उपहार लिएको अभियोगमा सिङ्गापुरका पूर्वमन्त्री दोषी !
सिङ्गापुरमा एक पूर्वमन्त्री पदमा बहाल हुँदा अवैध रूपमा विभिन्न उपहार लिएको अभियोगमा दोषी ठहर भएका छन्। उनले एउटा स्थानीय अदालतसमक्ष आफ्नो अपराध स्वीकार गरेका थिए।
सुब्रमण्यम ईश्वरनविरुद्ध सुरुमा भ्रष्टाचारको अभियोग लगाइएको थियो। मङ्गलवार उक्त मुद्दाको सुनुवाइ सुनुवाइ प्रारम्भ हुने ठानिएको थियो। तर सरकारी वकिलहरूले उनीविरुद्ध लगाएका अभियोगमा संशोधन गरेका थिए।
सिङ्गापुरमा भ्रष्टाचारको मामिलामा सरकारी अधिकारीविरुद्ध मुद्दा पर्नु दुर्लभ घटना हो। ईश्वरनको मुद्दाले सिङ्गापुरमा निकै ठूलो चर्चा पायो।
विश्वभरिकै एउटा वित्तीय केन्द्रका रूपमा स्थापित उक्त देशले भ्रष्टाचारको मामिलामा आफ्नो छवि निकै स्वच्छ रहेको देखाउँदै आएको छ।
अब ईश्वरनले आफूले लिएको प्रत्येक उपहार वा फाइदाका लागि जरिबाना वा दुई वर्षसम्मको जेल सजाय पाउन सक्छन्। भ्रष्टाचारको मुद्दा चलेर दोषी ठहर भएको भए चाहिँ उनलाई एक लाख सिङ्गापुर डलरसम्म जरिवाना वा सात वर्षसम्म जेल सजाय हुन सक्थ्यो।
ईश्वरन सिङ्गापुरमा विगत ५० वर्षमा अदालतमा मुद्दा खेप्ने सार्वजनिक पदधारण गरेका तथा राजनीतिक पृष्ठभूमि भएका प्रथम व्यक्ति हुन्। उनलाई सिङ्गापुरमा पहिलो पटक फर्मूला वन ग्र्यान्ड प्रिक्स आयोजना गर्ने व्यक्तिको रूपमा समेत चिनिन्छ।
उक्त प्रतियोगिताको पछिल्लो संस्करण उनलाई अदालतमा उपस्थित गराइनु केही दिनअघि मात्र सम्पन्न भएको थियो।