No Image Headlineदृष्टि/संवाद

डा. शोभाकर पराजुलीको अनुभूति : प्रजातन्त्रका एक अजर शिखर ‘गिरिजाबाबु’

डा. शोभाकर पराजुली

तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ताशक्ति आफ्नो हातमा लिएपछि नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले मलाई भन्नुभयो ‘शोभाकर, लौ काठमाडौंमा भएकाजति सबैलाई बोलाऊ‘।’

Patanjali Nepal
Sweet Mart Food

उपलब्धजति सबैलाई मैले ‘आकष्मिक बैठक’का आउनका लागि खबर गरें। त्यो एउटा यस्तो अन्योलपूर्ण समय थियो जहाँ ‘निकास’का कुनै पनि द्वारहरू देखिइरहेका थिएनन्। देशमा संकटकाल लगाएका राजा ज्ञानेन्द्रले जनताका सारा मौलिक अधिकारप्रदत्त धाराउपधाराहरू निलम्बन गरेका थिए। दलीय राजनीतिक अधिकार खोसेर पार्टीका नेताहरूलाई धमाधम जेल हाल्दै थिए। कसैलाई घरमै बन्धक बनाउँदै थिए।

अन्योलग्रस्त समय अनि छोटो खबरको छोटो समयमा पनि त्यो बेला नेपाली काँग्रेसका सबैजसो नेताहरू आउनुभयो। केही बेर राजाको कदमबारे सामान्य बहस भएपछि अन्तिममा गिरिजाबाबुले भन्नुभयो ‘संसद पुनःस्थापना हाम्रो बटमलाइन हो। अब हामी सबै दलहरूसँग मिलेर राजाविरुद्ध आन्दोलनमा जानुपर्छ‘।’

२०५९ पुस १९ गते राजा ज्ञानेन्द्रले सारा शासनसत्ता आफ्नो हातमा लिएका थिए। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट हटाएर ज्ञानेन्द्र आफै मन्त्रिपरिषदको अध्यक्ष भएका थिए अनि केही ‘कुलीन पञ्च’हरूलाई अधिकारबिहीन बनाएर नाममात्रैका मन्त्रीहरू बनाएका थिए। त्यो बेला म नेपाली काँग्रेस पार्टीको मुख्य सचिव थिएँ।

देउवाजी भर्खर नयाँ पार्टी ‘नेपाली काँग्रेस प्रजातान्त्रिक’ बनाएर निस्किनुभएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अरु सबै राजनीतिक दलहरू त्यो अन्योलको बादलभित्रै अलमलिइरहेका थिए। अब के हुन्छ, कसो हुन्छ केही भन्नसक्ने अवस्था थिएन। के गर्ने, कसरी अगाडी बढ्ने भन्ने विषयमा कुनै पनि राजनीतिक दलहरूले केही निणर्य लिन सकेका थिएनन्। न पार्टीभित्रै आन्तरिक छलफल हुन सकेको थियो न अन्तरपार्टी संवादहरू। संकटकालपछिका कैयौ दिनहरू यस्तै अन्योल र मौन बितिरहेका थिए।

तर गिरिजाबाबुमा मैले एउटा अजीबको तत्परता देखिरहेको थिएँ। अरु दलहरू केही पनि नबोलेका बेला उहाँले आफ्ना पार्टीका नेताहरूलाई बोलाएर ‘दलीय सहकार्य र संसद पुनःस्थापनाको अजेण्डा सार्वजनिक गर्नुभएको थियो। गिरिजाबाबुले ‘संसद पुनःस्थापना हुन्छ‘’ भनेपछि बैठक सकेर एक हुल नेपाली काँग्रेसका नेताहरू मलाई घेर्न आइपुगे। अनि उनीहरूले भने ‘अवस्था यस्तो छ, गिरिजाबाबुले कसरी संसद पुनःस्थापना हुन्छ भन्नुभयो’ उनिहरू यतिमा मात्रै रोकिएनन् बरु अधिकांशले मलाई अगाडि सुझाव पनि दिए ‘शोभाकरजी गिरिजाबाबुलाई अलि राम्रो ‘साइकियाट्रिक्स’लाई देखाउनुस् यो हाम्रो सल्लाह हो।’

आखिरमा त्यही भयो, जो गिरिजाबाबुले भन्नुभएको थियो। नेपाली काँग्रेसका अरु नेताजस्तो मलाई त्यो बेला ‘अचम्म’ भने लागेको थिएन। किनकि गिरिजाबाबुले जे भन्नुहुन्छ त्यो सोचेर भन्नुहुन्छ र गरेरै छोड्नुहुन्छ। मैले मेरो व्यक्तिगत अनि राजनीतिक जीवनमा उहाँजस्तो दृढ र आफ्नो संकल्पमा ‘एकलब्य’ राजनेता अहिलेसम्म भोगेकै छैन। सायद भेटिने पनि छैनन्।

नेपाली राजनीतिका अनेक मोड अनि थुप्रै उचारचढावहरू सँगसँगै म अन्तिम समयसम्मै गिरिजाबाबुकै साथमा थिएँ। यहाँसम्म कि जीवनको अन्तिम पल पनि उहाँको नाडी मेरै हत्केलामा थियो। अस्पतालको बेडमा र सुजाताजीको घरमा मैले उहाँलाई अन्तिम सासमा भेटाएँ। उहाँको नाडी हत्केलामा राख्दाराख्दै उहाँले अन्तिम सास लिनुभयो। त्यो बेला उहाँकी एकमात्र सन्तान छोरी सुजातासँगै धेरैबेरसम्म रोएँ ।

नेपाली राजनीतिमा कोइराला परिवारको आफ्नै इतिहास छ। राजनीतिक इतिहासका ती पानामा राष्ट्र अनि जनता र प्रजातन्त्रप्रति कोइराला परिवारका संघर्ष, त्याग, समर्पण र बलिदानका कैयौ कथाहरू छन्। इतिहासका ती त्यस्ता जिउँदा अक्षर र शब्दहरू हुन्, जसले नेपाली राजनीतिलाई सधैं अग्रदिशा दिएको छ। देशका हरेक संघर्ष अनि परिवर्तनका मोडहरूमा कोइराला परिवारका अजर पाइलाहरू सधैं देशको राजनीति पछ्याउने पदचाप बनेका छन्। त्यसमध्येका एक गिरिजाबाबु पनि हुनुहुन्थ्यो।

२०५८ साल मंसिर ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले देशमा संकटकाल लगाएपछि राजा र गिरिजाबाबुबीचको आन्तरिक लडाईं सतहमै आएको थियो। दुई शक्तिकेन्द्रबीचका कैयन बैमनस्यहरू एकैपटक छताछुल्ल भएका थिए। ती धेरै राजनीतिक थिए कतिपय पारिवारिक थिए। एक प्रकारले इतिहासको कुनै कालखण्डमा ‘दरबार’ अनि कोइराला परिवार अलग अलग ‘शक्तिस्तम्भ’ रहे। यी दुईबीच सधैं एकप्रकारको टक्कर रहिरह्यो।

दरबार हत्याकाण्डपछि नेपालको राजकीय राजनीतिको बिरासतमा एकप्रकारले ‘शाही कुण्डली’को पात्रो फेरिएकै हो। त्यसमा पनि राजा ज्ञानेन्द्रको माथमा पलाएको शक्तिको उधुम महत्वाकांक्षा आखिरमा त्यो बिरासत अन्त्य अनि देशको व्यवस्था परिवर्तनको एउटा ‘मूहूर्त’ बनिदियो। २४० वर्षदेखि जिउँदो इतिहासको अन्तिम पानामा राजा ज्ञानेन्द्र सिङ्गो बिरासतलाई नै धुमिल बनाउँदै बाहिरिए।

संकटकालको सुरुवातमै गिरिजाबाबुले औपचारिक-अनौपचारिकरुपमै भनिसक्नुभएको थियो ‘अब राजा रहन्नन्’ । आखिरमा देशमा राजामात्रै रहेनन्, बरु एउटा ‘तन्त्र’ नै फेरियो। ब्यवस्था परिवर्तनको यो मोड गिरिजाबाबुको राजनीतिक अनि व्यक्तिगत जीवनको अन्तिम इनिङ थियो।

कृष्णप्रसाद कोइराला भारतको गिरिजादेवी दर्शन गर्न जानुभएको थियो साथमा उहाँकी धर्मपत्नी दिब्या कोइराला पनि हुनुहुन्थ्यो। त्यो बेला दिब्या गर्भवति पनि हुनुहुन्थ्यो। गिरिजादेवी दर्शनका बेला उहाँहरूले एउटा संकल्प गर्नुभएको थियो, छोरा वा छोरी जसको जन्म भए पनि उसको नाम ‘गिरिजा’ हुनेछ। ‘गिरिजा’ शब्दको धार्मिक अर्थ हिमालयकी छोरी अर्थात् ‘पार्वती’ हुन्।

बि.सं. १९९८ असार १८ गते भारतको दीप नगरमा कोइराला परिवारको एउटा हाँगो जन्मियो अर्थात् गर्भको त्यही ‘गिरिजा’। त्यो मात्र एउटा कोखको गर्भ थिएन बरु त्यो नेपाली राजनीतिको एउटा यस्तो शिखर बन्यो जसलाई छुनका लागि अझै कैयन युग पर्खिनुपर्ने हुन्छ। राणा शासनको कोपभाजनमा परेर त्यो बेला कोइराला परिवार नै भारतमा निर्वासित जीवन बिताइरहेको थियो। कृष्णप्रसाद र दिब्या पनि आफ्ना सारा परिवारका साथ भारतमै हुनुहुन्थ्यो, हालको बिहार सुपौलमा ।

‘देशद्रोह’ अभियोग भिराएर त्यो बेला निर्वासित गरिएका कृष्णप्रसादहरूलाई राणाहरू फेरि देश फर्किने अनुमति दिए। देश फर्किएपछि उहाँले आफ्नै ठाउँमा एउटा विद्यालय पनि स्थापना गर्नुभयो। ‘आदर्श’ स्कुल देशकै पहिलो हो। त्यहिँ नै गिरिजाबाबुको शिक्षारम्भ भयो। सामान्य शैक्षिक जीवन बिताएका गिरिजाबाबुको राजनीतिक जीवन भने ‘अद्वीतीय’ रह्यो।

किशोरावयले छुँदै गर्दा राजनीतिक चेतले भरिइसकेका गिरिजाबाबु आफ्ना दाजु विशेश्वरप्रसाद कोइराला(बिपी)को राजनीतिक दीक्षाले अझ परिपक्व भइसक्नुभएको थियो। बिराटनगरको जुट मिलमा एक सामान्य मजदुरका रुपमा सार्वजनिक जीवन सुरु गर्नुभएका गिरिजाबाबु त्यही मिलमा भएको एउटा मजदुर बिद्रोहबाट राजनीतिको बाटोमा डोरिनुभयो। मिल मालिकहरूसँग मजदुरका हकहितका बारेमा आवाज उठाउन थालेपछि त्यहाँका आवाजबिहीन मजदुरहरूले उहाँलाई आफ्नो नेता मानिसकेका थिए।

गर्भरचनामा अरु नै भए पनि २००३ साल फागुन २१ गते त्यो मिलमा सुरु भएको मजदुर आन्दोलनको अगुवा गिरिजाबाबु नै हुनुहुन्थ्यो। यो मिलका मात्रै होइन बिराटनगरभरिका हजारौं मजदुरहरू उहाँकै अगुवाइमा आन्दोलित भए। खासमा मजदुरका हकहितका कुरा उठाइए पनि त्यो आन्दोलन राणा शासकहरूका लागि एउटा चोटिलो झापड बन्यो। त्यही बेलै बिपी, मनमोहनहरूसँगै गिरिजाबाबु पनि गिरफ्तार हुनुभयो। र उहाँहरूलाई ‘अड्डा’ सार्दै सार्दै काठमाडौं पुर्‍याइयो। पहिलो पटकमै उहाँले तीन वर्ष जेल जीवन बिताउनुभयो।

कार्यकर्तालाई संगठित राखिरहनसक्ने क्षमता बिकास गरिसक्नुभएका गिरिजाप्रसादले नेपालमात्रै होइन भारत तथा भुटानमा भएका आन्दोलनहरूमा पनि नेतृत्वदायी भूमिका निभाउनुभएको थियो। राणा शासनविरुद्ध २००७ सालमा भएको नेपाली काँग्रेसले सुरु गरेको हतियारसहितको ‘जनक्रान्ति’को एक कमाण्डर गिरिजाबाबु पनि हुनुहुन्थ्यो।

उहाँकै नेतृत्वमा नेपाली काँग्रेसको ‘मुक्ति सेना’ दोस्रो प्रयासमा बिराटनगर ‘कब्जा’ गरेको थियो। गिरिजाबाबुको त्यो क्रान्तिकौशल देखेर बिपीहरूले उहाँलाई भुटानमा भइरहेको राजनीतिक आन्दोलन सघाउन उहाँलाई नै खटाउनुभएको थियो। गिरिबाबुले सिङ्गो नेपालकै प्रतिनिधित्व गरेर भुटानमा भएको आन्दोलनमा पनि आफ्नो कौशल देखाउनुभयो। त्यो करिब २०११ सालतिरको कुरा थियो।

२०१२ सालमा नेपाली काँग्रेसले जिल्ला सभापतिहरूको निर्वाचन गरेको थियो। त्यो बेला नै गिरिजाबाबु मोरङ जिल्लाको सभापति हुनुभयो। बीरगन्जमा भएको पार्टीको केन्द्रीय महाधिवेशनले ‘प्रजातन्त्र, राष्ट्रियता र समाजवाद’लाई अघि बढाउनका लागि जिल्ला नेतृत्व चुनेको थियो।

२०१५ सालमा भएको पहिलो आम निर्वाचनमा बिपीले गिरिजाप्रसादलाई सोध्नुभएको थियो ‘चुनाव लड्ने कि पार्टीको संगठन गर्ने? भनेर राय बुझ्न खोज्दा गिरिजाबाबुले संगठन नै रोज्नुभएको थियो। बिपी चुनाव लड्नुभयो अनि प्रजातान्त्रिक नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो।

तर राजाका लोभीपापी आँखाहरू फेरि चम्किन थाले। २०१७ साल पुस १ गते राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्थ गरी देशको शासनसत्ता फेरि हातमा लिए। त्यसपछि ३०वर्ष देशमा निरंकुश पञ्चायतले शासन गर्‍यो राजालाई नै ‘मुखिया’ मानेर।
सारा राजनीतिक अधिकारहरू खोसेका राजाले त्यो बेला सबैभन्दा राजनीतिक दलका नेताहरूलाई जेल हालेका थिए। कसैलाई घरभित्रै नजरबन्दमा राखेका थिए। त्यो बेला गिरिजाबाबु मात्रै होइन उहाँकी धर्मपत्नी सुषमा र नाबालिका छोरी सुजातालाई पनि थुनामा राखिएको थियो।

बि.सं २००८ सालमा गिरिजाबाबुको सुषमासँग प्रेम बिवाह भएको थियो। २००८ सालमा छोरी सुजाताको जन्म भयो। बुवाकै राजनीतिक बाटो समाएकी सुजाता कोइराला पटक पटक मन्त्री भइसक्नुभएको छ। बैवाहिक जीवनका १६ वर्षमै सुषमाको निधन भएपछि गिरिजाबाबुले आजीवन बिहे नगर्ने संकल्प गर्नुभएको थियो। सारा जीवन राजनीतिका लागि समर्पण गर्नुभएका गिरिजाबाबु अन्तिम समयसम्म पनि छोरी सुजाताकै साथमा रहनुभयो।

राजाले जेल हालेपछि उहाँले जेलभित्रै आमरण अनसन गर्नुभएको थियो। भारतका महात्मा गान्धीको जीवन र सिद्धान्तबाट प्रभावित हुनुभएका गिरिजाबाबु कलिलै उमेरदेखि आफ्नो संकल्पमा यतिसम्म हठी हुनुहुन्थ्यो कि त्यसका लागि उहाँले ज्यानमात्रै होइन सबकुछ दाउँमा राख्नुहुन्थ्यो। अन्ततः उहाँलाई २१ दिनपछि जेलमुक्त गरिएको थियो।

गिरिजाबाबु त निस्किनुभयो तर बिपी तथा गणेशमानहरू जेलभित्रै हुनुहुन्थ्यो। काँग्रेसका धेरै नेताहरू भारतमा निर्वासित जीवन बिताइरहेका थिए। त्यसबेला गिरिजाबाबुले बिपीहरूलाई जेलमुक्त गराउन तथा निर्वासित जीवन बिताइरहेकाहरूलाई देश फर्काउनका लागि धेरै प्रयत्न गर्नुभएको थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनेदेखि उहाँले राजाको त्यो कदमविरूद्ध धेरै कदमहरू चाल्नुभयो।

त्यसको करिब ८ वर्षपछि अर्थात् २०२५ सालमा जेलमुक्त भएपछि गणेशमान सिंहले भन्नुभएको थियो ‘सामान्य नेतामात्रै होलान् भनेको त गिरिजा यत्रो कुशल वार्ताकार अनि राजनीतिमा यति परिपक्व होलान् भन्ने त मलाई लागेकै थिएन‘।’

त्यसपछि पनि पञ्चायतविरुद्धको आन्दोलन सकिएको थिएन। बरु भित्रभित्रै जनता जाग्दै थिए। पञ्चायत जति जति निरंकुश हुँदै गएको थियो उति नै आम नागरिक प्रजातन्त्रका लागि लड्न खारिइरहेका थिए। लड्नका लागि संगठन चाहिन्थ्यो। त्यसलाई चलाउन पैसा चाहिन्थ्यो। गिरिजाबाबु त अझ त्योभन्दा पनि अघि बढेर ‘हतियारसहित’कै युद्धको तयारीमा हुनुहुन्थ्यो। हतियार किन्नका लागि झन धेरै पैसा चाहिन्थ्यो।

त्यसका लागि गिरिजाबाबुले बिमान अपहरणसम्मको योजना पनि बनाउनुभयो। २०३० साल जेठ गते काठमाडौंबाट नेपाल राष्ट्रबैंकको पैसा लगेर बिराटनगरकालागि उडेको बिमान अपहरणको योजनाकार उहाँ नै हुनुहुन्थ्यो। त्यो बिमानबाट ३० लाख रुपैयाँ लुटिएको थियो।
लामो समय भारतमै निर्वासित जीवन बिताइरहनुभएका बिपी कोइरालाले २०३३ सालमा देश फर्किने निणर्य लिनुभएको थियो।

देश फर्केर ‘मेलमिलाप’को नीति अपनाएर प्रजातन्त्र फर्काउने उहाँको चाहना थियो त्यही नीति लिएर उहाँ नेपाल फर्किनुभयो। तर गिरिजाप्रसाद भने भारतमै बस्नुभयो। त्यो बिपीकै निर्देशन थियो ‘परिआयो भने अर्को आन्दोलनको पनि तयारी गर्नुपर्छ‘’ भनेर त्यसको व्यवस्थापनका लागि बिपीले गिरिजाबाबुलाई भारतमै छोडेर आफूमात्रै फर्किनुभएको थियो। त्यो बेला भारतीय नेताहरूसँगसँगै अन्तर्राष्ट्रिय समर्थन जुटाउँदै नेपालमा राजालाई दबाव सिर्जना गर्न गिरिजाबाबुले खेल्नुभएको भूमिका सदा स्मरणीय छ।

२०३४ सालमा नेपाली काँग्रेसमा महामन्त्रीको जिम्मेवारी लिएर उहाँले पार्टीको संगठनलाई निकै सक्रिय बनाउनुभयो। निर्वासित रहेकै बेला उहाँले पार्टीको आन्दोलनप्रति अन्तर्राष्ट्रिय समर्थन बलियो बनाइसक्नुभएको थियो। २०३७ साल बैशाखमा उहाँ नेपाल फर्किएर फेरि देशभरि पार्टी र संगठनलाई अझ सुदृढ अनि बलियो बनाउने अभियान छेड्नुभयो।

जीवनको अन्तिम क्षणमा बिपी कोइरालाले आफ्ना नजिकका मित्रहरूसँग भन्नुभएको थियो ‘कृष्णप्रसाद भट्टराईको जस्तो नीति, गणेशमानको जस्तो त्याग अनि गिरिजाजस्तो संगठक भए नेपाली काँग्रेसकै नेतृत्वमा नेपालमा प्रजातन्त्र चाँडै नै आउनेछ‘।’
२०३९ सालमा स्वर्गीय हुनुभएका महामानव बिपीले भनेजस्तै २०४६ सालको जनआन्दोलनले ३० वर्षे पञ्चायत ढालेको थियो र देशमा फेरि प्रजातन्त्रको उज्यालो छरिएको थियो। त्यसको कमाण्डर गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादहरू नै हुनुहुन्थ्यो।

२०४७ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नेपालमा प्रजातान्त्रिक संविधान जारी भयो। त्यसपछि २०४८मा भएको आम निर्वाचनमा गिरिजाप्रसाद कोइराला मोरङ र सुनसरीबाट अत्यधिक मतका साथ बिजयी हुनुभयो र नेपाली काँग्रेसको संसदीय दलको नेता पनि बन्नुभयो। त्यसपछि २०४८ साल जेठ १२ गते उहाँ देशको प्रधानमन्त्री बन्नुभयो। ३० वर्षे पञ्चायतपछि प्रजातान्त्रिक चुनावबाट जितेर प्रधानमन्त्री बन्ने सौभाग्य गिरिजाबाबुको थियो।

प्रजातान्त्रिक कालमा देशको राजनीति सबैले अपेक्षा गरेजस्तो स्थिर भने हुन सकेन। पार्टी पार्टी अनि पार्टीभित्रै पनि आन्तरिक कलह बढिरहेको थियो। राजनीतिक दलहरू पनि एक आपसमा मिल्न सकिरहेका थिएनन्। अन्ततः दलीय कलहकै बीचमा २०५२ सालमा माओवादीले शसस्त्र द्धन्द थाल्यो ।

माओवादी द्धन्द सुरु भएसँगै देश फेरि गृहयुद्धको बाटोमा जाँदै थियो। यता दलहरूबीच पनि कलह उत्कर्षमा पुगिरहेको थियो। पार्टीहरू आफ्नै नेतृत्वको सरकार ढाल्न र बनाउन उद्यत थिए। एकले अर्कोलाई लछार्न अनि पछार्न लागिपरेका थिए उता जंगलमा माओवादीले युद्धको सनही अझ तेज पार्दै थियो। अविश्वासको मत, प्रतिनिधिसभाको विघटन, पार्टीको आन्तरिक विभाजन अनि अल्पमत र बहुमतका सरकारहरू पनि यही बेलाका परिघटना थिए। मध्यावधि निर्वाचनको नियति पनि मुलुकले भोग्नुपर्‍यो। माओवादी युद्धका कारण दलीय दूरी त बढेकै थियो त्यसमा दरबार पनि ‘भिलेन’ बनेर उभिन थाल्यो।

२०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्ड देशमा अर्को उथलपुथलको एउटा टर्निङ प्वाइन्ट बनिदियो। ज्ञानेन्द्र शाहले सत्ताशक्ति आफ्नो हातमा लिनासाथ माओवादीले आफ्नो युद्धको गति अझ तेज र विस्तार गरिरहेको थियो। २०५८ साल मंसिर ८ गते दाङमा सैनिक ब्यारेकमाथि आक्रमण गरेर माओवादीले दरबारविरुद्ध सिधा धावा बोलेको थियो। मंसिर ११ गते तत्कालीन शेरबहादुर देउवाको सरकारले संकटकाल घोषणा गर्‍यो।

त्यसबाट नेपाली काँग्रेसभित्रको आन्तरिक कलह झन उत्कर्षमा पुग्यो। संकटकाल थप गर्ने विषयमा भएको आन्तरिक मतभेदले प्रतिनिधिसभाको विघटनमात्रै भएन बरु नेपाली काँग्रेसको बाटो नै फाट्यो। शेरबहादुर देउवाले काँग्रेसका केही नेताहरू लिएर नयाँ पार्टी बनाउनुभयो। राजनीतिक घटनाक्रमहरू यत्तिमै सिमित रहेनन्।

तत्कालीन युद्धरत माओवादीले रोल्पाको होलेरी बन्धक बनाएका केही सुरक्षाअधिकारीहरूलाई छुटाउनका लागि सैनिक परिचालनको अनुमति माग्दा राजा बिरेन्द्रले अपमान गरेर फर्काएपछि नै गिरिजाबाबु र दरबारबीचको मनमुटाव अझ चर्किएको थियो।

राजा ज्ञानेन्द्रले संकटकाल घोषणा गरेपछि अन्योलपूणर् अवस्थामै गिरिजाबाबुले ‘राजतन्त्र’ जान्छ भनिसक्नुभएको थियो। त्यसका लागि उहाँले मूलधारमा रहेका संसदीय दलहरूमात्रै होइन जंगलमा युद्ध गरिरहेको माओवादीसँग समेत भित्रि सहमति गरिसक्नुभएको थियो। संसदबिना सरकार र व्यवस्था प्रजातान्त्रिक नहुने भन्दै संसद पुनःस्थापनालाई बटम लाइन बनाएर गिरिजाबाबु सबै राजनीतिक दलको साथ लिँदै २०६० वैशाख अन्तिमतिर आफै सडकमा ओर्लिनुभयो।

यो आन्दोलनलाई सबै राजनीतिक दल र माओवादीको पनि नैतिक समर्थन थियो। २०६२ सालको अन्तिमतिर आन्दोलनको उत्कर्षमा त माओवादी पनि अरू दलहरूसँगै मिसिएर सडक आन्दोलनमा आइसकेको थियो। माओवादीसहित सारा राजनीतिक दल अनि लाखौं जनताले दरबार घेर्न थालेपछि २०६३ साल वैशाख ८ गते राजा ज्ञानेन्द्रले एउटा शाही घोषणा गरे। तर आन्दोलन त्यत्तिकैमा रोकिएन। बरु दलहरूले अझ सशक्त आन्दोलनको घोषाण गरे। यो घोषणामा राजा ज्ञानेन्द्रले आफूले सत्ता छोडेको घोषणा गरेका थिएनन्। सात दललाई प्रधानमन्त्रीका आह्वान गर्न आउनूमात्रै भन्ने सन्देश दिएका थिए।

अन्ततः वैशाख ११ गते राजा ज्ञानेन्द्रले जनताको नाशो जनतालाई नै फिर्ता गरिदिए। संसद पुनःस्थापना भयो। त्यसमा सबै दलहरूले सहमति गरेर माओवादीलाई पनि संसदमा भित्र्याउने सहमति भइसकेको थियो। आखिरमा गिरिजाबाबुले आफ्नो अठोट पूरा गरेरै छोड्नुभयो।

त्यो बेला गिरिजाबाबुले नचाहेको भए, माओवादीको युद्ध के हुन्थ्यो अनि देशको अवस्था के हुन्थ्यो होला? त्यो परिस्थितिको आँकलन नै गर्न निकै कठीन हुन्छ। २०६२/०६३मा सडक आन्दोलन सुरु हुनुअघि नै गिरिजाप्रसादले नै पहल गरेर माओवादीसहित सबै राजनीतिक दलहरूबीच १२ बुँदे सम्झौता भइसकेको थियो।

संसद पुनःस्थापना भएपछि गिरिजाबाबु फेरि एकपटक देशको प्रधानमन्त्री बन्नुभयो। यो भने अन्तरिम सरकार थियो अनि गिरिजाबाबुको राजनीतिक जीवनको अन्तिम इनिङ पनि यही नै बन्यो। उहाँकै नेतृत्वमा २०६४ सालमा नेपालको इतिहासमै पहिलोपटक संविधानसभाको निर्वाचन भयो। यही संविधानसभाले ‘जनताको गणतान्त्रिक संविधान’का रुपरेखाहरू कोर्न सुरु गर्‍यो र दोस्रो संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गर्‍यो।

भलै गिरिजाबाबुले यो दिन देख्न पाउनु भएन तर जसरी देशका ऐतिहासिक मोडहरूमा नेतृत्व सम्हाल्न नेपाली काँग्रेसमात्रै अघि लाग्यो यो संविधान पनि काँग्रेसकै अगुवाईमा जारी भयो। संविधान जारी हुने बेला नेपाली काँग्रेसका सभापति सुशील कोइराला हुनुहुन्थ्यो। गिरिजाबाबु जति बाँच्नुभयो पूणर् राजनीतिक जीवन नै बाँच्नुभयो। सारा व्यक्तिगत जीवनलाई उहाँले राष्ट्र र प्रजातन्त्रकै लागि समर्पित गर्नुभयो। अनि त्यसकै खातिर बाँच्नुभयो।

संघर्ष, प्रजातन्त्र अनि राजनीति नै उहाँको जीवनसिद्धान्त बने। तर राजनीतिक जीवनको सुरुवातदेखि जीवनको अन्त्यसम्म पनि राजनीतिको कोपभाजनले उहाँलाई पछ्याइरह्यो। पार्टीभित्रैको आन्तरिक राजनीतिक चक्रदेखि दलीय राजनीतिको ब्यूहसम्मको नियतिमा बाँच्नुभएका गिरिजाबाबुको एउटा सपना भने पूरा हुनै पाएन त्यो थियो-गणतान्त्रिक मुलुकको राष्ट्रपति। बिथोलिएको त्यो सपनाका पछि देशीय अनि अन्तर्राष्ट्रिय कारणहरू थिए जो बिस्तारै बाहिर आउँदैछन्।

बेलाबेला गिरिजाबाबुको सम्झनामा ओकलिने पछुतोहरू त्यसैका परिणाम हुन्। तर जे भए पनि त्यो संक्रमणकालीन अर्थात् अन्तरिमकालमा भने गिरिजाबाबु ‘हेड अफ दी स्टेट’कै हैसियतमा रहनुभयो। तथापि गिरिजाप्रसाद कोइराला अर्थात् गिरिजाबाबु नेपाली राजनीतिको एउटा त्यस्तो शिखर व्यक्तित्व हुनुहुन्छ जसलाई छुनका लागि अझ कैयौ राजनीतिक युगहरू पर्खिनुपर्छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button