अर्थ

औद्योगिक क्षेत्रमा नियमित विद्यूत आपूर्तिको माग, सुन्ला त प्राधिकरणले ?

Patanjali Nepal
Sweet Mart Food

बारा–पर्साका उद्योगीले औद्योगिक कोरिडोरमा नियमित विद्युत् आपूर्तिको माग गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले सरकारलाई पत्र लेखेर यस्तो माग गरेको हो ।

नेपाल विद्युत प्राधिकरणले दैनिक १२ घण्टा विद्युत् आपूर्ति दिने भने पनि थप ३/४ घण्टा कटौती गर्दै आएको संघको पत्रमा उल्लेख गरिएको छ । संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई लेखेको पत्रमा प्राधिकरणले अघोषित लोडशेडिङ गरेको र भनेको समयमा पनि नियमित बिजुली नदिएको बताएका छन् ।

‘पटकपटकको ट्रिपिङले उद्योग सञ्चालनमा ठूलो समस्या छ । यसबारेमा प्राधिकरणलाई बारम्बार आग्रह गर्दा पनि सुनिरहेको छैन,’ संघले भनेको छ, ‘बजारमा चरम मन्दी छ । उद्योगधन्दा क्षमताको ३०/३५ प्रतिशतमा चलेका छन् । यस्तो अवस्थामा नियमित विद्युत् आपूर्ति नहुँदा थप समस्या भएको छ ।’

कोरिडोरमा प्राधिकरणको ६६ र ११ केभी प्रसारण लाइनबाट आपूर्ति लिएका उद्योगमा प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा विद्युत् कटौती हुने गरेको छ । त्यस अलावा पनि पटकपटक गरी थप ३/४ घण्टा विद्युत् काट्ने गरेको गुनासो उद्योगीको छ ।

अहिले कुल आपूर्तिमध्ये करीब एक तिहाई भारतबाट आयात हुने गरेको छ । पछिल्लो समयमा भारतले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै विद्युत् दिएपछि आपूर्ति अनियमित भएको हो । दिउँसो अधिक भारका कारण ट्रिपिङको समस्या आएको प्राधिकरणका अधिकारीले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button