राफिक नियम उल्लङ्घन गरेपछि अनिवार्य सचेतना कक्षा लिनुपर्ने सवारीचालकहरूले अब ट्राफिक प्रहरी कार्यालय जानु पर्ने छैन। छिट्टै यो कक्षा अनलाइनबाटै लिन सकिने व्यवस्था पनि लागू हुँदैछ।
लाइसन्स छपाइ ढिलो हुँदा उत्पन्न समस्यालाई समाधान गर्न नागरिक एपमार्फत लाइसन्सको डिजिटल अभिलेख हेर्न मिल्ने व्यवस्था पनि सुरु गरिएको छ। अब चेकजाँचका लागि छापिएको लाइसन्स नहुँदा पनि नागरिक एपकै क्यूआर कोड पर्याप्त हुनेछ।
नयाँ डिजिटल प्रणालीले ट्राफिक नियम उल्लङ्घनको कारबाहीलाई थप सरल र पारदर्शी बनाउने विश्वास गरिएको छ। क्यूआर कोड स्क्यान गरेर ट्राफिक प्रहरीले सवारी अनुमतिपत्र जाँच गर्ने, जरिबाना काट्ने र भुक्तानीको जानकारी अद्यावधिक गर्ने काम सजिलो र छरितो भएको छ।
यातायात मन्त्रीले सवारीचालक अनुमतिपत्रमा चिपजडित लाइसन्सको आवश्यकता हटाई डिजिटल लाइसन्सलाई मान्यता दिने विषयमा नियमावलीमा संशोधनको तयारी भइरहेको जनाएका छन्।



