
डोल्पाको छल रातामाटा गाउँनजिकै बुकी पाइने पाटनहरू छन्। गाउँमा अन्यत्र जस्तो घाँस र चरनको अभाव छैन, गाईभैँसीका लागि प्रशस्त घाँस र चरन क्षेत्र पनि छ।
तर लोभलाग्दो बुकी पाइने चरन क्षेत्र र प्रशस्त घाँस भए पनि देवता रिसाउने डरले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ७, छलवासी कसैले पनि पुस्तौँदेखि भैँसी पाल्न सकेका छैनन्।
छल रातामाटा गाउँको सिरानमा नर्कु पाटन छ। उक्त पाटनलाई गाउँलेले आफ्नो कुल देवता मस्टको फूलबारी मान्छन्। देवताका फूलबारीका फूलहरू भैँसीले कुल्चेर अशुद्ध बनाउने भएकाले बुकी पाइने पाटनमा भैँसी चराउन नमिल्ने छलकी पुतली रोकाया बताउँछिन्।
भैँसी पालेमा परिवारमा राम्रो नहुने, अरू सम्पत्तिमा पनि हानिनोक्सानी पुग्ने, गाउँमा अनिष्ट हुने अन्धविश्वास गाउँलेहरूमा छ। मस्ट देवता मान्ने उनीहरू छिमेकी गाउँलेसँग भने मानोको सय रुपैयाँमा दूध किनेर खान्छन्। तर देउता रिसाउने डरले भैँसी भने पाल्दैनन्।
मस्ट देवतालाई गाईको गहुँत र गोबर मात्र चल्छ। भैँसीको पिसाप र गोबर लसपस हुँदा अशुद्ध भएर देवता रिसाउने भएकाले झन्डै २५० वर्षदेखि कुनै पनि गाउँलेले भैँसी पालन नगरेको छलका गणेशबहादुर रोकाया दाबी गर्छन्।


