No Image Headlineदृष्टि/संवादमुख्य खबरविशेष

भैंचालोको त्रासदीबाट नसकिएको पाठ, क्षति न्यूनीकरणमा किन उदासीन ?

विसं २०७२ मा ठूलो धनजनको क्षति हुनेगरी भैँचालो जानुअघिसम्म धेरैले नब्बे सालको भैँचालो भनेर चिन्ने विसं १९९० को भूकम्पलाई पछिल्लो समयको सबैभन्दा ठूलो भैँचालोको रूपमा लिने गर्थे।

२०७२ साल वैशाख १२ गते दिउँसो ११ः५६ मा गएको भैँचालोले मुलुकभरि ठूलो धनजनको क्षति गर्‍यो। र, धेरैले आज पनि त्यसलाई नब्बे सालकै भैँचालोसँग तुलना गर्ने गरेका छन्।

भैँचालोको जोखिम क्षेत्रमा रहेको भनिएको नेपालमा वारंवार नब्बे सालको जस्तै भैँचालो आउन सक्छ भनेर जनमानसलाई सार्वजनिक रूपमा भन्ने गरेको पाइन्थ्यो।

त्यसबारे कैयौँ लेख लेखिएको भेटिन्थ्यो। स्वदेशी र विदेशी दातृनिकायको आर्थिक सहयोगमा हुने भैँचालोसम्बन्धी कार्यक्रमहरूमा पनि यस्ता अभिव्यक्ति सार्वजनिक हुने गरेको सुनिन्थ्यो।

बहत्तर सालको भैँचालोमा हामीले आफ्नै पालामा हाम्रा बा वा हजुरबाहरूले सुनाउने गरेको नब्बे सालको भैँचालोको कथाजस्तै भयानक विपद् भोग्यौँ।

तर न सर्वसाधारण न त सरकारी ओहोदामा रहनेहरूले त्यस भैँचालोबाट पाठ लिएको देखिन्छ। अहिले पनि भैँचालो थाम्ने खाले निर्माण नभइरहेको गुनासो सार्वजनिक हुने गरेको छ।

विशेष गरेर सहरी क्षेत्रमा त्यस्तै विपद् पर्दा आवश्यक पर्ने खुला स्थानहरू राखेको देखिँदैन। विभिन्न ऐतिहासिक ग्रन्थ, लेख र लेखोटहरू हेर्दा नेपालमा हरेक शताब्दीमा एक वा दुई ठूला खाले भैँचालाहरू गएकै देखिन्छ।

त्यस्ता भैँचालाको प्रभाव देशका धेरै भागमा परेको विवरणहरू पाइन्छन्। साना र मझौला खाले भैँचालोहरू त गइरहेकै हुन्छन्। नेपालमा गएका भैँचालाहरूको विवरण समावेश गरेर लेखिएका कतिपय पुस्तक र लेखहरूमा पनि गल्तीहरू भेटिएका छन्।

इतिहासकार महेशराज पन्तले विभिन्न ऐतिहासिक अभिलेखहरूका आधारमा नेपालमा गएका भूकम्पहरूको अध्ययन गरेका छन् । भैँचालाहरूको कुरा गर्दा धेरैले सम्झना गर्ने पुस्तकमध्येमा ब्रह्मशमशेर जङ्गबहादुर राणाले लेखेको नेपालको महाभूकम्प पर्छ।

यो पुस्तकमा नब्बे सालको भैँचालोको विषयमा धेरै र त्यसभन्दा अघिका भैँचालोहरूका विषयमा केही उल्लेख गरिएको पाइन्छ। यो नब्बे सालको भैँचालो गएको एक वर्षपछि प्रकाशित भएको थियो।

तर त्यसमा नब्बे सालअघिको भैँचालोबारे राणाले लेख्दा गल्ती हुन गएको भनी नयराज पन्त भन्ने गर्थे। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा प्रयोग भएका हतियार कस्ता छन्
उक्त पुस्तकको आफ्नो निजी प्रतिमा उनले त्यसको संशोधन पनि गरेर राखेका थिए।अध्ययन गर्दै जाँदा मैले पनि त्यो पुस्तकमा गल्तीहरू भेट्दै गएँ।

नेपालको खानी तथा भूगर्भ विभागका भूगर्भशास्त्रविद् र भूकम्पविद्याविद् जीआर चित्रकार र माधवराज पाण्डेले अङ्ग्रेजी भाषामा लेखेको इतिहासमा चढेका, नेपालमा गएका भैँचाला भन्ने एउटा लेखमा पनि ब्रह्मशमशेरकै गल्ती दोहोर्‍याएको भेटियो।

नब्बे सालको भूकम्पलगत्तै ब्रह्मसंशेर जङ्गबहादूर राणाले लेखेको नेपालको महाभूकम्पु पुस्तकलाई नेपालमा गएका भूकम्पहरूको विवरण भएको एउटा महत्त्वपूरण किताब मानिन्छ ।

नेपालका प्राचीन टिपोट र अभिलेखहरूको हालसम्मको अध्ययनले नेपालमा गएका भैँचालामध्ये ऐतिहासिक तथ्य भेटिएको सबैभन्दा पुरानो भैँचालो भनेको विसं १२८० मा गएको भैँचालो हो। यो त्यस वर्षको पौष शुक्ल प्रतिपदाका दिन गएको भनिएको छ।

यसबीच दिनेशराज पन्तको अन्वेषणबाट पनि भैँचालाको इतिहासको विषयमा केही तथ्य फेला परे।

राजाकै मृत्यु

गोपालराजवंशावली अनुसार विसं १३१२ को भैँचालोमा त्यसबेलाका राजा अभय मल्लको मृत्यु भएको उल्लेख छ। त्यस भैँचालोले देवल र घरहरू धेरै भत्किएको र तीन भागको एक भाग प्रजाहरूको मृत्यु भएको भन्ने विवरण त्यसमा देखिन्छ।

त्यसबेला चार महिनासम्म जमिन हल्लिरहेको वंशावलीमा उल्लेख भएकोले उसबेला पनि अहिले जस्तै परकम्पहरू आएका रहेछन् भन्ने बुझिन्छ।

भैँचालोकै कारण १५ दिनदेखि एक महिनासम्म देश छाडेर बाहिर जानुपरेको विवरण ऐतिहासिक दस्तावेजमा पाइन्छ। विसं १४०१ मा गएको भैँचालोलाई चाहिँ ठूलो भैँचालो भनेर गोपालराजवंशावलीमा लेखिएको छ। त्यो भैँचालो दशैँको फूलपातीका दिन गएको रहेछ।

त्यसको भोलिपल्ट महाष्टमीका दिन राजा अरि मल्लको मृत्यु भएको ऐतिहासिक विवरण भेटिएको छ। त्यसबेला भक्तपुर शासनको केन्द्र थियो। तर अरि मल्लको मृत्यु भने देउपाटन पशुपतिक्षेत्रमा भएको उल्लेख छ।

त्यसबेला राजाहरूको राज्याभिषेक देउपाटनमा नै गर्ने चलन थियो। मृत्यु हुन लागेकाहरूलाई पशुपतिक्षेत्र लाने चलनअनुसार अरि मल्ललाई पनि त्यसबेला देउपाटन लगिएको हुनसक्छ।

विसं १२८० देखि विसं १९९० सम्ममा ४८ वटा भैँचालाहरू गएका विवरणहरू तथ्यसहित भेटिएका छन्। त्यस यता २०४५ सालमा मझौला खालको र २०७२ सालमा ठूलो भैँचालो गएका हुन्।

झन्डै आठ सय वर्षको नेपालको इतिहासमा २०४५ सालको भैँचालोलाई पनि सामेल गर्दा कुल ५० वटा ठूला भैँचाला गएको देखिन्छ।

कतिपय ऐतिहासिक विवरणहरूमा ती भैँचालाहरूले ठूलो क्षति पुर्‍याएको उल्लेख छ। अन्य शास्त्रमा जस्तो औसत निकाल्न मिल्ने भए करिब आठ सय वर्षको यो विवरण हेरेर हामी हरेक १६ वर्षमा एउटा भैँचालो जानसक्छ भन्न सक्थ्यौँ।

तर इतिहासमा न यस्तो औसत निकाल्न मिल्छ न त त्यसो गर्नु वैज्ञानिक नै हुन्छ। यसरी औसत निकाल्न किन पनि मिल्दैन भने कुनैकुनै साल एकै वर्षमा धेरैपटक भैँचाला पनि गएका छन्। यसले नेपाल भैँचालाको जोखिममा रहेको कुरालाई भने स्पष्ट पार्छ।

इतिहासका यी विवरणहरूको विश्लेषण गरेर भूकम्पविद्याविद्हरूले आफ्नै ढङ्गले वैज्ञानिक विश्लेषण पनि गर्न सक्लान्। नेपालमा अभिलेख राख्ने राम्रो परम्परा नभएकोले यस्ता भैँचाला यी भन्दा धेरै नै बढी गए होलान् भनी अनुमान गर्न सकिन्छ।

भैँचालोको इतिहासको जे जति खोजी भयो त्यो पनि एकाध मानिसको व्यक्तिगत प्रयासमा भएकोले यो निकै अपूर्ण छ। भैँचालाको बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै तर्फबाट प्रशस्त खर्च भइरहेको छ। बीबीसीको सहयोगमा

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button