पारालिम्पिक्समा सहभागी खेलाडीलाई सम्मान गर्दै एनसेल

पेरिस पारालिम्पिक्स २०२४ मा ऐतिहासिक जीत दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । पलेशाको ऐतिहासिक जीतको सम्मानस्वरूप एनसेलले उनलाई १० लाख रुपैयाँ दिने भएको हो ।
पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरू तथा प्रशिक्षकहरूलाई पनि एनसेलले थप १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ । एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरूप यो सम्मानको घोषणा गरेको हो ।
एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईँकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ ।
पलेशा र देशको यो सफलताबाट उत्साहित बनेका एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “पलेशाको ऐतिहासिक उपलब्धी राष्ट्रिय गौरव हो । यो जीत नेपालको र सम्पूर्ण पारा खेलाडीहरूको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा हो । एनपीसीसँगको सहकार्यमा पलेशा जस्ता च्याम्पियन र हाम्रा राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै हामी एक बलियो साथ दिन प्रतिबद्ध छौँ ।”
एनसेलले गत वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८औँ वार्षिकोत्सवका अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो । यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीहरूकोे समग्र तालिम, विकास तथा प्रशिक्षणका लागि सहयोग गर्दै आएको छ ।



