हचुवा योजनाको परिणति : श्रीसियाको पानी सडकमा, वीरगञ्जका बासिन्दा सधैं सकसमा
शुक्रबारदेखिको बर्खाले अन्यत्रको तुलनामा कम प्रभावित भए पनि वर्षात्मा डुबानको समस्या वीरगंजका लागि सधैंको सकसको कारण बनेको छ । शनिवार बिहानै वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले आफ्नो फेसबूक वालमा श्रीसिया नदीको पानीको सतह बढेर पानी शहरमा पसेकाले सतर्क रहन नगरका बासिन्दालाई आग्रह गरे ।
वीरगंजको मुख्य बजार आदर्शनगर प्रत्येकजसो वर्षात्को समयमा डुबानमा पर्ने गरेको छ । अनपेक्षित बर्खाका कारण बाढीपहिरो, डुबानका समस्या आउँछन्, यो सामान्य प्राकृतिक कुरा हो । यस्तो अवस्थामा असमान्य क्षति खेप्नुपरिरहको हुन्छ ।
बाढी र पहिरोको भोग्नुपरेका विपद् कतिसम्म प्राकृतिक हुन् ? र, त्यसका मानवीय आचरण कतिसम्म जिम्मेवार छ भन्नेतर्फ बहस भए पनि वस्तुनिष्ठ निकास निकाल्न सकिएको छैन । यस्ता असजहताहरूसँग सामना गर्ने पूर्वतयारी र अझ त्योभन्दा पनि विकासका योजनाहरू बनाउँदा दीर्घकालीन दृष्टिकोणका आधारमा बनाउने हो भने यस्ता समस्या टार्न सकिन्छ ।
भौगोलिक अवस्थिति र स्थानीय आवश्यकतालाई मध्यनजर राख्दै योजना बनाउने हो भने यस्ता विपत्तिको असहजतालाई धेरै हदसम्म कम गर्न सम्भव छ । तर, हचुवा योजनाले निकासको सट्टा विपत्ति र सकसमात्रै थपिन्छ ।
यस्तै एउटा योजनाको उदाहरण बनेको छ, वीरगंजको नाला तथा ढल व्यवस्थापन । हुनत अत्यधिक वर्षाले अन्यत्र पनि ताण्डव मचाइराखेको अवस्थामा वीरगंजमा नदीको बाढी पस्नु सामान्य हो भनेर समस्या सामान्यीकरण गर्न सकिएला । तर, वीरगंजमा नाला र ढल निकासको योजना कार्यान्वयन गर्दा तत्कालीन विज्ञहरूले धरातलीय आवश्यकता सम्बोधन गर्न अलिकति पनि चासो राखिदिएको भए शायद वीरगंजले अहिलेको जति डुबान झेल्नुपर्ने थिएन ।
यसरी वीरगञ्जमा श्रीसियाको बाढी ३५ वर्षअघि छिरेको थियो । त्यसबेला नदीको सतह बढेर आएको त्यतिबेलाका अनुभवीहरु बताउँछन् । तर, एडिबीको ऋणमा महानगरले ढल बनाएपछि श्रीसिया नगरमा प्रायः वर्षेनि पस्ने गरेको छ ।
विगत केही वर्ष यता बर्खाको याममा औसतभन्दा कम पानी परिरहेकोले वीरगंजले डुबानको समस्या झेल्नुु नपरेको मात्रै हो । बर्खामा नदेखिएको वर्षात् असोजको मध्यमा आएपछि मुख्य बजारमा खोला पस्यो, त्यो पनि खोलनमा मिसाइएको ढलको बाटो भएर । यसरी वीरगञ्जमा श्रीसियाको बाढी ३५ वर्षअघि छिरेको थियो । त्यसबेला नदीको सतह बढेर आएको त्यतिबेलाका अनुभवीहरु बताउँछन् । तर, एडिबीको ऋणमा महानगरले ढल बनाएपछि श्रीसिया नगरमा प्रायः वर्षेनि पस्ने गरेको छ ।
स्मरण हुन्छ, वीरगंजमा एशियाली विकास बैंक (एडिबी)को मुख्य लगानीमा मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना अन्तर्गत ढल तथा नाला निर्माण परियोजना सम्पन्न भएपछि शहरले भोग्दै आएको डुबानको समस्याले निकास पाउने दाबी त्यति बेलाको नगर नेतृत्व र महानगरका विज्ञहरूले गरेका थिए । परियोजना पूरा भएकै वर्ष मुख्य बजार डुबानमा परेको थियो । औसतभन्दा कम वर्षा भए बेग्लै कुरा, सामान्य बर्खामैं श्रीसियाको पानी नगर क्षेत्रभित्र नपसेको वर्ष विरलै होला ।
दाताको करोडौं रुपियाँ परामर्श शुल्क लिएर वीरगंजको भूमि टेक्दै नटेकी गुगल नक्शाको सहारामा बनाइदिएको परियोजनाले स्थानीय आवश्यकतालाई सम्बोधन गर्न सक्ने कुरै भएन । वीरगंजको भूबनोट र पानीको बहावको दिशालगायत पक्षमा जानकार कसैले पनि वीरगंजको ढललाई दक्षिण बग्ने बाटोबाट घुमाएर उत्तरतिर सोझ्याउँदैनथ्यो ।
यत्ति कुरा बुझ्न विज्ञ नै हुनुपर्दैन । सामान्य मथिंगलले पनि भेउ पाउन सक्छ कि हाम्रो भुबनोटमा पानीको बहाव उत्तरबाट दक्षिणतर्फ प्रवाह हुन सहज हुन्छ । उत्तरबाट दक्षिणतर्फ ल्याइएको ढलको बहावलाई आदर्शनगर कालीमन्दिरको छेउबाट उत्तर फर्काउँदै ठाकुरराम क्याम्पसको उत्तरतर्फको बाटोबाट श्रीसिया नदीमा पुर्याइएको छ । यो पनि नक्शा संशोधन गरेर काम भएको छ । पुरानो नक्शामा आदर्शनगर क्षेत्रको ढलसमेत छपकैयामैं पुर्याएर पानी प्रशोधन केन्द्रमा मिसाउने डिजाइन थियो ।
तर, नक्शा परिवर्तन गरेर ढलको बहाव नै परिवर्तन गर्दा त्यसको सकस अहिले वीरगंजले भोगिराखेको छ । आज आवश्यक परिमाणमा पानी नपुग्दा प्रशोधन केन्द्र उपयोग गर्न नसकिएको स्थिति छ भने खोलामा फालिएको पानी बहावको बाटो भएर श्रीसियाको सतह केही बढ्नेबित्तिकै नगरक्षेत्र सजिलै जलमग्न हुने गरेको छ ।
अहिले यही ढलको बाटो भएर आदर्शनगरमा श्रीसियाको पानी छिर्ने गरेको छ । उत्तरबाट दक्षिण पानी बगाउनु प्राविधिकरूपमा असम्भव कुरा पक्कै होइन । तर, हाम्रो भूबनोट अनुसार दक्षिणबाट उत्तरतर्फ ढल लैजाँदा स्वाभाविक रूपमा समान्य सतहभन्दा तल लैजानुपर्ने हुन्छ ।
आदर्शनगर क्षेत्रका केही घर भत्काउनुपर्ने भएपछि त्यो नगरेर नालाको बहाब नै फेर्दा अर्बौं रुपियाँको लागतमा योजना कार्यान्वयन भएर पनि समस्याले निकास त पाएन नै, उल्टै नदीको पानी शहरमा पस्ने अवस्था आइलाग्यो । ढल र नाला बनाइएका मुख्य बजार आदर्शनगर, घडिअर्वा, मुर्ली, छपकैया, रानीघाट, माइस्थानलगायत क्षेत्र नै बढी डुबानमा पर्दै आएका छन् । यसले अर्बौं लगानीको औचित्यमा स्वाभाविक प्रश्न उठेको छ ।
नदीको मुखमा ढलको सतह सामान्यभन्दा तल गएपछि श्रीसियामा आएको पानी तुलनात्मकरूपमा चाँडो शहरतिर पस्न थाल्छ । नगरक्षेत्रको ढल श्रीसियातिर बग्नुको सट्टा त्यही ढलबाट श्रीसियाको बाढी नगरतिर पसिरहेको छ । महानगरले यसरी खोलामा ढल मिसाउन हुन्थ्यो कि हुँदैन थियो ? यो बहसको अलग विषय बनिरहेको अवस्थामा तत्कालीन विज्ञहरूको बदनियतले त्यही ढल बर्सेनि श्रीसियाको पानी शहर पस्ने बाटो बन्नु अर्को विडम्बना हो भन्नेमा किन्तुपरन्तुको खाँचो छैन ।
वीरगंज तीव्र कङ्क्रिटीकरणमा अघि बढेको छ । घरघरबाट निस्केको पानी जमीनमुनि होइन, सीधैं खोलामा पुगिराखेको छ । यसले पनि सन्तुलन बिगार्ने काम गरिराखेको छ । भौतिक संरचना निर्माणमा मापदण्ड कार्यान्वयनमा ल्याइनुपर्छ । श्रीसिया नदी अतिक्रमणमा परेको छ । अतिक्रमणले नदीको बहाव साँघुरिनु पनि समस्याको कारक हो ।
ढल निकासका लागि ठूलो स्रोतको खाँचो छ । शुरूमैं ढल निकासका लागि नौ अर्ब रुपियाँ चाहिने अनुमान गरिएको थियो । अहिले महानगरको क्षेत्र विस्तार भएकोले यो आकार अझ बढी हुन सक्दछ । अध्ययनहरूले अति कम विकसित देशमा बनाइने पूर्वाधारसमेत विपत्तिका कारण बन्ने गरेको देखाएका छन् ।
कम स्रोतमा धेरै काम गर्नुपर्ने बाध्यताका कारण यस्ता योजनाका न्यून गुणस्तर र त्यसमाथि भ्रष्टाचार यी दुर्घटनाको कारण बन्दै आएका विभिन्न घटनाले प्रमाणित गरेकै छन् । सत्ता सञ्चालकहरू यसमा आवश्यकताजति गम्भीर नभएको भान हुन थालेको छ । शुरू डिजाइनमा वर्षाको पानी बगाउन सडक दायाँबायाँ ईंटाको नाला र ढलका लागि ह्युमपाइप राख्ने डिजाइन थियो । पछि भौगर्भिक अवस्था र भौतिक संरचनालाई कारण देखाएर सडकको बीचमा आरसिसी नाला बनाइयो ।
दायाँबायाँ नाला र बीचको ह्युमपाइपबाट बग्ने पानीभन्दा एउटा ढलबाट पानी कम बग्छ । त्यतिबेला दुई वर्षको औसत वर्षालाई आधार मानेर डिजाइन बनेको भनिएको थियो । तर, बढ्दो पर्यावरणीय असर र यसका कारण बदलिएको मौसमी चक्रलाई ध्यान नदिनु विज्ञहरूको कमजोरी हो कि बदनियत ? यो प्रश्न सोचनीय मात्र होइन, छानबीनको विषय बन्नुपर्ने हो ।
दाताहरूका आआफ्नै रुचि हुन्छन् । तर, ऋण लिएर पूर्वाधार कस्तो बनाउने र त्यसलाई बढीभन्दा बढी उपयोगी कसरी बनाउने भन्ने कुरामा स्पष्ट हुनुपर्ने हाम्रो दायित्व हो कि होइन ?