No Image Headlineदेशयस्तो पनि

केरकार गर्दा अनुसन्धान अधिकारीको मुखमा थुक्ने चोर, यस्तो छ २७ वर्षको चोरीयात्रा

Patanjali Nepal
Sweet Mart Food

चोरीका घटना नौलो अपराध मानिँदैन । तपाईं हामीले चोरीको घटना दैनिक सुन्दै आएका छौँ । अझ तपाईं हाम्रो दिमागमै चोरीमा संलग्न व्यक्ति खाना नपाएका घरबारबिहीन बाटोमै बस्नेहरुले मात्रै चोरी गर्दै हिँड्छन् भन्ने लाग्छ ।

एउटा चोरको चोरीको श्रृंखलाले हाम्रो सोचाईं गलत सावित गर्न सक्छ । ती पात्र हुन्– अमरबहादुर तामाङ उर्फ बामे । दोलखा तत्कालीन घ्याङसुकाढोकर गाउँ विकास समिति हाल मेलुङ गाउँपालिका–३ का ४२ वर्षीय अमरले खान लगाउन नपाएर होइन् कि चोरी नै पेसा बनाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ललितपुर र उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरकै टोलीले उनलाई पछिल्लो पटक १५ मंसिरमा पक्राउ गर्‍यो, चोरीकै आरोपमा ।

चोरीमा पक्राउ पर्नेलाई अदालतले सामान्यतया धरौटीमै छाड्छ । तर, अमरको हकमा भने त्यो लागू भएन । जिल्ला अदालतका न्यायाधीशका पहिलो नजरमै उनी पटके चोर देखिए । त्यसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्‍यो ।

हाल उनी ललितपुर नख्खु कारागारभित्र छन् । यो पटक अमरले ललितपुर भैंसेपाटीस्थित नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी गरेका थिए । ४ मंसिरमा घरमा ताला लगाएर बाहिर निस्केका यादव घर फर्किदा घरभित्रको धेरै सम्पत्ति चोरिएको थियो ।

अमरले घरको ताल्चा फोडी करिब एक घण्टाभित्रै बहुमूल्य गरगहना तथा नगद चोरेर भागेका थिए । यादवको घरबाट उनले करिब २० लाख बराबरको नगद र सुनका गहना लिएर भागेका थिए ।

प्रहरीले अमरको साथबाट पाँच हजार अमेरिकी डलर, ४२ हजार नेपाली रुपैयाँ र विभिन्न कम्पनीका ल्यापटप, मोबाइल घडी र सुनका गहनासमेत बरामद गरेको थियो । अमरको यो चोरीको श्रृंखला एक–दुई पटकको होइन । अझ केही वर्षदेखि मात्रैको पनि होइन । उनले प्रहरीलाई नै चकित पार्ने गरी बयान दिए ।

तिनले बयानमा भनेका थिए, तिमी पुलिसले केही गर्न सक्दैनौं । मैले २०५३ देखि चोरी गर्दै आएको हुँ । जेल त कति पटक परे, परे कुरै छाड, तिमीहरूसँग केही बोल्दिनँ । अमरले प्रहरीलाई थर्काएनन् मात्रै बयान लिइरहेका एक प्रहरी अधिकारीको त मुखमै थुकिदिए । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार, उनी ललितपुरमा चोरीको साम्राज्य बनाएर नै बसेका थिए ।

ती अधिकारी भन्छन्, चोरीको आरोपमा पक्राउ परेकाहरुलाई सामान्य केरकार गर्दा नै सबै कुरा भनी हाल्छन् । चोरीका सामान पनि देखाई हाल्छन् । तर, अमरलाई जति गर्दा पनि उल्टै प्रहरीमाथि जाइलाग्दैछन् । चोरीको सामान देखाउन मानेका छैनन् ।

जसकारण कर्णेल यादवको घरको सामान खोज्न अमर पक्राउ गरेको करिब एक हप्ता लाग्यो प्रहरीलाई । सामानको खोजी गर्न उनकी श्रीमती र नाबालक छोरासमेत प्रहरी चौकीमा पुर्‍याइयो । छोरोको मायाले चोरीको सामान देखाएको प्रहरीको दाबी छ ।

हट्टाकट्टा अमर चोरी गर्न एक्लै जाने र कुनै समूहमा नमिसिने प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रहरीसँगको बयानमा आफैँले २०५३ सालदेखि नै चोरीमा लागेको स्वीकार गरेका अमर पहिलो पटक २०६५ मा पक्राउ परेको प्रहरीको रेकर्डले देखाउँछ । ललितपुरकै मणि राईको घरमा चोरीको आरोपमा पक्राउ परेका अमरलाई त्यो बेला भने जिल्ला अदालत ललितपुरले २ चैत २०६५ मा सफाई दिएको थियो ।

चोरीको आरोपमा सफाई पाएको दुई वर्षपछि २०६९ मा अमर फेरि चोरीकै आरोपमा पक्राउ परे । त्यो बेला स्नेहलता राणा र नारायण गिरीको घरमा चोरी गरेको आरोपमा उनी पक्राउ परेका थिए । उक्त चोरी मुद्दामा ललितपुर जिल्ला अदालतले २७ भदौ २०६९ मा अमरलाई पटके चोर भन्दै एक महिना १५ दिन कैद र दुई लाख ४५ हजार ३१७ रुपैयाँ जरिवाना गर्‍यो ।

एक महिना जेल बसेर छुटेका अमरको चोरीको श्रृंखला रोकिएन । ललितपुरकै अजयकुमार सिवाकोटीको घरमा चोरीको अरोपमा उनी फेरि २०७१ मा पक्राउ परे ।

उनलाई अदालतले दोस्रो पकटे चोरी मुद्दामा ४ महिना कैद र ४८ हजार रुपैयाँ जरिवाना तोक्यो । त्यसपछि उनी फेरि ३ वैशाख २०७२ मा पुनः पक्राउ परे । तेस्रो पटक चोरी मुद्दामा उनी नौ महिना कैद र एक लाख ८५ हजार जरिवाना हुने आदेश अदालतले गर्‍यो । यो बीचमा चोरीकै रकमले जरिवाना तिर्ने गरेको प्रहरीको भनाइ छ ।

यसबीचमा चोरीबाहेक २ पटक लागूऔषध मुद्दामा समेत अमर पक्राउ परेको प्रहरीको रेकर्डले देखाएको छ । त्यसयता पनि अमर चोरी मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्टै आएको देखिन्छ । ०७४, ०७७ मा पनि उनी पक्राउ परेको तथ्याक प्रहरीसँग छ । ०७७ पछि भने उनी मंसिरमा पक्राउ परेका हुन् ।

ललिपुरको भैँसेपाटीमा डेरा गरी बस्ने अमरको पेसा नै चोरी रहेको प्रहरीको दाबी छ । चोरेर ल्याएको रकमले उनी मोजमस्ती गरेर उडाउने गरेको प्रहरीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button