न्यायाधीशको राय बाझिएपछि रवि लामिछानेको मुद्दामा फैसला आएन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा दुई न्यायाधीशको राय बाझिएको छ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा दुवै पक्षको बहस सकिएपछि आदेश दिने क्रममा राय बाझिएपछि सर्वोच्च अनिर्णित भएको हो।
मंगलबार र बुधबार दुई दिनको बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ राखिएको मुद्दामा बिहीबार जवाफी बहस सकिएसँगै आदेश आउनुपर्ने थियो। तर, दुई न्यायाधीशबीच राय बाझिएपछि अब यो मुद्दा अर्को इजलासबाट टुंगो लगाउने सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए।
उनका अनुसार अब यो मुद्दाको छिनोफानोका लागि सर्वोच्चले कम्तीमा तीन न्यायाधीश सम्मिलित पूर्ण इजलास गठन गरेर बहुमतका आधारमा निर्णय दिनेछ।
अधिवक्ता अनुप भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको मागसहित गत जेठ १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जवाफी बहस भएको थियो। बुधबार पनि अधिवक्ताहरूले जवाफी बहस गरेपछि आदेश आउने भनिएको थियो। तर, नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।
अधिवक्ता भट्टराईले दायर गरेको रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता दीनमणि पोखरेलको पत्र खारेज गर्नसमेत माग गरिएको थियो।
यो रिटमा अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाएका थिए।



