अन्तराष्ट्रिय

चीन साइबर आक्रमणमा संलग्न भएको यूकेको आरोप

यूके सरकारले आफ्नो देशका सांसद र निर्वाचन आयोगमाथि दुर्भावनापूर्वक भएका साइबर आक्रमणमा चीन संलग्न भएको आरोप लगाएको छ। सरकारले ती साइबर आक्रमणमा संलग्न भएको भन्दै दुई चिनियाँ नागरिक र कम्पनीमाथि प्रतिबन्ध घोषणा गरेको छ।

यूकेका उपप्रधानमन्त्री ओलिभर डाउडनले ती व्यक्ति र कम्पनीले बेइजिङको आलोचना गर्दै आएका ब्रिटिश सांसदहरूको विवरणमा अनधिकृत पहुँच स्थापित गर्ने प्रयास गरेको बताएका छन्।

सन्दिग्ध साइबर आक्रमणकारीहरूले चार करोड ब्रिटिश मतदातासँग सम्बन्धित डेटामा पहुँच पाएको पनि विश्वास गरिएको छ। तर डाउडनले उक्त आक्रमणका कारण चुनावको सुरक्षामा गम्भीर सम्झौता हुने खालको कार्य नभएको बताए।

चीनले चाहिँ लगातार जासुसी तथा गलत काम गरेको भन्ने आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। यूकेस्थित चिनियाँ दूतावासले निराधार दाबी गरिएको भन्दै त्यसलाई दुर्भावनापूर्ण लाञ्छनाको सङ्ज्ञा दिएको छ।

ब्रिटेनले प्रतिबन्ध लगाएका दुई चिनियाँ नागरिक चाओ गुआङ्जोङ र नि गाओबिन हुन् भने कम्पनी वुहान श्याओरुइची साइन्स एन्ड टेक्नोलजी हो।

ती चिनियाँ नागरिक र कम्पनीले चीन सरकारसँग सम्बन्ध भएको साइबर जासुसी समूह एड्भान्स्ड पर्सिस्टन्ट थ्रेट ग्रूप ३१ ९एपीटी३१० का लागि काम गरेको ब्रिटिश सरकारको दाबी छ।

ब्रिटिश प्रतिबन्धअन्तर्गत ती व्यक्ति तथा कम्पनीको सम्पत्ति रोक्का गरिएको छ। त्यसले गर्दा ब्रिटिश नागरिक वा व्यवसायीहरूले ती चिनियाँहरूको स्रोत र सम्पत्ति कुनै किसिमले पनि उपयोग गर्न पाउँदैनन्। उनीहरूलाई ब्रिटेनको भ्रमण गर्न र ब्रिटेनमा बस्न पनि निषेध गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button