फौजदारी मुद्दाका सबै कसुरमा डोनल्ड ट्रम्प दोषी ठहर

अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प एउटा ऐतिहासिक फौजदारी सुनुवाइका क्रममा व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको ३४ वटा कसुरमा दोषी ठहर भएका छन्।
भूतपूर्व वा पदमा बहाल रहेका अमेरिकी राष्ट्रपति कुनै पनि अपराधमा दोषी ठहर भएको यो पहिलो घटना हो। अदालतले जुलाई ११ मा उनीविरुद्ध सजाय सुनाउने छ। ट्रम्पलाई जेल सजाय पनि हुन सक्छ। कानुनविद्हरूले उनलाई जरिवाना हुने सम्भावना बढी रहेको बताएका छन्।
राष्ट्रपति बाइडनलाई आगामी नोभेम्बरमा हुने चुनावमा पराजित गरेर ह्वाइट हाउसमा फर्किन ट्रम्पले निर्वाचन अभियान चलाइरहँदा यो आदेश आएको हो।
अदालतले २२ प्रत्यक्षदर्शीसँग छ सातासम्म बयान लिएको थियो। बयान दिनेमा ट्रम्पसँग अवैध यौन सम्बन्ध भएको र सन् २०१६ को चुनावअघि चुप बस्न रकम दिइएको भनिएकी पोर्नस्टार स्टोर्मी ड्यान्यल्स पनि थिइन्।
ट्रम्पका एक वरिष्ठ अधिवक्ताले ‘फक्स न्यूज’लाई बताएअनुसार पूर्वराष्ट्रपतिको कानुनी टोलीले पुनरावेदनका लागि “सबै उपायमाथि छलफल” गरिरहेको बताएका छन्।



