प्रचण्ड : कृषि पढाउने शिक्षकदेखि देशको प्रधानमन्त्रीसम्म

प्रचण्डले १७ वर्षको उमेरमै २०२८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। त्यसपछि उनी राजनीतिमा विभिन्न भूमिकामा अघि बढ्दै गए। तर उनी आबद्ध सङ्गठनबाहिर प्रचण्डको परिचय कृषि विषय पढाउने शिक्षकको थियो।
कृषिमा स्नातक गरेका प्रचण्ड भूमिगत हुनुअघि गोरखाको भीमोदय माविमा पढाउँथे। उनका सहकर्मी शिक्षकहरूका अनुसार प्रचण्डले आवश्यकताअनुसार विज्ञान, गणित र अङ्ग्रेजी पनि पढाए।
उहाँ राजनीतिमै हो भन्ने मलाई थाहै थिएन। त्यो बेला उहाँले राजनीतिक सङ्गठन पनि बनाउने, बैठकमा जाने गर्नुहुँदो रहेछ, गोरखामा प्रचण्डका घरपति पनि रहेका पूर्वशिक्षक गणेशकुमार श्रेष्ठले भने।
पछिपछि प्रचण्ड कम्पोस्ट मलको खाडल र चर्पी बनाउन सिकाउने भन्दै विद्यालय छुट्टी भएका बेला गाउँ जाने गरेका थिए। गएको बेला लामो बाहुले स्वेटरमा असजिलो गरी लुकाएर (त्यो बेला प्रतिबन्धित) किताबहरू ल्याएर पढ्नुहुँदो रहेछ, उनले भने।
पढाउँदापढाउँदै एक दिन प्रचण्डले शिक्षकबाट राजीनामा दिएर चितवन फर्किने कुरा सुनाए। बाहिरबाहिर चाहिँ उहाँ रामपुरमा एमएससी पढ्छु भनेर जानुभयो। तर उहाँलाई पार्टीले नै आरुघाट पठाएको रहेछ, पार्टीले फिर्ता हुन भनेपछि छोड्नुभएको रहेछ। पछि मात्रै थाहा भयो, शिक्षकबाट राजीनामा दिँदाको प्रसङ्गबारे श्रेष्ठले भने।
देशमा माओवादी युद्ध सुरु भएपछि त्यसका कमान्डर प्रचण्डको राज्य पक्षले खोजी सुरु गर्यो। प्रचण्ड गोरखामा शिक्षक हुँदा प्रधानाध्यापक रहेका रामकुमार श्रेष्ठ जनयुद्ध सुरु भएको केही वर्षपछि प्रचण्डको गृहजिल्ला चितवनको प्रमुख जिल्ला अधिकारी भए।
म सीडीओ भएर जाँदा (तात्कालिक) गृहमन्त्री वामदेव गौतमले तपाईँले चिन्नुभएको पनि छ प्रचण्डलाई, जसरी भए पनि गिरफ्तार गर्नुहोस् है भन्नुभएको थियो, श्रेष्ठ सुनाउँछन्।
युद्ध सुरु हुनुभन्दा अघिबाटै भूमिगत रहेका प्रचण्डलाई कमैले मात्रै चिन्ने गरेका थिए। सर्वसाधारणमा प्रचण्ड छन् वा छैनन् भन्नेसम्मको आशङ्का रहेको श्रेष्ठ बताउँछन्।
माओवादीले २०५५ फागुन १ मा जनादेश पत्रिकामा प्रचण्डको तस्बिर सार्वजनिक गरेको थियो। गोरखाका श्रेष्ठलाई तस्बिर देखाएर सरकारी अधिकारीहरूले समेत प्रचण्ड त्यही व्यक्ति भए नभएको निर्क्योल गर्न भनेको उनले बताए।
मलाई चाहिँ सोधियो – तपाईँ त उहाँको साथी हो, पुष्पकमल दाहाल भन्ने मान्छे कस्तो छ? यो फोटोमा भएकै मान्छे हो त? भीमोदय माविका पूर्वप्रधानाध्यापक श्रेष्ठ भन्छन्। उनै श्रेष्ठ पछि खिलराज रेग्मी नेतृत्वको सरकारमा प्रचण्डको पहलमा मन्त्री समेत भए।
कम्युनिस्ट राजनीतिमा संलग्न भएको १८ वर्षपछि ३५ वर्षको उमेरमा प्रचण्ड नेकपा मशालको महामन्त्री भएका थिए। उक्त पार्टीमा प्रमुख पद नै महामन्त्री रहने व्यवस्था थियो।
तर प्रचण्ड महामन्त्री भएको प्रसङ्ग रोचक छ। प्रचण्डले योङ कम्युनिस्ट लीगमा राम्रो क्षमता देखाएका कारण उनलाई तात्कालिक मशालको केन्द्रीय सदस्यमा परेका थिए। उनी त्यहाँ पनि लोकप्रिय हुँदै गए।
विसं २०४३ सालमा मोहन वैद्यले नेतृत्व गरेको मशालले पञ्चायती व्यवस्थाले घोषणा गरेको निर्वाचन बिथोल्न प्रहरी चौकीहरूमा आक्रमण प्रयास गर्यो। कम्युनिस्ट राजनीतिमा उक्त घटनालाई सेक्टर काण्ड भनेर चिनिँदै आएको छ।
आक्रमण सफल नभएपछि पार्टी भित्र वैद्यले पार्टी नेतृत्व छोड्नुपर्ने माग उठ्यो। त्यसपछि मोहन वैद्य आफैँले सेक्टर काण्डमा संलग्न नेताहरू एक तह घटुवा गर्ने प्रस्ताव राखेका थिए।
तात्कालिक मसालका नेता नारायणप्रसाद शर्मा चाहिँ वैद्यलाई हटाएर पार्टी प्रमुख हुन प्रचण्डले नेतृत्वमाथि आलोचनाको वातावरण बनाएको बताउँछन्।
त्यो वातावरण तयार गर्नेमा प्रचण्डको केही न केही भूमिका छ। एक पटक सुल्झिसकेको विषयलाई पटकपटक उठाइरहनुमा प्रचण्डको हात छ, शर्मा भन्छन्। माओवादीका संस्थापक केन्द्रीय सदस्य शर्मा पछि पार्टी विभाजनमा वैद्यसँग गए। उनी अहिले राजनीतिमा निष्क्रिय छन्।
गल्ती भयो भन्ने पारियो र त्यसमा कारबाही गर्नुपर्छ भन्ने पारियो र प्रचण्डजी आउनुभएको हो। त्यो प्रक्रिया त्यति राम्रो प्रक्रिया चाहिँ थिएन क्या। क्रान्तिकारी पार्टीमा क्रान्ति सुरु गर्दा कारबाही हुनु दुर्भाग्य भएको र वैद्यले त्यस बेला उदारता देखाएको शर्माको बुझाइ छ।
यद्यपि ‘नेपाली क्रान्तिका समस्या भाग-दुई’ मा वैद्यले क्रान्तिको आवश्यकताका कारण आफूले नेतृत्व छोडेको लेखेका छन्। त्यसको एक वर्षपछि २०४७ सालमा प्रचण्ड नेतृत्वको मशालसँग बाबुराम भट्टराई, हरिबोल गजुरेल, निर्मल लामा र रूपलाल विश्वकर्मासहितका नेताहरूले नेतृत्व गरेका साना कम्युनिस्ट पार्टीहरूसँग एकता भयो।
२०४८ मा भएको महाधिवेशनले पार्टीको नाम परिवर्तन गर्दै एकता केन्द्र राख्यो। अधिवेशनबाट प्रचण्ड पुनः महामन्त्रीमा निर्वाचित भए।
एकीकृत पार्टीमा नेतृत्वको विषयमा विवाद नभए पनि कार्यकर्तामा प्रचण्ड लोकप्रिय भए पनि बाहिरी छवि बाबुराम भट्टराईको राम्रो रहेको पुराना कम्युनिस्ट नेताहरू बताउँछन्।
माओवादी युद्ध सुरु भएपछि माओवादीभित्र पार्टी नेतृत्व केन्द्रीकरण गर्नुपर्ने आवाज उठ्यो। पार्टी नेताहरूका लेख-रचनामा पार्टी र क्रान्तिबारे प्रचण्डको भूमिकाबारे लेख्न र उनलाई उद्धृत गर्न सर्कुलर जारी गरियो। नेतृत्वलाई स्थापित गर्नै भन्दै माओवादीले त्यसपछि प्रचण्डको तस्बिर प्रकाशन गर्ने निर्णय गर्यो। अनि प्रचण्ड पार्टीभित्र र बाहिर चिनिन थाले।
प्रचण्डलाई स्थापित गर्नकै लागि उनलाई उद्धरण गर्ने र तस्बिर प्रकाशन गर्ने निर्णय गरिएको शर्मा स्मरण गर्छन्। उहाँ त्यति स्थापित नभएको र पार्टीभित्र किरणजी र बाहिर बाबुरामजी स्थापित हुनुहुन्थ्यो। त्यसले गर्दा नेता नै को हो भन्ने भ्रम पनि पर्ने भयो र नेता चिनाउन पनि त्यो आवश्यक जस्तो थियो, उनी भन्छन्।
तर त्यसलाई अलि बढी प्राथमिकता दिँदा कतै एउटा व्यक्तिवादी सोचले आफू मात्रै स्थापित हुन खोजेको हो की जस्तो एउटा स्थिति बनेको थियो।
विसं २०४६ सालमा नेकपा मशालको प्रमुख भए यताका ३२ वर्ष प्रचण्ड निरन्तर पार्टीको नेतृत्वमा छन्। तीन दशक प्रचण्डको एकल नेतृत्व स्वीकारे गरेको माओवादी पार्टीका कतिपय नेता कार्यकर्ताले आठौँ महाधिवेशनमा भने पार्टी विधानमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा रहन नपाउनेगरी विधान संशोधन गर्न माग गरेका छन्। तर प्रचण्डको नेतृत्वमा कसैले पनि चुनौती दिएनन्।
उनले प्रस्ताव गरेको दीर्घकालीन जनयुद्धको रणनीति पारित भएसँगै नेतृत्वमा स्थापित भएका प्रचण्डलाई माओवादी सशस्त्र द्वन्द्वभरि र त्यसपछि पनि नेतृत्वमा कुनै नेताले चुनौती दिएनन्।
युद्ध सुरु भएपछि बसेको पहिलो सिलगुडी बैठकमा प्रचण्डले आवश्यक परे बाबुराम भट्टराईलाई नेतृत्व लिन प्रस्ताव गरेको तर भट्टराईले प्रचण्डलाई नै अघि बढ्न आग्रह गरेको प्रसङ्ग ‘माओवादीभित्र अन्तरसङ्घर्ष’ पुस्तकमा नेत्र पन्थीले उल्लेख गरेका छन्। तर बैठकमा सहभागी भएको बताउने तात्कालिक केन्द्रीय सदस्य शर्माले आफूलाई त्यसबारे थाहा नभएको बताए।
चुनौती दिन सक्ने ठानिएका नेताहरू धेरैजसो माओवादी नेताहरू जनयुद्धमै आन्तरिक कारबाहीमा परेपछि उनीहरू पछि परेको कतिपयको बुझाइ छ।
माओवादीले युद्धकालमै बाबुराम भट्टराईमाथि कारबाही गरेको थियो। प्रचण्डको प्रस्तावविरुद्ध असहमति राखेका भट्टराईसहित आफूहरूलाई नजरबन्दमा राखिएको र भट्टराईनजिक मानिने नेताहरूलाई मानसिक यातना समेत दिइएको नेत्री हिसिला यमीले आफ्नो पुस्तक ‘हिसिला’मा उल्लेख गरेकी छन्। उनी भट्टराईकी पत्नी हुन्।
प्रचण्ड बाबुराम भट्टराईप्रति भित्रभित्रै शङ्कालु भएको हुनसक्ने नेता शर्माको भनाइ छ। त्यतिबेला बाबुरामजीबाट केही गल्ती चाहिँ भएकै हुन्, तर त्यस्तो प्रकारको ठूलै कारबाही गर्ने हदसम्म चाहिँ हो जस्तो लाग्दैन, शर्मा भन्छन्।
कताकता चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध पनि भएको र जनतामा पनि बाबुराम पढेको भन्ने एउटा छापको कारणले आफूलाई ‘क्रस’ गरेर जाने कुराले प्रचण्ड भयभीत भएको हुनसक्छ पनि।
प्रचण्डसँग निकट रहे पनि नेतृत्व केन्द्रीकरणको प्रस्तावमा असहमति राखेका रामबहादुर थापा पार्टीमा सांस्कृतिक विचलनको आरोपमा कारबाहीमा परे
त्यसको केही वर्षपछि थापालाई लिन प्याओवादी नेताको आरोप लगाएर पार्टीमा भूमिका कम गरियो। लिन प्याओ चिनियाँ नेता माओत्सेतुङलाई हटाएर आफू छिटो उत्तराधिकारी बन्न खोजेको नेताका रूपमा चिनिन्छन्। तर माओवादीले पछि थापा माथिको आरोप खारेज गर्यो।
चुनवाङ बैठकले बादलजी (थापा) माथिको आरोप खारेज गरेपछि चाहिँ त्यहाँ केही गडबड छ जस्तो देखिएको हो, शर्मा सम्झन्छन्। प्रचण्डले नेतृत्वमा आफ्नो स्थायित्वका लागि उत्तराधिकारी तयार नगरेको आरोप माओवादीकै नेताहरूको छ।
प्रचण्ड र निनु चापागाईँ पार्टीको केन्द्रीय समितिमा आएपछि मोहनविक्रम सिंहले मोहन वैद्यसँग विश्वास (प्रचण्डको त्यतिबेलाको नाम) र निनु चाहिँ अलि चलाख छन्, यिनीहरूसँग अलि सतर्क रहनुपर्छ’ भनेको शर्माले बताए। त्यसबाट नेताहरूले प्रतिस्पर्धी र सक्षम नेताहरूले पार्टीमा ‘आफूलाई क्रस गर्छन् कि भनेर सोच्दा रहेछन् भन्ने सङ्केत’ गर्ने शर्मा बताउँछन्।
शान्तिप्रक्रियामा आउनुअघि प्रचण्डले ‘प्रचण्डपथ’ भन्ने आफ्नै विचारधारा अघि बढाए पनि नारायणकाजी श्रेष्ठ, अमिक शेरचन लगायतको मशालसँग एकताका क्रममा माओवादीले प्रचण्डपथ त्याग गर्यो।
माओवादी शान्तिप्रक्रियामा आएपछि प्रचण्डका राजनीतिक दस्तावेजमा पहिले मोहन वैद्य र पछि बाबुराम भट्टराइले असहमति जनाउँदै फरक प्रतिवेदन तयार गरे।
माओवादीमा प्रचण्डलाई चुनौती दिइएको एउटा प्रमुख घटना धोवीघाट गठबन्धन पनि हो। ललितपुरको धोवीघाटमा बैठक गरेर प्रचण्डबाहेकका ठूला नेताहरूले बाबुराम भट्टराईलाई पार्टीबाट प्रधानमन्त्रीमा अघि सार्न प्रचण्डलाई दबाव दिएका थिए।
माओवादी युद्धमा पटकपटक प्रचण्डको नेतृत्व क्षमताको प्रशंसा गर्ने गरेका बाबुराम भट्टराईले पार्टी नेतृत्वमा आकाङ्क्षा राखेका थिए। तर नेतृत्व लिन नपाएपछि उनी २०७२ सालमा पार्टीबाट बाहिरिए।
त्यसअघि नै माओवादीबाट मोहन वैद्य रामबहादुर थापासहितका नेताहरू बाहिरिएका थिए। थापा पछि माओवादीमै फर्किए। अहिले उनी नेकपा एमालेमा छन्।
अहिले माओवादीबाट अलग भइसकेका पुराना नेता शर्मा माओवादीमा विगतबाटै प्रचण्डलाई चुनौती दिने र उनको जस्तो व्यक्तित्व, क्षमता, प्रतिभा वा योगदान भएको नेता नरहेको बताउँछन्।
सङ्गठन, रणनीति र वैचारिक ज्ञानका दृष्टिले पनि प्रचण्ड जत्तिको नेता पार्टीमा नभएको हो। समग्र हिसाबले उहाँ जत्तिको मान्छे नभएको पनि हो। अर्को उत्तराधिकारी तयार गर्ने सचेत प्रयत्न उहाँबाट भएन, शर्मा भन्छन्।
पार्टीमा उत्तराधिकारीको पङ्क्ति तयार नहुँदा क्रान्ति सकिन्छ भन्ने त रुस र चीनका घटनाले देखाएका छन्। उनका आलोचकहरूले प्रचण्ड पार्टी नेतृत्वमा पुगेपछि नेतृत्व हस्तान्तरण गर्न नचाहेको आरोप लगाए पनि उनले आफूले नेतृत्व लिन एक पटक बाबुराम भट्टराईलाई प्रस्ताव गरेको दाबी गरेका छन्।
यही महिना हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा आफूले पार्टीको नेतृत्व हस्तान्तरण गर्न चाहे पनि अरू नेताहरू नेतृत्वका लागि तयार नभएको बताएका थिए।
एक पटक दोस्रो संविधानसभाको निर्वाचनपछि मैले पार्टी कमिटीको बैठकमा बाबुरामजीलाई ‘सधैँ म हुनुपर्छ भन्ने के छ र तपाईँ पनि नेता हो वरिष्ठ नेता, क्षमता पनि छ एक पटक तपाईँलाई अध्यक्ष बनाएर हेर्न मन छ भनेँ, उनले भने।
माओवादीको आठौँ महाधिवेशनमा सहभागीहरूले अध्यक्ष प्रचण्ड ‘ठेकेदारको’ घरमा बसेको भन्दै डेरा सर्न माग गरे। उनीहरूले प्रचण्डको जीवनशैली पार्टी र कम्युनिस्ट आदर्शअनुसार नभएको सवाल मात्रै उठाएनन्, नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग पनि गरे।
महाधिवेशनमा उठेका प्रश्नको उत्तर दिने क्रममा प्रचण्डले आफू ‘आवश्यक परे झुपडीमा बस्न पनि तयार’ रहेको बताए। भूमिगत हुँदा प्रचण्ड धेरैजसो मध्यपश्चिमका पहाडी जिल्लामा जनताका झुपडीमै बसेको प्रचण्डका तात्कालिक स्वकीय सचिव विकेश श्रेष्ठ बताउँछन्।
माओवादी अध्यक्ष आफैँले पनि आफूसहित माओवादी नेताहरूको फेरिएको जीवनशैलीबारे राजनीतिक दस्तावेजमा आत्मालोचना गरेका छन्। उनले नेताहरूको ‘कमिशन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति बढ्दो’ रहेको औँल्याएका छन्।
आज पार्टीमा व्यक्तिगत पद, प्रतिष्ठा लाभ र स्वार्थका निमित्त जस्तोसुकै अनुचित कार्य गर्न पछि नपर्ने प्रवृत्ति हावी हुँदै गएको छ, प्रचण्डले दस्तावेजको ३५औँ पृष्ठमा भनेका छन्।
माओवादी अध्यक्ष प्रचण्डको मात्रै नभएर नेतृत्वमा रहेका अधिकांश नेताको जीवनशैलीबारे प्रश्न उठ्ने गरेको छ। महाधिवेशनमा प्रचण्डको दस्तावेजमा फरक मत राखेका युवा नेता लेखनाथ न्यौपानेले नेताहरूको खर्चको स्रोतबारे समेत प्रश्न उठाएका छन्।
‘हाम्रो आन्दोलन ओरालो लाग्नाको र जनतासँगको सम्बन्ध कमजोर हुनाको मुख्य कारण पार्टीका नेताहरूको अपारदर्शी आर्थिक जीवन हो। हामीमाथि भ्रष्टाचार, कमिशन, घुसमार्फत् अकुत सम्पत्ति थोपरेको आरोप छ, उनले लेखेका छन्। हाम्रो जीवनशैली र परिवार एवं नातागोताको फुर्ती हेर्दा अर्थ मोह होइन भन्ने ठाउँ छैन।’



