दृष्टि/संवाददेशमुख्य खबरविशेष

भारतलाई गाली गरेर ‘राष्ट्रवादी’ बन्ने कि तथ्य स्वीकारेर सहकार्य गर्ने ?

हामीकहाँ अहिले एउटा राष्ट्रवादी धार छ, त्यो हो भारतलाई गाली गरेर चर्को राष्ट्रवादी बन्ने होड । आवरणमा जो यस्तो राष्ट्रवादी बढी छ, आचरणमा त्यो सबैभन्दा बढी भारतअगाडि लम्पसार परेको दृष्टान्तको पनि कमी छैन । तर, राष्ट्रवादी देखिनै होड शुरु भएपछि भारतलाई सत्तोसराप गर्नैपर्ने विचित्रको मनोविज्ञानले जरा गाडेको छ । यो नै हामीले अपेक्षमा राखेको समृछि र सुखको अवरोध हो ।

Patanjali Nepal
SweetMart Nepal

एक समय भारतविरुद्ध सुरुङ युद्ध घोषणा गरेको माओवादीको ‘जनयुद्ध’ भारतकै आडभरोसमा चलेको थियो भन्ने त घटनाक्रमहरुले प्रमाणित गरिसकेको तथ्य हो । भारतविरुद्ध आगो ओकलेर आफूलाई अब्बल राष्ट्रवादी देखिएर त्यसको ब्याजमा सत्तामा पुगेका केपी ओलीसँग भारतीय गुप्तचरहरुको घनिष्टताको सन्दर्भ नयाँ कुरा होइन ।

अहिले पनि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणअघि भारत दौडाहामा पुगकै हुन् । खासमा हाम्रो कूटनीति सापेक्ष अध्यावधि हुन सकेको छैन । अबको केही वर्षमा विश्वको एक नम्बर अर्थतन्त्र बन्ने होडमा आक्रामक रूपमा अगाडि बढेको चीन र उसको प्रतिस्पर्धा भारतसँग हुनु हाम्रा लागि अवसर र चुनौती दुवै हो भन्नेमा स्पष्ट हुनु जरुरी छ । भारतसँगको निकटता र अर्थसामाजिक सम्बन्ध हाम्रा लागि सहजमात्र नभएर बाध्यता पनि हो । हामीले चीनसँग जति नै हिमचिम बढाए पनि हाम्रो दिनैन्दिन आवश्यकताको पूर्तिमा भारतकै अग्रस्थान छ । यो भावना होइन, तथ्यले प्रमाणित गर्दै आएको कुरा हो ।

राष्ट्रवादी देखिन जतिसुकै चर्का कुरा गरे पनि सत्यबाट टाढिन सकिँदैन । हाम्रो आर्थिक सामथ्र्य कति रहेछ भनेर भेउ पाउन त ६ महीनाको नाकाबन्दीको असर स्मरण गरे पुग्छ । त्यसबेला जागेको राष्ट्रवादले चीनबाट कति राहत पायो ? २÷४ ट्यांकर अनुदानको तेलबाहेक अन्य उपलब्धि देखिएन । त्यसताका शुरु भएका उत्तरतिरका नाकादेखि बन्दरगाहसम्मका कुरा कालान्तरसम्म त्यति सहज देखिएका छैनन् । हाम्रो दैनिकी भारतसितै अभ्यस्त भइसकेको छ ।

यसको तात्पर्य हामी भारतमै निरन्तर आश्रित र निर्भर भइरहनु पर्दछ भन्ने होइन । हाम्रो भौगोलिक, आर्थिक र सामाजिक सत्यलाई आत्मसात गरी भारतीय अर्थतन्त्रसँग आवद्ध भएर आर्थिक विकासको उद्देश्यमा अघि बढ्नु पर्दछ । विश्वको अर्थराजनीतिलाई भारतलाई अब केन्द्रमा राख्न थालिसकेको अवस्थामा हामी भने चीनलाई देखाएर भारतलाई घुर्की लगाउने कूटनीतिमा अघि बढ्ने हो भने त्यो काम लाग्दैन ।

दुवै देशको आर्थिक वृद्धिबाट हामीले कसरी लाभ लिन सक्छौं भन्नेमा मात्रै हाम्रो छिमेक कूटनीति केन्द्रित हुनुपर्छ । हामीकहाँ यस्तो परिपक्व कूटनीतिको अभाव छ । देशको प्रधानमन्त्री चुनिनेबित्तिकै पहिलो भ्रमण भारतबाट हुन्छ कि चीनबाट ? यसका आधारमा सत्ताको आयु निर्धारण हुने मनोविज्ञानबाट हाम्रो राजनीति र छिमेकको कूटनीति मुक्त हुनुपर्छ ।

मूल विषय त ती देशबीच आर्थिक हित र समृद्धिका विषयमा सहकार्यका कस्ता आधारहरू निर्माण भइरहेका छन् भन्ने हुनुपर्छ । नेतृत्वले सहकार्य र समझदारीमा आफूलाई कत्तिको इमानदार बनाएका छन् ? त्यसमा द्विपक्षीय सम्बन्धको सार्थकता निर्धारित हुन्छ । तर, हामीकहाँ त दुई ठूला अर्थतन्त्रको अवसर उपयोगभन्दा पनि एउटालाई देखाएर अर्कोलाई घुर्की लगाउने काइते कूटनीति हाबी छ ।

हामीलाई थाहा छ, विश्वको राजनीति अब नजिक, टाढा र वैचारिक वादभन्दा पनि आर्थिक स्वार्थमा बढी एकोहोरिएको छ । भारत र चीन सामरिक र आर्थिक शक्तिका सवालमा एकअर्काका प्रतिस्पर्धी हुन् । कतिपय स्थानमा यी देशबीच सिमानाका विषयमा तिक्तता नभएका होइनन् । तर, आर्थिक स्वार्थले यी देशलाई एकअर्कासँग एकै ठाउँमा ल्याइदिएको छ ।

आज पनि चिनियाँ नेतृत्व नेपाललाई भारतसँग असल सम्बन्ध बनाएर राख्न सुझाउँछ, किन ? चीन नेपालको मामिलामा बढ्दा पसेर भारतलाई चिढ्याउन चाहाँदैन । भारतलाई देखाउनकै लागि चीनले नेपालसँग विशेष सम्बन्ध र सहयोग गर्छ भनेर भन्ठान्नु नेतृत्वको अल्पज्ञानमात्रै हो ।

चीन र भारत दुवै एकअर्काका उत्पादनका लागि ठूला बजार हुन् । एउटाको आर्थिक हितका लागि अर्काको खाँचो छ । आर्थिक स्वार्थमा एक ठाउँमा उभिएका चीन र भारतलाई देखाएर एकअर्कालाई घुक्र्याउने कूटनीति कति कमजोर र अपरिपक्व मानसिकताको उपज होला ? अनुमान असहज छैन ।

नेपालको भारतसँग १७५१ किलोमीटर खुला सिमानामात्र जोडिएको छैन, भौगोलिक, सामाजिक र सांस्कृतिक रूपमा पनि नेपाल र भारत एकअर्कासित सहज छन् । भारतलाई गाली गरेर राष्ट्रवादका जति नै चर्का कुरा गरे पनि नेपालको २ तिहाई वैदेशिक व्यापार र ९० प्रतिशत ढुवानीमात्र होइन, दिनैन्दिन आपूर्ति भारतमै आश्रित छ ।

भारत र चीनसितको असल सम्बन्ध र आपसी हित प्रवर्द्धनविना हामीले लक्ष्यमा राखेको आर्थिक विकास, समृद्धि र खुशी भेट्टाउन सम्भव छैन । भारत र चीनपरस्त होइन, हामी आफ्नो हितपरस्त हौं । असल छिमेकी हुनुका नाताले दुवै छिमेकीका जायज चासोलाई उपयुक्त तरीकाले समाधान गर्न सक्छौं भन्नेमा आश्वस्त पार्न नसक्नु हाम्रो कूटनीतिक कमजोरी हो । दुई छिमेकीलाई मनोवैज्ञानिक रूपमा भिडाएर होइन, रिझाएरमात्रै हामीले आफ्नो आर्थिक हित पूर्तिका आधारलाई बलियो बनाउन सम्भव छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button