आज पापाङ्कुशा एकादशी, मध्य र पूर्वी नेपालमा टीका लगाउने क्रम जारी

आज आश्विन शुक्लपक्षको पापाङ्कुशा एकादशी, मान्यजनहरूबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी नै छ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरी विजयादशमीबाट शुरू भएको टीका र जमरा लगाउने परम्परा आश्विन शुक्ल पूर्णिमासम्म रहिरहन्छ। टाढा रहेका आफन्तजनहरू आशीर्वाद थाप्न घर आउने यही समय हो।
पापाङ्कुशा एकादशीको व्रतका विषयमा शास्त्रीय ग्रन्थहरूले यसलाई पापहारी एकादशीका रूपमा व्याख्या गरेका छन्। ‘पापाङ्कुशेति विख्याता सर्वपापहरा परा’ भन्ने श्लोकमा यस एकादशीले सबै पाप नाश गर्ने उल्लेख गरिएको छ।
विशेषतः लक्ष्मीनारायणको ‘पद्मनाभ’ स्वरूपको पूजा गर्नुपर्ने कुरा शास्त्रमा बर्णित छ। पण्डित बालमुकुन्द देवकोटाका अनुसार, जसले यो एकादशीको व्रत गर्दैन, उसको शरीरमा पापको निवास रहन्छ।
यो एकादशीले स्वर्ग प्राप्ति, मोक्ष, आरोग्यता, धन, अन्न, र सुन्दर जीवनसाथीको वरदान दिने विश्वास गरिन्छ। गङ्गा, गया, काशी, कुरुक्षेत्र र पुष्कर जस्ता प्रसिद्ध तीर्थस्थलहरूले पनि एकादशी व्रतको समानता गर्न सक्दैनन्।
हरिवासरका रूपमा रहेको यो व्रत लिँदा र जागरण गर्दा, भगवान विष्णुको पद प्राप्त गर्न सकिन्छ। व्रत नगर्दा भने पाप रहिरहन्छ र अन्त्यमा नरकमा जानुपर्ने हुन्छ भन्ने धारणा छ।
यस एकादशीको व्रतले मात्र होइन, दानको पनि विशेष महत्व छ। सुन, तिल, भूमि, गौ, अन्न, जल, छाता, र जुत्ता दान गर्दा यमराजको दर्शन नगर्नुपर्ने धार्मिक विश्वास रहेको छ। साथै, यस व्रतले आमापक्ष, बाबुपक्ष र पतिपक्षका दश पिँढीसम्म उद्धार गरी वैकुण्ठवास गराइदिने भनाइ पनि छ।
बाल्यकाल, युवावस्था र वृद्धावस्थामा यस व्रत लिनाले पापी मनुष्यले पनि सद्गति प्राप्त गर्ने विश्वास छ। यस एकादशीको व्रत विधिपूर्वक गर्नाले अन्त्यमा हरिलोक प्राप्त भई समस्त पापबाट मुक्त हुने मान्यता प्रचलित छ।



