अर्थदृष्टि/संवाद

यसकारण निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल

Thrill Factory
Rungta Group

नेपाल नागरिक उड्डयन प्राधिकरणले हालै सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माण गर्न नसकिने निष्कर्ष निकालेसँगै यस्ता पूर्वाधारको आर्थिक सम्भाव्यताको बहस पुनः एकपटक सतहमा आएको छ ।

यो निष्कर्षले यस्ता बहुआयामिक योजनाहरू नेताका लहडमा होइन, आवश्यकता र आर्थिक सम्भाव्यताका अधारमा अघि बढाउनुपर्छ भन्ने तथ्य पुनः एकपटक स्थापित गरिदिएको छ, यसमा विवाद छैन । अहिलेसम्म बनाइएका यस्ता पूर्वाधार भौतिक र आर्थिक पक्ष सापेक्ष बनाइएको छ कि छैन भन्ने पनि प्रश्न स्वाभाविकरूपमा उठेको छ ।

नेपालमा ५० को हाराहारीमा विमानस्थल छन् । तीमध्ये डेड दर्जनजति बन्द अवस्थामा छन् । यसमा भएको आर्थिक र भौतिक लगानी खेर गइरहेको अवस्था छ । जनताले तिरेको कर वा जनतामाथि ऋणको भारी बोकाएर बनाइने यस्ता पूर्वाधारको असफलताको जवाफ कसैले दिनु नपर्ने भएपछि यस्तो लहड बढेको छ ।

सञ्चालन भएका पनि घाटामा छन्, पोखरा र भैरहवा विमानस्थल यसको ताजा उदाहरण हुन् । व्यावसायिक सम्भाव्यता नभएका क्षेत्रमा विमानस्थल बनाइनुहुँदैन भन्नेमा स्पष्ट हुन आवश्यक छ ।

निजगढ नै कसरी उपयुक्त छ त ? सम्भाव्यताको अवस्था हेरौं, नेपाल इन्जिनीयरिङ कन्सलटेन्सी सर्भिसेसले देशका ८ स्थानमा गरेको सम्भाव्यता अध्ययनले बाराको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त देखाएको थियो । कति अध्ययन र लगानीकर्ताका आशयले त काठमाडौंको अहिलेको अन्तर्राष्ट्रिय विमानस्थललाई घरेलु विमानस्थल बनाएर अन्तर्राष्ट्रियको रूपमा निजगढलाई मात्र प्रयोग गर्न सुझाएका थिए ।

यसमा उनीहरूको व्यावसायिक आग्रहको ओज पनि थियो । भौतिकरूपमा हेर्दा पनि काठमाडौं उपत्यकामा जनसङ्ख्याको बढ्दो चापका कारण यो विमानस्थल अब मध्य शहरमा पर्न गएको छ । अन्तर्राष्ट्रिय अभ्यासमा पनि यस्ता पूर्वाधारलाई मुख्य शहरभन्दा बाहिरी क्षेत्रमा राख्ने गरिएको छ । निजगढ यसका लागि सबैभन्दा नजीक र उपयुक्त विकल्प हो ।

नेपाल इन्जिनीयरिङ कन्सलटेन्सी सर्भिसेसले २०५१ सालमा गरेको अध्ययनलाई आधार मान्दा आज ३ दशक पुगिसकेको छ, तर राजनीतिक लहडमा भैरहवा र पोखरामा यस्ता विमानस्थल बनाइयो । ती विमानस्थल सञ्चालन खर्च पनि धान्न नसक्ने अवस्थामा राज्यको ढुकुटीमा बोझ बन्ने अवस्था छ । कोरियन कम्पनी ल्यान्डमार्क वल्र्डवाइडले २०६८ सालमा तयार पारेको विस्तृत सम्भाव्यता अध्ययनले पनि निजगढलाई नै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको लागि उत्तम विकल्प देखाएको थियो ।

सरकारी अध्ययनले सन् २०१९ पछि काठमाडौंको विमानस्थलले उडानको चाप व्यवस्थापन गर्न नसक्ने देखाएको थियो । आज काठमाडौंको आकाश जाम लाग्ने गरेको छ । एकाध घण्टाको उडान विलम्बलाई सामान्य ठान्न थालिएको अवस्था छ । यो अवस्थामा पोखरा र भैरहवा किन चल्न सकेका छैनन् ? काठमाडौंसँग ती शहरको सडक दूरी र पूर्वाधार मुख्य कारण हो ।

अहिले नेपाल प्रवेश गर्ने अधिकांश विदेशी उडान भारतबाट सिमराको आकाश हुँदै त्रिभुवन विमानस्थलमा भित्रिने भएकाले पनि निजगढमा विमानस्थलको सम्भाव्यता भौतिक र प्राविधिकरूपमा सहज हुन सक्दछ । निजगढबाट शुरू हुने काठमाडौं–तराई द्रुतमार्गले सङ्घीय राजधानीलाई डेढ घण्टाको दूरीमा छोट्याउँछ । यो दूरी भनेको विमानस्थलको लागि सामान्य हो ।

अन्य देशमा हे¥यौं भने पनि अन्तर्राष्ट्रिय विमानस्थलहरू मुख्य शहरबाट डेढ/दुई घण्टाको दूरीमा छन् । निजगढमा विमानस्थल बन्दा अहिले हवाई जामका कारण काठमाडौंको आकाशमा घण्टौं फन्को मार्ने जहाजलाई निजगढमा ओरालेर यात्रुलाई बढीमा डेड घण्टामा काठमाडौं पु¥याउन सकिन्छ । यसबाट बहुआयामिक बचत हुन सक्दछ ।

निजगढमा विमानस्थल र द्रुतमार्ग सञ्चालनमा आएपछि निजगढ र काठमाडौंको बीचमा अनेक स्याटलाइट सिटी निर्माण गरेर काठमाडौं उपत्यकामा मानिसको चाप घटाउन सकिन्छ । यो राजनीतिक, भौतिक र प्रशासनिक विकेन्द्रीकरणको उपायमा पनि सहयोगी बन्न सक्दछ । पूर्वाधारलाई पनि विकेन्द्रित गर्दा काठमाडौंमाथिको निर्भरता घटेर जान्छ ।

नेपालमा भारतीय पर्यटक बढी आउँछन् । यो नेपालको पर्यटकीय सम्भावना पनि हो । मधेस प्रदेशको राजधानी जनकपुरलाई पर्यटकीय पूर्वाधारयुक्त बनाएर धार्मिक पर्यटनसित जोड्न सकियो भने निजगढ विमानस्थलको व्यावसायिक उपादेयता अझ विस्तार हुन सक्दछ ।

जनकपुरलाई भारतको अयोध्यासँग भगिनी सम्बन्धमा जोड्ने र यसलाई अन्तर्राष्ट्रियस्तरको पर्यटनको केन्द्र बनाउने कुरालाई अब काममैं रूपान्तरण गर्नुपर्दछ । निजगढ र जनकपुर आसपासको जङ्गलक्षेत्र र धार्मिक स्थलहरूलाई रामायणसँग सरोकार राख्ने धार्मिक मान्यतासित जोड्नुपर्दछ । यसमा अभाव स्रोतको होइन, सोचको हो ।

अध्ययनले सबैभन्दा बढी सम्भावनायुक्त देखाएको निजगढ विमानस्थल लामो कानूनी दाउपेचपछि निर्माणको बाटो खुलेको छ । तर, स्रोत र आर्थिक सम्भाव्यतामा आवश्यकता जति मन्थनसमेत देखिएको छैन । अहिलेसम्म करीब दर्जन लगानीकर्ता चासो देखाएर पछि हटिसकेका छन् । ईआइए प्रतिवेदन विस २०७३ ले विमानस्थल ३ चरणमा बनाउने भनेको थियो । यो विमानस्थल बनाउन डेढ दशक लाग्ने अनुमान छ ।

सरकारले २०७१/७२ मा काम थालेर २०८५/८६ मा सक्ने योजना सरकारले बनाएको थियो । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले वर्ष २०८०/८१ मा यसको निर्माण थाल्ने उल्लेख गरे पनि अहिलेसम्म कुनै सङ्केत देखिएको छैन । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिले लगानीको स्रोत निश्चित गरेर मात्र विमानस्थलको काम अघि बढाउन २०७५ सालमैं निर्देशन दिएको थियो । तर, अहिलेसम्म स्रोतको मोडालिटीसमेत टुङ्गिएको छैन ।

कोरियन कम्पनी ल्यान्डमार्क वल्र्डवाइडले आफैंले लगानी गर्ने शर्तमा २०६८ सालमा अध्ययन गरेको थियो । समयान्तरमा यो कम्पनी पछि हट्यो । २०७६ सालमा जुरिच एयरपोर्ट इन्टरनेशनल छनोट भए पनि त्यो कम्पनीले पनि काम गरेन । जुरिच मात्र होइन, त्यसताकाका ७ ओटा कम्पनीले निर्माणमा रुचि देखाएकोमा कुनैले पनि पछि चासो राखेनन् ।

ल्यान्डमार्कले निजगढ विमानस्थल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई घरेलु उडानमा सीमित गर्नुपर्ने बताएको थियो । नेपालका अन्य कुनै पनि स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नहुने शर्त पनि अघि सारेको थियो । जुरिच इन्टरनेशनलले पनि त्रिभुवन विमानस्थल सञ्चालन गर्न पाउनुपर्ने शर्त राखेको थियो । लगानीकर्ताका यस्ता शर्तका पछाडि विमानस्थलको व्यावसायिक सम्भाव्यतामाथिको आशङ्का मुख्य होे ।

शर्तसहित अघि सरेका विदेशी कम्पनीहरू धमाधम पछि हट्नुले लगानीकर्ता यसको व्यावसायिक सम्भाव्यताको पाटोमा ढुक्क हुन नसकेको स्पष्ट सङ्केत हुँदाहुँदै भैरहवा र पोखरामा लगानी खन्याउनु भनेको सबैतिरको सम्भावना बिथोल्नु हो । लगानीको सुरक्षा र लाभ निश्चित नभएसम्म लगानीकर्ता आउँदैनन् । यो लगानीकर्ताको आम प्रवृत्ति हो ।

अहिले भारतको अडानी समूहले निजगढसहित नेपालका अन्य विमानस्थल निर्माण र सञ्चालनमा रुचि देखाएको समाचार आएका छन् । सरकारले यस्ता रुचिहरूको सहजीकरण गरेर लगानी भित्रिने वातावरण बनाइदिनुपर्छ ।

अहिले पनि निजगढलाई अन्तर्राष्ट्रिय विमान स्थलको रूपमा तयार पारेपछि अन्यलाई घरेलुमा उपयोग गर्न सकिने सम्भावना जीवितै छ, तर यसका लागि लगानीकर्ताको रुचि सम्बोधन कसरी गर्ने भन्ने मुख्य कुरा हो । व्यावसायिक सम्भावना देखेनन् भने लगानीकर्ता आउँदैनन् । लगानीको सुरक्षा र लाभको ग्यारेन्टीमा उनीहरूको मुख्य सरोकार हुन्छ ।

विमानस्थल निर्माणमा ठूलो लगानी खर्च हुन्छ । सञ्चालनका लागि पनि ठूलै खर्च चाहिन्छ । यो खर्च धान्न नसक्ने गरी विमानस्थल बनाउँदा त्यसको खर्चको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठ्छ । लगानीकर्ताले यसमा चासो र सतर्कता देखाउनु स्वाभाविक हो ।

सरकार आफैं यस्ता ठूला पूर्वाधारमा लगानी गर्न सक्ने अवस्थामा नभएको र त्यो खुला बजार अर्थतन्त्रको अवधारणा अनुरूप पनि नहुने हुँदा लगानीमैत्री नीति बनाएर लगानीकर्तालाई आकर्षित गर्ने काम गर्नुपर्दछ । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्दैछ । यसका लागि त्यो अवसरको कति उपयोग गर्न सक्दछ, सरकारको तत्परता र दक्षतामा भरपर्ने कुरा हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button