स्वास्थ्य/जिवनशैली

तपाईं सामाजिक सञ्जाल चलाउनु हुन्छ कि सामाजिक सञ्जालले तपाईंलाई ?

Thrill Factory
Rungta Group

सामाजिक सञ्जालअन्तर्गत मुख्यरूपमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम, भाइवर लगायत पर्दछन् । फेसबुक अर्थात् मुहारपुस्तिका । अहिले विश्वको मात्र नभई नेपालमा पनि वेबसाइटको तुलनामा निकै अगाडि भएको पाइएको छ।

विश्वका वेबसाइटहरूको सूचीमा गुगल पहिलो स्थानमा छ भने नेपालमा पहिलो स्थानमा फेसबुक छ। सञ्चारको साधन बनेको फेसबुक अहिले भावना व्यक्त गर्ने, कुराकानी गर्ने, प्रचारप्रसार गर्ने नयाँ व्यक्तिहरूसँग परिचित गराउने माध्यम बनेको छ ।

फेसबुक मानिसहरूको लागि निकै उपयोगी र अनुपयोगी दुवै भएको छ। कागले कान लग्यो भनेपछि कागको पछि लाग्ने नेपाली उखान सामाजिक सञ्जाल फेसबुकको हकमा पनि लागू भएको छ। कसैले केही भनेकै भरमा, लेखेकै भरमा तुरुन्तै धारणा बनाइहाल्ने प्रवृत्ति आजका अधिकांश फेसबुक प्रयोगकर्तामा देख्न सकिन्छ ।

केही व्यक्तिहरूले फेसबुकमा समाजले पचाउनै नसक्ने खालका भावना, मन्तव्य, आक्रोश, लेख रचना, अश्लील तस्बिर, भिडियो राखिदिँदा फेसबुक चलाउने बौद्धिक वर्गहरूलाई भने यसले इरिटेसन नै बनाएको छ।

फेसबुकलाई सही समय र नियमअनुसार सञ्चालन गरिएमा फेसबुक एउटा गाउँको व्यक्तिदेखि उच्चस्तरका व्यक्तिहरूबीचको एउटा सञ्चार माध्यम वा पुल बन्न सक्छ। अन्यथा यो हाम्रो समय बरबादी गरिदिने भाइरसभन्दा फरक नहोला।

मनोरञ्जन तथा समाचार आदि छिटोभन्दा छिटो सबैको हातमा पुर्‍याउन सफल फेसबुक हाल नेपालको सहरी जिल्ला हुँदै क्रमशः गाउँ–गाउँसम्म फैलिसकेको छ।

सामाजिक सञ्जाल फेसबुक प्रयोगगर्दा प्रयोगकर्ताको आफ्नो दायित्व हुन्छ जुन उसले सञ्जालको मर्यादा, मर्म र अनुशासन पालन गर्दै पूरा गर्नुपर्छ। जुन कुरा प्रसारित वा सेयर गर्दै छौँ त्यसको प्रयोजनको हेक्का र संयमित हुन जरुरी छ।

म्यासेन्जरमा अनावश्यक म्यासेज गर्ने, अनावश्यक भिडिओहरू पठाउने, थरीथरीका फोटोहरू पठाएर दिक्क लगाउने। अझ आफूलाई मन परेका भिडिओहरू ट्याग गरेको ग¥यै गर्ने। जसलाई ती सामग्री ट्याग गरिन्छ उसले पनि त हेर्दो हो नि ती भिडिओ र स्टाटसहरू, अनि सबै काम तपाईंले नै गर्दिने। ती समाचार राम्रो लागे व्यक्ति स्वयंले सेयर गरिहाल्छन् नि, किन तपाईँलाई खसखस लाग्नुपर्ने ट्याग गर्न ?

अर्काथरि साथीहरू झन् अचम्मका हुन्छन्। आवरण भद्र भए पनि कोहीकोही साथीहरू महिला साथीहरूप्रति निकै चासो लिन्छन् । हरेक दिन म्यासेन्जमा खाना खानु भयो, के गर्दै हुनुहुन्छ ?

कुरो न कुरोको बाउ के सोधी राखेको होला ? कुराकानीको सिलसिलामा सोधे त राम्रै हो। टुच्चटुच्च म्यासेन्जरमा अर्थहीन कुरा कोट्याइरहने मित्रहरूलाई कुन दर्जाको साथीमा राख्ने गर्नुपर्छ ।

न बच्चा बेलाका हुन्, न पारिवारिक प्यार हुन्, न चुरो कुरो गर्ने हिम्मतवाला हुन्। अनि फगत विपरीत लिङ्गीप्रतिको आकर्षण नभएर के हो त यो ? के महिला, के पुरूष नैतिक इमानदारिता भएन भने आचरण ध्वस्त हुन्छ ।

आफ्नो मर्यादा बिर्सिएर यस्ता अस्वाभाविक क्रियाकलाप गर्ने यस्ता साथीहरूलाई साथीको ताँतीबाट हुत्त्याइदिनु नै बेस हुन्छ होला ।
कहिलेकाहीँ नबुझीकन या बुझेरै लाइक, सेयर अनि कमेन्ट गर्दा कसैको जागिर नै गएको त कसैलाई साइबर अपराधअन्तर्गत मुद्दा चलाइएको समाचार हामीले बेला–बेलामा सुन्ने गरेका छौँ। पछिल्लो समय सामाजिक सञ्जालका दुष्प्रभावहरू अत्यधिक रूपमा देखिन थालेका छन्। जसको सिकार तपाई हामी नै बनेका छौँ ।

प्रधानमन्त्री राष्ट्रपतिजस्ता व्यक्तिको फोटोहरू विभिन्न तरिकाले जोडेर चरित्रहत्या गर्ने काम बारम्बार यै फेसबुकमा देखिन्छ । अमर्यादित सामग्री, व्यक्तिको चरित्रहत्याजस्ता कार्यले सामाजिक सञ्जालको प्रयोगलाई जोखिमपूर्ण बनाउँदै लगेको छ भन्दा फरक नपर्ला ।

सामाजिक सञ्जालमा कति समय बिताउनु उपयुक्त हुन्छ र कुन हद पार गर्दा यसको लतमा परेको मानिन्छ यस विषयमा केही अनुसन्धान पनि भएका छन् । तर, कुनै ठोस निष्कर्ष दिन सकेका छैनन्।

तर, यो तथ्यचाहिँ पुष्टि भइसकेको छ कि सामाजिक सञ्जाल अत्यधिक प्रयोग गर्ने मानिसहरू मानसिक रोगको सिकार बन्ने खतरा हुन्छ। एकोहोरो हुने, झर्को मान्ने, रिसाउने, रक्तचाप बढ्ने जस्ता समस्याहरू बढ्दै गएको मनोविद् चिकित्सकहरूले बताइरहेका छन् ।

अर्को कुरा, डरलाग्दो विषय अनि मन सिरिङ्ग बनाउने दुर्घटनामा परेका पीडित व्यक्तिका दर्दनाक कारुणिक फोटोहरू उनीहरू वा आफन्तको स्वीकृतिविनै यत्रतत्र आउँछन्, जसले गर्दा आफन्तमा बेहोस हुने, आत्महत्या गर्नेजस्ता घटना घट्न पुग्दछन् । जुन हामीले प्रत्यक्ष देख्दै आइरहेका छौँ।

यसको आवश्यकभन्दा बढी प्रयोगले भर्चुअल संसारमै हराउने, सूचनाहरू चुहाउने वा साइबर आक्रमणको खतरा दिनानुदिन बढ्दै गइरहेको छ।

सामाजिक सञ्जालमा सामाजिक उच्छृङ्खल र विखण्डनकारी विचारहरूले पनि बढवा पाउँदै गएका छन्। अराजक तत्त्वहरूले गलत सूचना र विचार प्रवाहका लागि सामाजिक सञ्जालको दुरुपयोग गरिरहेको देख्न सकिन्छ।

आफ्नोभन्दा फरक विचारलाई स्वीकार गर्न नसक्नु, पूर्वाग्रही तरिकाले आरोप लगाउनु, चरित्रहत्या गर्नु, अरूको सही विचारलाई पनि बिगारेर चरित्रहत्या गर्नु पनि समस्याको रूपमा तपाई हामीले भोगेकै कुरा हो ।

सामाजिक सञ्जालको प्रयोग सबैले एकै ढङ्गले गर्छन् भन्ने त छैन। यसको विभिन्न तरिका तथा उद्देश्यले प्रयोग भइरहेको छ। आफ्ना परिवार तथा दैनिक जीवनका फोटोहरू पोस्ट गर्ने, परिचितहरूसँग निरन्तर सम्पर्कमा रहने, परिचय तथा मित्रता बढाउने माध्यमका रूपमा सामाजिक सञ्जालको प्रयोग गर्ने धेरै छन् ।

त्यसैगरी सार्वजनिक जीवन, सामाजिक, राजनीतिक तथा समसामयिक विषयमा सामाजिक बहस तथा सूचना प्रवाहका लागि सामाजिक सञ्जालको प्रयोग गरिएको पाइन्छ। सामाजिक सञ्जालमा सामाजिक नै भएर प्रस्तुत हुनुपर्छ, असामाजिक बन्न हुँदैन।

सहिष्णु बन्नुपर्छ, असहमत र फरक विचारको आलोचना गर्न हुन्छ, बहस गर्न हुन्छ तर मर्यादा र शिष्टाचारको लक्ष्मणरेखा नाघ्न हुँदैन। एक्लै कोठामा या कुनै ठाउँमा भएको बेला सामाजिक सञ्जालमा विचार लेखिन्छ । तर त्यो विचार सार्वजनिक रूपमा प्रस्तुत हुन्छ सबैले मेरो विचार हेर्छन् र प्रतिक्रिया दिन्छन् भनेर हेक्का राख्नुपर्दछ।

अरूका सकारात्मक काम तथा विचारको प्रशंसा गर्न सामाजिक सञ्जालको उपयोग गरिनुपर्छ। सकारात्मक टिप्पणीले व्यक्तिलाई सकारात्मक काम गर्ने उर्जा मिल्छ।

सामाजिक सञ्जालमा विचार लेख्दा तपाईं एक्लै हुनुभए पनि लाखौं अदृष्य मानिसले तपाईँलाई हेरिरहेका हुन्छन्। के तपाईँले यो कुरा कहिल्यै सोच्नु हुन्छ ? पोस्ट गर्नु भन्दा पहिला ? अहिले त झन् रेडियो टिभी पत्रपत्रिकाभन्दा पनि बढी सामाजिक सञ्जालहरू हेरिने भएकोले सोचविचार गरेर मात्र धारणा राख्ने गर्नुपर्दछ।

त्यसैले सामाजिक सञ्जाललाई स्मार्ट बन्न अरूलाई देखाउनभन्दा पनि सकारात्मक विषयमा टीकाटिप्पणी, बहस तथा पैरवी गरेर आफू र आफ्नो देशलाई सहयोग गरौँ । नकारात्मक कुरालाई आजैबाट त्यागेर सकारात्मक कुरालाई अँगाल्न सक्ने हो भने मात्रै सामाजिक सञ्जाल हाम्रो लागि वरदान साबित हुनेछ। नत्र अभिशाप नै रहनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button