No Image Headlineअर्थ

मधेसमा औद्योगिक विकास : एक वर्षमा १ खर्ब लगानी, सबैभन्दा बढी कुन जिल्लामा ?

Thrill Factory
Rungta Group

मधेश प्रदेशका उद्योग प्रतिष्ठानमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय मधेश प्रदेशले तयार पारेको आर्थिक गतिविधिसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

आर्थिक वर्ष (आव) २०७८/७९ लाई आधार मानेर राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा १ खर्ब २ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष मधेशमा १ खर्ब ५ अर्ब २३ करोड रुपैयाँ लगानी भएको थियो ।

सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा लगानी भएको देखिन्छ । पर्सा जिल्लाका उद्योगमा कुल कर्जाको ५६ दशमलव शून्य ५ प्रतिशत प्रवाह भएको छ । मुख्य नाका वीरगञ्जसँगै रहेकाले वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरमा अधिकांश उद्योग खुलेका छन् ।

यो क्षेत्रमा उद्योगको संख्या बढी भएकाले औद्योगिक कर्जा प्रवाह पनि बढी देखिएको नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठको भनाइ छ । प्रदेशमा सबैभन्दा कम कर्जा सप्तरी जिल्लामा गएको देखिन्छ । सप्तरीमा कुल कर्जाको २ दशमलव ५१ प्रतिशत लगानी भएको छ ।

बैंक, वित्तीय संस्थाबाट भएको कर्जा प्रवाहमध्ये सबैभन्दा बढी गैरखाद्यवस्तु उत्पादन उद्योगमा छ । यो क्षेत्रमा ५२ दशमलव ३९ प्रतिशत र कृषि वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३० दशमलव ५७ प्रतिशत कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांक छ ।

त्यस्तै धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादनतर्फ ७ दशमलव ६२ प्रतिशत, निर्माण उद्योगतर्फ ७ दशमलव २७ प्रतिशत, खानी उद्योगतर्फ १ दशमलव ६६ प्रतिशत र विद्युत्, ग्यास तथा पानी उद्योगतर्फ शून्य दशमलव ४८ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंक प्रदेश कार्यालयले बताएको छ ।

समीक्षा वर्षमा खानी, धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक, कृषि वन तथा पेय पदार्थ उत्पादन र गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगतर्फको कर्जा वृद्धि भएको तथ्यांक छ ।

निर्माण र विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगतर्फको कर्जामा भने ह्रास आएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । समीक्षा वर्षमा मधेश प्रदेशका उद्योगहरूको औसत उत्पादन वृद्धि खस्किएको छ । आव २०७८/७९ मा नमूना छनोटमा परेका ३० उद्योगको उत्पादन वृद्धि ५ दशमलव २३ प्रतिशत छ ।

अघिल्लो वर्ष यस्तो वृद्धि १२ दशमलव १० प्रतिशत थियो । समीक्षा वर्षमा छाला तथा छालाको सामान उत्पादन गर्ने उद्योगको उत्पादन बढेको र प्लास्टिकजन्य वस्तु उत्पादन गर्ने उद्योगको उत्पादनमा ह्रास आएको तथ्यांक छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button