हरि गौतमको विचार-मधेसमा सामाजिक समस्याको समाधान कसरी होला ?
प्रहरी उपरीक्षक होविन्द्र बोगटी सरुवा भई काठमाडौं जाने सिलसिलामा गत महीना उहाँसँग ‘पुन: भेटौंला’ कार्यक्रम राखिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीसहित हामी १५/२० जना उपस्थित थियौं ।
छलफलकै क्रममा उद्यमी अनुप अग्रवाल र सञ्चारकर्मी मुस्कान श्रेष्ठले प्रहरी उपरीक्षकसँग दुईओटा जिज्ञासा राखे । पहिले मधेशका युवाको अवस्था कस्तो छ र के युवा कुलतमा फस्ने प्रवृत्ति बढेको हो ? दोस्रो, मधेशमा महिलाको अवस्था कस्तो छ ? प्रहरी उपरीक्षकले हामीलाई आफ्नो अनुभव सुनाउन थाले, जुन हामीलाई झस्काउने खालको थियो ।
उनको भनाइ यस्तो थियो– अहिले धेरै युवा लागूऔषधको कुलतमा फसेका छन् । उनीहरूको घर तनावमा छ । दुव्र्यसनमा फसेको १६ वर्षको किशोरले घरमा गाडेको कल चोरेर २०० रुपैयाँमा बेच्दै गरेको फेला पर्यो । ऊ पक्राउ पर्यो तर कारबाही गर्न उसको उमेर पुगेको थिएन । प्रहरीले बाबुलाई भने किन यसलाई सम्झाएर नसुधारेको ?
बाबुको जवाफ बडो मार्मिक थियो, ‘यसले हाम्रो सबै घर बर्बाद गरिसक्यो, धन, धर्म र इज्जत सबै सकियो । यो मरोस् भनेर हामीले ३ पटकसम्म हिँड्दै गरेको ट्रकको छेउमा धकेलिदियौं तर बाँच्यो के गर्नु सर !’ यसरी मधेशमा अहिले यो समाजको समस्याका रूपमा बढिरहेको छ ।
सामाजिक सञ्जाल, मोबाइल, विभिन्न सोसल साइट आदिको प्रभावले युवाहरू गलत कार्यमा लागिरहेका छन् । सानै उमेरका केटाकेटी बीच प्रेम, यौनसम्बन्ध, भागी विवाह आदिले गर्दा समाज विखण्डन भइरहेको छ । कानूनले २० नपुगी केटाकेटीको विवाह वर्जित गरेको छ । अब ७, ८ कक्षा पढ्दापढ्दै उनीहरू एकअर्कोसँग प्रेम गर्न थाल्छन् ।
प्राय: १४/१५ वर्ष पुग्दासम्म त यो भयावह अवस्थामा हुन्छ । घरमा अभिभाकलाई थाहै हुँदैन । अथवा थाहा पाइहाले भने अभिभावकलाई टेर्दैनन् । फलत: प्रेम असफल हुने, भागी विवाह गर्ने, उमेर नै नपुगी गर्भवती हुने, तर कानूनले मान्यता नदिनेजस्ता अनगिन्ती समस्या युवाहरूबीच छ ।
दिनहुँ प्रहरीहरू यस्तै मुद्दा हेर्दै हैरान छन् । १६ वर्ष उमेरका जोडीहरू पक्राउ परी प्रहरीकहाँ ल्याइए । उनीहरूलाई थुनौं नाबालिग के गर्ने ? प्रहरीले सम्झायो । तिमीहरू उमेर नपुगी किन यस्तो कार्य गर्छांै ? अहिले पढ्न ध्यान देऊ, पछि उमेर पुगे पछि विवाह गरौला । केटी भन्छे, ‘म त यो केटासँग ६ वर्ष अघिदेखि रिलेशनसिपमा छु । कसरी छुटिनु, छुटिनुभन्दा त मर्नु जाति ।’ युवाहरूबीच देखिएको यो प्रमुख समस्या हो ।
अर्को दृष्टान्त – गाउँमा एक केटो छ । ऊ ठीकै आर्थिक अवस्थाको छ । ऊ पढाइमा कमजोर छ र फटाहा पनि छ । कुनै इलम छैन । उसले पढाइमा ध्यान दिएन, कुनै सीप सिकेन । तसर्थ रोजगारी पाउने सम्भावना भएन । अब उसको विवाह गर्ने बेला भयो । लमीहरू उसका लागि प्रस्ताव लिएर आए । केटीतर्फ लमीले बढाइचढाइ भन्यो, केटो अब्बल छ, खानदानी छ, आदि । केटी पक्षकाले सुन्दा राम्रै लाग्यो । दाइजोको कुरा मिल्यो, विवाह भयो ।
बेहुली घरमा आइन् । सासू, ससुरा नन्द आदिसँग घरको काम सम्हाल्न थालिन् । तर, घरमा आएको १५ दिनसम्म पनि दुलहा अफिस गएन । खाना खाएर बाहिर हिँड्यो, अलिअलि मदिरा सेवन गरेर बेलुका साँझमा घर आयो, सुत्यो । ठूलो उद्योगपतिले नोकरी दिन्छु भनेर विवाह गरेको, खेतबारी धेरै छ भनेको त्यो पनि होइन रहेछ ।
केटो अब्बल छ भनेर बढी दहेज दिएर विवाह गरेको त्यो पनि होइन रहेछ । उनी आत्तिन थालिन् । बिस्तारै यो कुराहरू दुलहालाई राख्न खोज्दा तँलाई के मतलब भनेर कुट्न पो थाल्यो । विवाह भएपछि बच्चा हुनु त प्रकृतिको नियम नै हो । उनी त्यस परिवारमा कहिल्यै पनि निस्कन नसक्ने गरेर फसिन् । उनको जीवन कहिल्यै सुखमय हुन सकेन ।
यस्ता समस्या मधेशमा महिलामाथि हुने सामाजिक समस्याका रूपमा रहेको छ । महिलामाथि कुटपिट, यातना र हत्यासम्मका अपराधहरू भइरहेका छन् । दाइजोका कारणबाट सासू, ससुरा नन्द, अमाजूलाई मन नपरेको र घरायसी कठोर काम गर्न नसकेको कारण धेरै घरमा बुहारीमाथि चरम याताना हुने हुनेक्रम रोकिएको छैन ।
फलत: छोरी जन्मिँदा दु:ख मान्ने, छोरीलाई धेरै पढाए बढी दहेज दिन नसकी छोरीको विवाह गर्न समस्या हुने भएकोले नपढाउने, सानैमा विवाह गरिदिने र छोरीको विवाहका लागि लिएको ऋण तिर्न नसकी धेरै घर बर्बाद हुनेजस्ता अनगिन्ती समस्या छन् । हामीले संविधानमा राज्यको समावेशी स्वरूपको परिकल्पना गर्यौं तर व्यवहारमा त्यो बिल्कुलै लागू गर्न सकेका छैनौं ।
समावेशीबाट आउनुपर्ने वास्तविक प्रतिनिधिहरू सम्भ्रान्त परिवार वा पार्टीका उच्च नेतृत्वको श्रीमती, छोरी वा प्रेमिका हुने प्रथाले गर्दा संविधानमा व्यवस्था पनि यसले मधेशका पिछडिएको वर्गलाई न्याय दिन सकेको छैन । आर्थिक अभियान साभार