देशमुख्य खबरस्वास्थ्य/जिवनशैली

डेंगु संक्रमित ११ हजार पुगे, दशैंमा संक्रमणको उच्च जोखिम

काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ ।

Patanjali Nepal
SweetMart Nepal

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ ।

डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ । यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले अझै २०/२२ दिन डेंगुको जोखिम कायमै रहने हुँदा सचेत रहन आग्रह गर्नुभयो । उहाँ भन्नुहुन्छ,अबको २०/२२ दिनसम्म डेंगुको जोखिम कायमै रहन्छ, त्यसपछि बिस्तारै यसको जोखिम कम हुँदै जानेछ । त्यसैले यो समयमा सचेत रहन सबैलाई आग्रह छ ।

सङ्क्रमण बढ्दै

पछिल्लो समय काठमाडौं उपत्यकामा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । कीटजन्य शाखाका प्रमुख डा दाहालले सङ्ख्यात्मक हिसाबले काठमाडौं उपत्यकामा पनि डेंगु सङ्क्रमण क्रमिक रुपमा बढ्दै गएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ,बिरामी सामान्य उपचार गराउन पनि काठमाडौं आउने भएकाले होला पछिल्लो समय उपत्यकामा डेंगु सङ्क्रमितको सङ्ख्या बढेको छ । पछिल्ला केही हप्तादेखि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनले पछिल्लो केही हप्तादेखि अस्पतालमा डेंगु सङक्रमण भएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो ।

दुई तीन दिनमा नै डेंगुका दर्जनौ बिरामी थपिएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ,डेंगु सङ्क्रमण भएर अस्पतालमा आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ । दुई दिनमा नै दर्जनौं बिरामी थपिएका छन् । डेढ हप्तामा १४० भन्दा बढी डेंगु भएर बिरामी आएका छन् ।

उहाँका अनुसार अस्पतालको इमर्जेन्सीमा बिरामी तारन्तार वान्ता भई, शरीर सहनै नसक्ने गरी दुखेर, बेहोस भएर आउने र परीक्षण गर्दा डेंगु पुष्टि हुने गरेको छ ।

डा पुन भन्नुहुन्छ, डेंगुका बिरामीको भर्नादर धेरै नभए पनि,जोर्नी दुखेर, शरीर धेरै दुखेर बिरामी आउने गर्दछन् । रगत परीक्षण गर्दा डेंगु पुष्टि हुने क्रम बढ्दो छ । धेरै सङ्क्रमित अस्पतालसम्म नपुगेको हुनसक्ने उहाँको तर्क छ ।

यही तरिकाले डेंगु बढ्दै गएमा दशैंमा डेंगु भयावह हुन सक्ने उहाँको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन उहाँको सुझाव छ । दशैँको बेलामा लामखुट्टेको टोकाइबाट बच्न सकेमा डेंगुको जोखिम नबढ्ने डा।दाहाल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ,लगभग सबै जिल्लामा डेंगु पुष्टि भइसकेको छ । दशैँमा सबै एकै ठाउँमा भेला भएको बेलामा लामखुट्टेको टोकाइबाट बच्न सावधानी अपनाउनुपर्छ ।

डेंगु कस्तो रोग हो ?

डेंगु रोग डेंगी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनले बताउनुभयो । उहाँ भन्नुहुन्छ,डेंगु दिनमा सक्रिय हुने कालो सेतो छिरबिरे रङको देखिने लामखुट्टेको टोकाइबाट हुने गर्छ । एडिस जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छन । सङ्क्रमण भएको चारदेखि १० दिनसम्माम सामान्यतया डेंगुका लक्षण देखिन्छन् ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी र मांसपेशीहरु दुख्ने, शरीरमा राता बिमिरा आउने, आँखाको गेडी दुख्ने वाकवाकी लाग्ने डेंगुका प्रमुख लक्षण हुन् । डेंगुले दोस्रो पटक तर फरक सेरोटाइपले पुनः सङ्क्रमित गराए विगतको भन्दा थप घातक लक्षण देखिने डा पुन बताउनुहुन्छ ।

डेंगुबाट बच्ने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट बच्ने हो । डेंगु सङ्क्रमण भएपछि चिकित्सकको सल्लाह बिना कुनै पनि औषधीको सेवन नगर्ने डा।पुनको सुझाव छ । बिरामीलाई असाध्यै जोर्नीमा अत्यन्त दुःखाइ भएमा, तारन्तार वान्त भएमा, आलस्य धेरै भएमा गम्भीर स्वास्थ्य समस्या निम्तिने हुँदा तुरुन्तै अस्पतालमा जान डा। पुनको सुझाव छ ।

घरमानै बसेर उपचार गर्दा चिकित्सकको सल्लाह बमोजिम जीउ दुख्न कम गर्नको लागी प्यारासिटामोल खान डा।पुनको सुझाव छ । बिरामीले झोलिलो खानेकुरा प्रसस्थमा खान उहाँको आग्रह छ । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन,सुत्दा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button