जनतालाई दुई छाक खान छैन, नेता-कर्मचारीलाई सुविधाको मोह

सरकारले जनप्रतिनिधि र सरकारी कर्मचारीलाई सरकारी गाडी दिन्छ । तर, कार्यालय लागेको दिन घरबाट कार्यालय र कार्यालयबाट घर जानका लागि मात्र गाडी दिइएको हुन्छ । सार्वजनिक बिदाको दिन वा अफिस टाइमबाहेक गाडी प्रयोग गर्न पाइँदैन । जनताले तिरेको करमा गाडी किनिएको हो । त्यसमा प्रयोग हुने यन्धन पनि जनताले तिरेको तिरोबाट आएको हो । त्यो दुई पाङ्ग्रे होस् या चार पाङ्ग्रे । एउटै गाडीमा चार लाखदेखि २५ करोडसम्म लगानी गरिएको छ ।
अर्कोतर्फ कतिपय जनप्रतिनिधि र कर्मचारीलाई चालक पनि दिइएको हुन्छ भने कतिपयले भने आफैं गाडी चलाउँछन् । अहिले जनप्रतिनिधि, कर्मचारीहरुले आफ्नो बालबच्चाको विद्यालय आउजाउका लागि पनि सरकारी गाडी दुरुपयोग गरेको प्रशस्तै देखिन्छ । सार्वजनिक बिदाको दिनसमेत आफन्त भेटघाट, घुमफिरका लागि सरकारी गाडीको दुरुपयोग गरेको देखिन्छ ।
कतिपय त सरकारी गाडी लिएरै विवाह, भोजभतेरमा गएको पनि भेटिन्छ । सरकारी गाडी जनताले तिरेको करमा किनिएको हो। यति मात्र होइन, त्यहाँको सवारीचालकलाई तलब, पेट्रोल र गाडी मर्मत गर्दा पनि जनताले नै तिरेको कर प्रयोग हुन्छ । जनताको सेवा गर्छु र राष्ट्रको हितका लागि काम गर्छाैं भनेर जनताबाटै भोट लिएर जनप्रतिनिधिहरु आएका हुन्छन् ।
यता, कर्मचारीहरुलाई राष्ट्रसेवक पनि भनिन्छ । उनीहरुले जागिर खाएकै दिन जनता र राष्ट्रको लागि काम गर्छाैं, भ्रष्टाचार गर्दैनौं भनेर कसम खाएका हुन्छन् । तर, जनता र राष्ट्रको सेवा गर्ने भन्दै आएर सरकारी सम्पत्ति र आफ्नो पदको दुरुपयोग गर्छन् । सरकारले पुग्दो तलबभत्ता र सेवासुविधा दिए पनि उनीहरुलाई पुग्दैन ।
कहाँ र कताबाट कमिसन आउँछ र भ्रष्टाचार गर्न पाइन्छ भनी कुरेर बस्छन् । सरकारी गाडी आफन्तलाई सिकाउनका लागि प्रयोग गर्छन् । ठोक्काउँछन्, कुच्याउँछन् । अनि मर्मत गर्दा एक लाख लागेमा वर्कसप व्यवसायीसँग मिलेर तीन लाखको बिल बनाई भुक्तानी लिन्छन् । र, आधा–आधा रकम बाँड्छन् । सात दिन फिल्डमा गएर महिनाभरि गएको भन्दै तलबभन्दा थप रकम बुझ्छन् ।
कार्यालयमा आवश्यक सामान खरिदमा समेत भ्रष्टाचार गर्छन् । पाँच हजारको सामान किनेमा पचास हजारको बिल बनाएर भुक्तानी लिन्छन् । कार्यालयमा भएको नयाँ सामानसमेत आफ्नो घर लैजान्छन् । सरकारी कार्यालयहरुमा किनेको दुई–तीन वर्ष भएको गाडी पनि थन्क्याएर राखेको देखिन्छ । त्यस्ता गाडीमा पानी जमेको वा झार उम्रेको भेटिन्छ । कर्मचारी, जनप्रतिनिधिहरु नयाँ गाडी किनेको किन्यै गर्छन् । अनि एक–दुई वर्ष हुनासाथ थन्क्याइदिन्छन् । नयाँ गाडी किन्दा अटो शोरुमसँग मिलेर लाखौं रुपियाँ कमिसन बुझ्छन् ।
जनप्रतिनिधि, कर्मचारीहरुलाई जनताले तिरेको करमा खाजा पनि खुवाइन्छ । तर, उनीहरु खाजामा समेत अनियमितता गर्छन् । दशजना मिटिङ बसेमा तीस पोका महँगो खाजा मगाउँछन् । अनि बाँकी सबै खाजा आ–आफ्नो घर लैजान्छन् । कतिपय कर्मचारीले त अफिसमै क्यान्टिन चलाएको पनि पाइन्छ । तलब जनताले तिरेको करबाट खान्छन् तर कामचाँहि आफ्नो क्यान्टिनमा गर्छन् ।
क्यान्टिनमा प्रयोग भएको बत्ती, पानीलगायतको पैसा पनि राज्यलाई तिर्दैनन् । कतिपयले त भाडासमेत तिर्दैनन् । कानुनअनुसार कर्मचारीहरु बिहान सवा १० बजेभित्र कार्यालय आइसक्नुपर्छ । त्यस्तै, बेलुका ५ बजेसम्म कार्यालयमा बस्नुपर्छ । तर, यहाँ त कर्मचारीहरु १२ बजे आउँछन् अनि ३ बजे हिँड्छन् । सो समयमा पनि आफन्तसँग टेलिफोनमा गफ गरेर बस्छन् । फेसबुक चलाउँछन् र कर्मचारी–कर्मचारी एकै कोठामा भेला भई राजनीतिक गफ हाँक्छन् ।
सरकारी कर्मचारीले राजनीतिक दलको सदस्यता लिन पाइँदैन भनेर कानुनमै उल्लेख छ । कार्यालय समयमा राजनीतिक गफ पनि गर्न पाइँदैन । यद्यपि, कर्मचारीहरु नै कानुनलाई धोती लगाइदिन्छन् । कतिपय कर्मचारीले त पहिल्यै महिनौं दिनको हाजिर गर्छन् अनि कार्यालय आउँदैनन् । कतिपय भने कार्यालय आउँछन् अनि हाजिर गर्नासाथ काम छ भन्दै घरतिर लाग्छन् ।
बजार अनुगमनमा जानुपर्ने कर्मचारी व्यापारीको घर पुग्छन् । र, रक्सी पाटी गर्छन् । कतिपय कर्मचारी जनताको काम पैसाविना गर्दैनन् । यहाँ एकजना पनि राष्ट्रसेवक छैनन् । कतिपय त लोकसेवाबाट लडेर आएका पनि होइनन् । सबै राजनीतिक पार्टीले नियुक्ति गरेका झोले हुन् । सरकारी कर्मचारीहरु प्रधानमन्त्री, मन्त्री, सांसद, मेयर, वडाध्यक्षसँग नरम बन्छन् र नजिक हुन्छन् । उनीहरुको गुलामी गर्छन् ।
अनि यता जनताको भने कुनै काम नै गर्दैनन् । सानो कामको लागि पनि घूस माग्छन् । फेरि यस्ता कर्मचारीलाई सरकारले बिमा, उपचार निःशुल्क गरिदिएको हुन्छ । जनताको तिरेको करमा देश–विदेश घुमाइन्छ । कर्मचारीहरुलाई तलबभत्ता, पेन्सन, पोशाक र अन्य सेवासुविधा जनताले नै तिरेको करबाट दिइएको हुन्छ ।
सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण ल्यायो । बजेटमार्फत तलब, सुविधा नबढेको भन्दै संसद् सचिवालयका कर्मचारीले आन्दोलन गरे । तत्कालीन अर्थमन्त्री माओवादीका नेता वर्षमान पुनले राज्यबाट स्रोत नभएको तलब, सुविधा बढाउन नसकिने स्पष्ट जवाफ दिएका थिए । अर्थतन्त्र चौपट छ । उद्योग व्यापार संकटमा छ । गरीबलाई बिहान खाए बेलुका के खाउँ भन्ने छ । यस्तोमा कर्मचारीको तलब र सुविधा बढाउने तारतम्य मिलाइँदैछ । अहिले केपी ओली चौथो पकट सत्ताको बागडोर सम्हाल्न आइपुगेका छन् । २०७४ मा दुई तिहाई बहुमतमा सरकार बनाउँदा उनको कार्यकाल दम्भ र झूटमा बित्यो । उखानटुक्काबाट जग हसाउँनुबाहेक जनतहितमा माखो मारेनन्, अहिले के गर्लान् ? त्यो भने हेर्न बाँकी छ ।



