No Image Headlineअर्थ

प्रम भारत भ्रमण : बथनाह-विराटनगर कार्गो रेल उद्घाटन हुँदै

Thrill Factory
Rungta Group

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतको बथनाहदेखि विराटनगर एकीकृत जाँच चौकी (आईसीपी)सम्म अन्तरदेशीय कार्गो रेल उद्घाटन हुने भएको छ ।

भारतीय विदेश मन्त्रालयले रेलवे मन्त्रालयलाई पत्राचार गर्दै कार्गो रेल उद्घाटनको आवश्यक तयारी गर्न भनेको छ । प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने बताइएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा जुन १ (जेठ १८ गते)मा कार्गो रेल उद्घाटन गरिनेछ । भारतको सहयोगमा आईसीपीसम्म रेलमार्ग, भन्सार यार्डलगायतका पूर्वाधार तयार भएको छ । केही दिनअघि भारतीय वित्त मन्त्रालयले राजपत्रमा सूचना निकालेर विराटनगर आईसीपीबाट बल्क कार्गो भित्रिने व्यवस्था गरेको थियो ।

नेपाल–भारत पारवहन सन्धिको कार्यविधि संशोधन गरेर बल्क कार्गोका लागि बथनाहा हुँदै भारतीय सीमा शुल्क यार्ड, जोगवनी र नेपालको विराटनगर जोड्ने रेलमार्ग उपयोगको बाटो खोलेको हो ।

कोलकाता बन्दरगाहबाट डनलप पुल, कृष्णनगर, फारबिसगञ्ज–जोगवनी हुँदै विराटनगरसम्मको सडक मार्गलाई पनि संशोधनले उल्लेख गरेको थियो । बथनाहा–विराटनगर अन्तरदेशीय कार्गो रेल सञ्चालनले भारत तथा तेस्रो मुलुकबाट हुने व्यापार सहजीकरण हुने कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए ।

अहिलेसम्म वीरगञ्जको सुक्खा बन्दरगाहमा रेलमार्ग जोडिएको थियो । वीरगञ्ज नाकामा मात्र सीमित रहेको रेलमार्ग विराटनगरमा पनि सञ्चालन हुनु नेपालको वैदेशिक व्यापारका लागि उत्साह भएको महावाणिज्यदूत पौडेलको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button