हेटौँडा–फाखेल–काठमाडौं सडक आजदेखि खुल्दै, तीन ठाउँमा डाइभर्सन

बाढी र पहिरोले बन्द हेटौंडा–फाखेल–काठमाडौं सडक आइतबारबाट संचालनमा आउने भएको छ । गत ११ र १२ असोजको अविरल वर्षापछि आएको बाढी र पहिरोले विभिन्न स्थानमा क्षति पु¥याएपछि अवरुद्ध रहेको हेटौँडा–फाखेल–काठमाडौं सडक आइतबार दिउँसोबाट सञ्चालनमा आउने भएको हो ।
३ स्थानमा डाइभर्सन गरेर सडक संचालनमा ल्याउने तयारी रहेको प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री अमन कुमार मास्केले जानकारी दिए । उनका अनुसार सो सडक खण्ड अन्तर्गत कुलेखानी ड्याम मुनिको पुल, महालक्ष्मी खोला पुल र महालक्ष्मी खोलाको कटान क्षेत्रमा डाइभर्सन निर्माण गरि सडक संचालनमा ल्याउने तयारी गरिएको हो ।
यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुस्करप्रसाद पोखरेलले फाखेल सडक खण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा रहेकाले आइतबारबाट सडक संचालन आउने बताए ।
‘फाखेल सडक खण्ड भोली दिउँसो १ बजेबाट संचालन गर्ने विषयमा छलफल भएको छ । हामीले तत्काल यातायात संचालनका लागि आवश्यक पुर्वाधारहरु तयार पारेका छौ, उनले भने, अब कुनै ठूलो समस्या नआए भोली आइतबार दिउँसोबाट सवारी साधान निर्वाध संचालन गर्न सकिन्छ ।
निर्देशक पोखरेलले कुलेखानी ड्याम मुनिको पुलको पहँुच मार्ग भत्किएको भन्दा केही तलबाट डाइभर्सन निर्माण गरेको जानकारी दिए । उनले शनिवार रातिसम्ममा डाइभर्सनको काम पूर्णरुपमा सकिने बताए । माहालक्ष्मी खोलाले बगाएको सडकको सबै ठाउँमा आवस्यकता अनुसार मर्मत र अप्ठ्यारो ठाउँहरुमा डाइभर्सन बनाएर बाटो क्लियर गरेको उनको भनाई छ ।
निर्देशक पोखरेलका अनुसार फाखेले सडक भएर शनिवार केहि मोटसाइकलाहरु सञ्चालनमा आएका छन् भने उक्त सडक खण्डमा फसेका सवारी साधानहरु समेत गन्तव्यतर्फ लागेका छन् । यता कुलेखानी सिस्नेरीतर्फको सडक संचालनका लागि भने सोमबारसम्मै कुर्नुपर्ने उनको भनाई छ ।
उक्त सडक खण्डमा बाढीले सडक बगाए ठाउँमा तत्काल बाटो निर्माण गर्न नसकिने भएपछि खोलाको बाटो भएर सवारी साधान संचालनको व्यवस्था मिलाउने काम भइरहेको पोखरेलले जानकारी दिए ।



