No Image Headlineअर्थविशेष

राजस्व नीतिमा उल्टो यात्रा २ : भन्सारबाट भित्रिँदैन, बजारमा भारतीय स्वीट सुपारी छ्याप्छ्याप्ती

१७ ओटा स्वदेशी उद्योगमा ताला, तैपनि नीतिगत सुधारको आशा जीवितै

Thrill Factory
Rungta Group

सरकारको अव्यावहारिक राजस्व नीतिको मारमा परेको अर्को उद्यम हो, स्वीट सुपारीको उत्पादन । देशका विभिन्न शहरमा खुलेका १७ ओटा स्वीट सुपारीका उद्योग अहिले उत्पादन बन्द छन् । तर, बजारमा भारतबाट भित्रिएका यस्ता उत्पादनको रजगज छ ।

भारतबाट आउने यस्तो सुपारी भन्सारको रेकर्डमा भने छैन । सरकारले यसको कच्चा पदार्थको रुपमा रहेको सुपारीको आयात महशुल र अन्तः शुल्कमात्र होइन, आयातमा पनि उच्च दरकै राजस्व तोकेको छ ।

परिणाम, स्वदेशी उद्योगले उत्पादन गर्न सकेका छैनन् । भारतबाट तस्करी भएर भित्रिने गरेको छ । भारतमा न्यून राजस्वका कारण पारिको उत्पादनको तुलनामा स्वदेशी उत्पादन ३ गुणा महँगो पर्दछ । सीमामा खटिएको प्रहरीले नियन्त्रणमा चासो नराख्दा सस्तो उत्पादन तस्करी भइरहेको छ ।

भारतबाट अवैध रुपमा भित्रिएको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि स्वदेशका उद्योगमा ताला लागेको छ । सरकारले आर्थिक वर्ष २०६९/७० देखि यस्ता उद्योगलाई अन्तःशुल्क लिन थालेपछि दुर्दशा शुरू भएको उद्योगीहरु बताउँछन् ।

‘प्रतिकिलो ५० रुपैयाँबाट शुरु भएको अन्तःशुल्क अहिले ३६५ रुपैयाँ पुर्‍याएको छ । त्यसमा ४० रुपैयाँ स्वास्थ्य कर पनि थपिन्छ । कच्चा पदार्थ भित्र्याउँदा भन्सारमा किलोको १०० रुपैयाँ महशुल तिर्नु पर्छ,’ उद्योगीले भने, ‘उता भारतीय उत्पादनमा ५ प्रतिशत बस्तु तथा सेवा करवाहेक केही छैन । भारतबाट सस्तो उत्पादन भित्रिएपछि यताका उद्योगमा ताला लाग्यो ।’

वीरगञ्ज, विराटनगर, बुटवल, नेपालगञ्ज, धनगढीलगायतका स्थानमा खुलेका १७ उद्योगमध्ये ८ ओटाले त कम्पनी नै बन्द गरिसकेका छन् । ९ ओटाले उत्पादन बन्द गरे पनि नीतिगत सुधारको आशमा उद्योग नवीकरण गराउन भने छोडेका छैनन् ।

सरकारले स्वीट सुपारीको आयातमा पनि प्रतिकलो १०० रुपैयाँ भन्सार महशुल र ३६५ रुपैयाँ अन्तःशुल्क तोकेको छ । तर, भन्सारबाट स्वीट सुपारी भित्रिएको तथ्यांक छैन । स्वदेशी बजारमा भने भारतमा बनेको स्वीट सुपारी छ्याप्छ्याप्ती भेटिन्छ ।

भारतमा स्वीट सुपारीमा ५ प्रतिशत जीएसटी तिरे पुग्छ । सरकारले लगाएको अत्याधिक करका कारण स्वदेशमा उत्पादित स्वीट सुपारीको लागत महँगो पर्ने र भारतमा उत्पादित सस्तो उत्पादन अनधिकृत रुपमा भित्रिएको उद्योगी बताउँछन् । वीरगञ्ज भन्सारका अधिकृत रामचन्द्र ढकालले भन्सारबाट स्वीट सुपारी नभित्रिएको बताए ।

भन्सार विभागको तथ्यांकले गत आर्थिक वर्ष २०७९/८० को वर्षभरिमा जम्मा ८ किलो आयात भएको देखाउँछ ।
स्वदेशी उत्पादकहरू वार्षिक २००० टन खपत हुने दाबी गर्दछन् । भारतसँगको खुला सिमानाबाट अवैध रुपमा भित्रिने स्वीट सुपारीले स्वदेशी बजारमा कब्जा जमाएको छ ।

सरकारले उच्च दरको कर लिन थालेपछि अहिले स्वदेशमा उत्पादित स्वीट सुपारी खुद्रा व्यापारीलाई प्योकटको १४५ रुपैयाँ पर्ने उत्पादक बताउँछन् । भारतबाट अवैध रुपमा भित्रिएको यस्तो उत्पादन भारतीय रुपयाँ (भारु) ३० (४८ रुपैयाँ) मा व्यापारीकहाँ पुग्ने भएपछि स्वदेशी उत्पादन बन्द भएको हो ।

सरकारले अनधिकृत आयात नियन्त्रणका लागि भन्दै सिमानामा भन्सार र सशस्त्र प्रहरी खटाएको छ । जनपद प्रहरीले पनि यसमा निगरानी राखेको हुन्छ । सीमावर्ती जिल्लामा खटिएको प्रहरीले दिनहुँजसो तस्करीका सामान समातिएको विवरण सार्वजनिक गर्छ । तर, अवैध आयातकै कारण स्वदेशका डेढ दर्जन उद्योग बन्द भएको उद्योगीहरूको गुनासो छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button