नेताहरुप्रति युवाको आक्रोश,बंगलादेशको बाछिटा परेको हो ?

मुलुकलाई बनाउने र बिगार्ने प्रमुख भूमिका राजनीतिक दलकै हो । राजनीतिक दल र सत्ता सञ्चालकले आमजनतामा अपनत्व लिन सक्ने गरी राम्रा र प्रभावकारी कार्यहरू गर्नुपर्छ । तर त्यो अनुभूति आमनागरिक र देशको भविष्य मानिएका युवाहरूले गर्न पाएका छैनन् । फलस्वरूप राजनीतिक दल र तिनका नेताको कारण आमनागरिकमा चरम वितृष्णा बढ्दो छ ।
यसलाई बल पुर्यायो काठमाडौंको टुँडिखेलमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा भएको नाराबाजीले । सोमबार सुदूरपश्चिमेलीहरूको मौलिक एवं सांस्कृतिक पर्व गौरा पर्वका अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू, नेकपा एमालेका नेता भीम रावललगायत सहभागी थिए ।
सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बोल्दाबोल्दै युवाहरूले नाराबाजी र होहल्ला गरे । समय अभाव भन्दै प्रधानमन्त्री ओली बोल्दै गर्दा युवाहरूले नाराबाजी र होहल्ला गरेका हुन् । ओलीले नेपाली समाज बहु सांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका थिए ।
आफू विरुद्ध नाराबाजी भएपछि ओलीले नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नहुँदा दुःख लागेको बताएका थिए । यस्तै कार्यक्रममा कांग्रेस सभापति शेर बहादुर देउवा बोल्ने समयमा पनि युवाहरूको नाराबाजी गरे ।
सभापति देउवा बोल्दै गर्दा होहल्ला र नाराबाजी भएपछि उनी आक्रोशित भएका थिए । नाराबाजी नरोकिएपछि देउवाले भने, लाज पनि छैन । अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू, यही हो नेपालको संस्कृति ? यही हो नेपालको चलन ? यही सिकेर आएको ? बदमासहरू ।’ पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कार्यक्रममा गौरा पर्व सुदूरपश्चिम र कर्णालीको संस्कृति भएको तर्क गरे ।
तीन युवक प्रहरी नियन्त्रणमा
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवा सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले मंगलबार अछामका राम बहादुर बुढा र सुर्खेतका गोपीराम जैसी तथा बुधवार कञ्चनपुरका दीपक सिंह ठगुन्नालाई पक्राउ गरेको हो । संस्कृति तथा सार्वजनिक शान्ति बिथोल्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा विरोध भाषण गरेकै भरमा युवाहरूलाई नियन्त्रणमा लिइएको भन्दै आपत्ति जनाएको छ । युवाहरूले गरेको विरोध भाषणलाई अराजकता शैली जस्ता अनेक बाहाना लगाएर युवाहरूलाई हिरासतमा राखिनु गलत भएको सांसद हरि ढकालको भनाई छ ।
युवाहरूले गरेको विरोध भाषण राज्यले सुन्न सक्ने धैर्यता राख्नुपर्ने उनले बताए । सरकाले भिडिओ फुटेजहरू स्क्रिनिङ गरी गरी युवाहरूलाई हिरासतमा राखेको छ, यो बिलकुल गलत भएको छ, उनले भने, विरोधका बोलीहरू त्यो पनि युवाले राखेको, राज्यले सुन्न सक्ने धैर्यता राख्नुपर्छ ।
उनले स्वदेशमा अवसर, रोजगारीबाट वञ्चित बनाइएका युवाहरूले सिंहदरबारभित्रका बेमानहरूलाई खबरदारी गर्दै गर्दै गर्दा समात्न नपाउने भन्दै तत्काल रिहाइको माग गरे । विभिन्न जिल्लामा स्ट्याटस लेखेकै भरमा युवाहरूलाई समातेको समाचार आइरहेको बताउँदै सांसद ढकालले भने, कमिलाको उड्ने बेलामा प्वाँख पलाउँछ । यो कमिलाको उड्ने बेलामा प्वाँख पलाको जस्तो नहोस्,हामी पनि यस विषयमा संवेदनशील छौँ,तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाँख पलाए जस्तै हुन्छ’ उनले युवाहरूलाई त्रसित नबनाउन आग्रह गरे ।
के भन्छन् राजनीतिक विश्लेषक ?
राजनीतिक विश्लेषक डा राजेन्द्र चापागाईँले नीति भन्दा नेता प्रधान हुँदा देशमा अराजक गतिविधि बढिरहेको बताएका छन् । नीति भन्दा नेता प्रधान हुँदा हरेक क्षेत्रमा अराजकता निम्तिएको उनी बताउँछन् ।
राज्यले आफ्नो नियन्त्रण गुमाउँदै गएको उनले बताए । पात्र र प्रवृत्ति नफेरिँदा नेताहरूमाथि युवाले आक्रोश पोखिरहेको उनले बताए । नेतृत्वले राम्रो काम गर्न नसक्दा युवाहरूमा असन्तुष्टि बढेको हो, उनले भने, पछिल्लो समय दक्षिण एसियामा भएका राजनीतिक उथलपुथलको बाछिटा पनि नेपालमा परेको जस्तो मलाई लाग्छ ।
देश सिस्टममा नचलेका कारण अराजक किसिमका घटनाहरू भइरहेका उनले बताए । राज्यसत्ता सिस्टममा गए अराजक गतिविधिहरू कम हुँदै जाने पनि उनले बताए । युवाहरूमा इतिहासको भोगाई नभएको बताउँदै युवाहरूले पनि इतिहासलाई अवमूल्यन गर्न नहुनेमा उनले जोड दिए । उनले राज्यका नियामक निकाय कमजोर बन्दा समस्या निम्तिरहेकोतर्फ संकेत गरे । यही अवस्था रहे थप अराजकता बढ्ने उनले जिकिर छ ।



