No Image Headlineविशेष

के दशैंको टीका साइतमै लगाउनु पर्छ ?

Thrill Factory
Rungta Group

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष दशैँको टीकाको शुभ साइत असोज १९ गते बुधवार, ११ बजेर ५१ मिनेटलाई तय गरेको छ। उक्त समयमा पूर्व मोहडा गरेर टीका ग्रहण गर्नु उचित हुने समितिले जनाएको छ।

तोकिएको समयलाई टीका र आशीर्वाद लिने सबैभन्दा उचित समय मानिए पनि त्यस दिन वा रातिसम्म जुनसुकै बेला टीका लगाउन सकिने बताउँछन् समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी।

ज्योतिष विज्ञहरूसँगको छलफलपछि उक्त समय तय गरिएको हो। तर त्यही क्षणमा मात्र टीका लगाइनु पर्छ भन्ने होइन। साइत बाहेकको समयमा लगाउनुले पनि फरक पर्दैन, उनले प्रस्ट्याए।

साइत जुराउनुलाई उखुको लाँक्रामा पनि सबैभन्दा गुलियो भाग खोज्नुसँग तुलना गर्छन् ज्योतिषी अधिकारी। भन्छन्, विजया दशमी आफैमा शुभ दिन हो। त्यस दिनमा पनि सबैभन्दा उचित पल कुन हो भनेर खोज्नु नै साइत जुराउनु हो।

दशमीको दिन त्यसरी जुराइएको समयमा दुर्गाको प्रसादका रूपमा टीका, जमरा ग्रहण गर्नु ज्यादै राम्रो हुने अधिकारीको धारणा छ।यद्यपि, टीका लगाउनका निम्ति साइतसँगै व्यावहारिकतालाई पनि ध्यान दिनु पर्ने उनले बताए। भने,आफ्नो अनुकूलता र सहजता पनि हेरिनुपर्‍यो।

सामान्यतया दशैँको तिथि अनुसार मनाइने बताउँछन् अर्का ज्योतिषी सुरेशचन्द्र रिजाल। तिथि, बार र नक्षत्रले अर्थ राख्ने भए पनि सबैभन्दा बढी महत्त्व लग्नको हुने उनी बताउँछन्।

लग्नले ग्रह सबैभन्दा बलियो भएको क्षणलाई बुझाउने रिजालले बताए। लग्न निर्धारण गर्दा सूर्यको प्रमुख भूमिका रहन्छ। त्यस्तै उपयुक्त साइत जुराउँदा नौ वटा ग्रहहरू कति बलवान् स्थानमा छन् भन्ने कुरा समेत मापन गरिने ज्योतिषी रिजालले बताए। उनले भने, त्यसलाई नवमांश भनिन्छ। यो ग्रहहरूको बल नाप्ने निकै छोटो पद्धति हो।

दशमी तिथिमा सूर्योदय भएपछि त्यस तिथिको घडी पला कम भए पनि दिनभर वा रातको समयमा समेत दान वा अन्य शुभ कर्म गर्न सकिने ज्योतिषीहरू बताउँछन्।

कहिलेकाहीँ साइत आधा घडी वा १२ मिनेटको मात्र हुन्छ। त्यति समयमा त पक्कै टीका लगाउन भ्याइँदैन। त्यसैले ज्योतिषको आधारग्रन्थको आधारमा साइत निर्धारण गरेका हौँ। त्यही बेला टीका लगाउनु पर्छ भन्ने छैन, ज्योतिषी अधिकारीले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button